कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुझारु पुलिसविरुद्ध बलियो थ्रीस्टार

तिलोत्तमा गोल्डकप

बुटवल — एकचालिस वर्षअघि सुरु तिलोत्तमा गोल्डकप फुटबलको सर्वाधिक सफल टिम हो, पुलिस । उसले चारपल्ट तिलोत्तमा ट्रफी चुमेको छ ।

जुझारु पुलिसविरुद्ध बलियो थ्रीस्टार

पछिल्लोपल्ट २०५५ सालमा च्याम्पियन भएयता भने पुलिसले पहिलो फाइनलमा शनिबार रुस्लान थ्रीस्टार क्बलविरुद्ध खेल्दैछ । थ्रीस्टार पहिलोपल्ट तिलोत्तमा गोल्डकप च्याम्पियन बन्ने दाउमा छ ।

एएफसी कप २०१७ मा एन्फाले टिम दर्ता नगरेपछि प्रतियोगिता त्यागेको थ्रीस्टार पुसबाट मैदान फर्किएको हो । पुनरागमनमा थ्रीस्टारले सुनसरीमा दुई उपाधि जित्यो, २० औं बुढासुब्बा र मदन भण्डारी स्मृति इटहरी गोल्डकप । कीर्तिमान पाचौंपल्ट बुढासुब्बाको उपाधि जित्दा उसले फाइनलमा पुलिसलाई १–० ले हराएको थियो । पुलिस पनि १६ औं आहा–रारा गोल्डकप र राखेप च्याम्पियनसिपको विजेता बन्यो । पुलिसले पनि कीर्तिमान पाचौंपल्ट आहा–राराको उपाधि जित्दा फाइनलमा थ्रीस्टारलाई नै १–० को सिकार बनाएको थियो ।

विभागीय टिम पुलिस र नेपाली फुटबलको लोकप्रिय क्लब थ्रीस्टार यो सिजन तेस्रोपल्ट भिड्न लागेका हुन् । देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने फाइनलमा जसले उपाधि जिते पनि उसका लागि २०७४ सालको तेस्रो उपाधि हुनेछ । यो सिजन आठ प्रतियोगितामा सहभागी हुँदै थ्रीस्टारले छैटौंपल्ट फाइनल खेल्न लागेको हो । थ्रीस्टार आहा–रारा, नवौं सिमरा र १३ औं विकास रनिङ सिल्डको फाइनलमा चुकेको थियो । पुलिसको तथ्यांक पनि खराब छैन । उसले यसपालि ६ प्रतियोगितामा सहभागी भएर पाचौंपल्ट फाइनल खेल्न लागेको हो । बुढासुब्बा र सुमन भोम्जन स्मृति हेटौंडा गोल्डकपमा उपविजेता पुलिस झापा गोल्डकपमा मात्र फाइनल पुग्न सकेन ।

अफ्रिकी मूलका खेलाडीको साथ पाएको थ्रीस्टारसँग अनुभवी पनि त्यत्तिकै छ भने पुलिसमा युवा खेलाडीको वर्चस्व छ । पुलिसका प्रशिक्षक अनन्तराज थापाले राम्रो तयारी, युवा टिम र युवा जोस भएकाले आफ्नो टिमले २० औं तिलोत्तमा गोल्डकपको उपाधि जित्ने दाबी गरे ।

