कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य नेपाल वेस्टर्न ओपन: धनलाई तेस्रो उपाधि

पोखरा — नेपाल नम्बर एक शिवराम श्रेष्ठलाई प्लेअफको दोस्रो अतिरिक्त होलमा हराउँदै धनबहादुर थापाले १८ औं सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । अन्तिम दिन शुक्रबार पोखरास्थित हिमालयन गल्फ कोर्समा धन र शिवरामले समग्रमा समान ६ ओभर २ सय १६ अंक जोडेपछि उपाधि छिनोफानो गर्न प्लेअफ सहारा लिनुपरेको थियो ।

सूर्य नेपाल वेस्टर्न ओपन: धनलाई तेस्रो उपाधि

सूर्य नेपाल गल्फ टुर २०१७–१८ को सातौं प्रतियोगिता वेस्टर्न ओपन च्याम्पियन धनले उपाधिसहित १ लाख १५ हजार रुपैयाँ पुरस्कार पाए । उपविजेता शिवरामले ७३ हजारमै चित्त बुझाए । उनले शुक्रबार इभन पार ७० तथा धनले १ ओभर ७१ स्कोर जोडेका थिए ।


कोर्सको १८ औं होलमा भएको प्लेअफको पहिलो अतिरिक्त होलमा दुवैले इभन पार खेलेपछि दोस्रो होल खेल्नुपर्‍यो । तर, दोस्रो अतिरिक्त होलमा शिवरामले पारका लागि गरेको पट होलको मुखैमा अड्केपछि धनले जित दर्ता गर्ने अवसर पाए । उक्त मौका सदुपयोग गर्दै धनले करिअरको तेस्रो उपाधि उचाले । यसअघि सन् २०१५ मा वेस्टर्न ओपन जितेका उनले सन् २०११ मा सूर्य नेपाल च्यालेन्जको उपाधि हात पारेका थिए ।


धनको उपाधिसम्मको यात्रा भने निकै रोमाञ्चक रह्यो । अघिल्लो दिन चार स्ट्रोकको अग्रता लिएका जयराम श्रेष्ठले खराब सुरुआत गरेपछि उनका दाजु शिवरामले अग्रता बनाए । पाँचौ होलमै अग्रता गुमाएपछि जयराम खेलमा फर्कन सकेनन् । अन्तिम दिन १२ ओभर ८२ को खराब स्कोर जोडेका जयराम समग्रमा १३ ओभर २ सय २३ सहित चौथो भए ।


फ्रन्ट नाइनमा १ स्ट्रोकले अगाडि रहेका शिवरामले बारम्बार पटिङमा चुके पनि अग्रता जारी राखे । १० हौं होलमा इगल लेखाएपछि शिवराम तीन स्ट्रोकले अगाडि रहे । १४ औं होलमा शिवरामको बोगीसँगै अन्तर घटे पनि लगत्तै १५ औंमा धनले बोगी खेप्दै ३ स्ट्रोकको अग्रता बनाए । १६ औं होलमा धनको टी शट होल इन वनबाट थोरैले चुक्दा उनले बर्डी लेखाएर अन्तर दुई स्ट्रोकमा झारे । १७ हौं होलमा शिवरामको टी शट आउट अफ बाउन्ड्स गएपछि उनले बोगी खेपे । त्यसै होलमा धनले बर्डी लेखाउँदै खेल बराबरीमा ल्याए । १८ औं होलमा दुवैले पार खेलेपछि नतिजाका लागि प्लेअफ सहारा लिनुपरेको थियो ।


उपाधि जितेका धनले आफ्नो रणनीतिअनुसार खेल सफल हुँदा उपाधि जितेको बताए । ‘दिनको सुरुआतमा मैले उपाधिबारे सोचेको थिइनँ । आफ्नो योजनाअनुसार खेल्दै जाँदा अन्तर पनि घट्यो । १६ र १७ औं होलमा राम्रो प्रदर्शन गरेपछि उपाधि भिडन्त सम्भव भयो,’ उनले थपे, ‘प्लेअफमा मैले आक्रामक नभएर नियमित योजनामा खेलें । शिवरामले गल्ती गरेपछि त्यसको फाइदा लिने योजना थियो, अन्त्यमा त्यस्तै भयो ।’


उपविजेता शिवरामले पनि १६ र १७ औं होलको खराब प्रदर्शन हारको मुख्य कारण रहेको सुनाए । ‘मैले पटिङमा धेरै गल्ती गरेकाले अग्रता बढाउने मौका गुमाएँ । १७ औं होलको टी शटमा चुकेपछि खेल फुस्कियो । पहिलो दिनमा हिटिङ खराब हुनु नै महँगो साबित भयो,’ शिवरामले भने ।


एमेच्योरतर्फ अजित बिकले विजेता बने । उनले शुक्रबार ९ ओभर ७९ को स्कोर जोडे पनि समग्रमा १४ ओभर २ सय २४ स्कोरसहित उपाधि हात पारे । २३ ओभर २ सय ३३ स्कोरसहित सुरेश तामाङले उपविजेता ट्रफी उचाले । उनले समान स्कोर जोडेका नीरज तामाङलाई काउन्टब्याकका आधारमा पछि पारेका थिए ।


व्यावसायिक गल्फर भुवन नगरकोटीले ३ ओभर ७० जोड्दै समग्रमा ९ ओभर २ सय १९ स्कोरसहित तेस्रो स्थान हासिल गरे । उनले ५३ हजार रुपैयाँ पुरस्कार पाए । जयरामसँगै स्थानीय गल्फर भूबहादुर गुरुङले २ ओभर २ सय २३ जोड्दै चौथो हुँदै स्वरुप समान ३९ हजार ५ सय रुपैयाँ पाए ।


रवि खड्का र भुवनकुमार रोक्काले संयुक्त छैटौं हुँदै समान ३० हजार ५ सय प्राप्त गर्दा संयुक्त आठौं भएका सूर्यप्रसाद शर्मा र दीपक मगरले २५–२५ हजार बुझे । शीर्ष २१ मा अटाएका सबै गल्फरले नगद पुरस्कार थापे । कुल पुरस्कार राशि ६ लाख ३० हजार रुपैयाँ रहेको प्रतियोगितामा २६ व्यावसायिक र १७ एमेच्योर गल्फरको सहभागिता थियो । शनिबार प्रो–एम इभेन्ट हुनेछ ।

प्रकाशित : फाल्गुन २६, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?