‘व्यवस्थापन, प्रशिक्षक र खेलाडीको समन्वय राम्रो छ,’ उनले भने, ‘थ्रीस्टार राम्रो टिम हो र उसलाई हामी कडा चुनौती दिनेछौं । सम्भावना दुवैको ५०–५० नै हो ।’ २०३५, ०५१, ०५२ र ०५५ सालको च्याम्पियन पुलिसलाई फाइनलमा भिन्न संरचनामा उतार्ने पनि उनले बताए । ‘फाइनललाई विशेष तयारी गरेका छौं । पहिला ४–२–३–१ को संरचनामा खेल्थ्यौं अब फाइनल ४–२–१–३ को शैलीमा खेल्नेछौं,’ उनले भने ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसी पनि पुलिसलाई युवा तर बलियो टिम मान्छन् । ‘पुलिस चार वर्षयता सबभन्दा बलियो अहिले देखिएको छ । युवा टिम छ र उसका खेलाडी जुझारु छन् । उसले राम्रो खेलिरहेको छ,’ प्रशिक्षक केसीले भने, ‘प्रतियोगितामा फर्केयता हाम्रो टिमलाई पूर्णता दिने काम अझै पूरा भएको छैन । तैपनि टिमवर्क र टिम स्पिरिट राम्रै देखिएको छ । थ्रीस्टारले फुटबलमा पुनरागमन गर्छ भन्ने भावना खेलाडीमा छ । सबै खेलाडी फिट छन्, अनुभवी छन् । खेलाडीले मिहिनेत गरेअनुसार मैदानमा प्रदर्शन गर्नसके उपाधि आरामसँग जित्न सक्छौं ।’

नाइजेरियन फरवार्ड अजायी मार्टिन र आई लिग क्लब मोहन बगानबाट फर्केका विमल घर्तीमगरले थ्रीस्टारको अग्रपंक्ति सम्हाल्ने छन् । मिडफिल्डमा कप्तान नीराजन खड्का, लावल, सुनील बल र बुद्ध चेम्जोङ खेल्नेछन् भने डिफेन्सलाइनमा पिटर सेगुन, अनन्त तामाङ, धिमाल दाजुभाइ रेजिन र विजय हुनेछन् । गोलपोस्टको जिम्मेवारी एलन न्यौपानेले लिनेछन् । यी सबै खेलाडी आफ्ना प्रमुख खेलाडी भएको प्रशिक्षक केसीले बताए । हरेक खेलमा भिन्न खेलाडीको प्रदर्शन निर्णायक हुनु पनि थ्रीस्टारको बलियो पक्ष हो ।

पुलिसका प्रशिक्षक थापाले तिलोत्तमा गोल्डकपमा दोस्रो रोजाइका गोलकिपर रोशन खड्कालाई अवसर दिइरहेका छन् । फाइनल पनि सम्भवत: उनले खेल्नेछन् । घुँडाको शल्यक्रियापछि मैदानमा यही प्रतियोगिताबाट पुनरागमन गरेका रविन श्रेष्ठले पुलिसको कप्तानी गरिरहेका छन् । उनीसहित अजित भण्डारी, दिनेश राजवंशी र सन्तोष हेमरनले पुलिसको डिफेन्स सम्हाल्ने छन् । मिडफिल्डमा राम बजी, हेम तामाङ र तेज तामाङ खेल्नेछन् भने अग्रपंक्तिमा रेजिन सुब्बा, सुमन लामा र रवि पासवान हुनेछन् । १९ वर्षपछि तिलोत्तमाको फाइनल खेल्न लागेको पुलिसको उपाधि आशा दिनेश, तेज, सुमन र रेजिनको प्रदर्शनमा निर्भर हुनसक्छ ।

पुलिसले पहिलो खेलमा अर्को विभागीय टिम एपीएफलाई १–० र सेमिफाइनलमा गोलरहित बराबरीपछि टाइब्रेकरमा आयोजक लाली रूपन्देही ११ लाई हराएर फाइनल यात्रा तय गरेको थियो । थ्रीस्टारले पहिलो खेलमा फ्रेन्ड्सलाई पराजित गर्न २–२ को बराबरीपछि टाइब्रेकरको सहारा लिनुपरेको थियो । उसले चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङदीलाई सेमिफाइनलमा २–१ ले पन्छाउँदै पुलिससँगको उपाधि होड पक्का गरेको थियो । विजेताले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ थाप्नेछ । उपविजेताको भागमा ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पर्नेछ ।

प्रकाशित : चैत्र ३, २०७४ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?