कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अबको लक्ष्य विश्वकप

विनोद पाण्डे

काठमाडौँ — वान–डे अन्तर्राष्ट्रिय मान्यता बोकेर फर्केका नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आगामी लक्ष्य विश्वकप खेल्नु रहेको बताएका छन् ।

अबको लक्ष्य विश्वकप

जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा नेपाल आठौं भएर वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र भएको थियो, जुन नेपाली क्रिकेटकै सबैभन्दा ठूलो सफलतामा पर्छ ।

जिम्बावे, स्कटल्यान्ड र अफगानिस्तानसँगको पहिलो तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई पराजित गरेको थियो । प्ले–अफमा पपुवा न्युगिनीमाथि ६ विकेटको जित हात पारेपछि नेपाल आफ्नो लक्ष्य वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउन सफल भयो । यो मान्यता आगामी चार वर्षका लागि रहनेछ ।


पारसले वान–डे विश्वकपसहित टेस्ट क्रिकेट लक्ष्यमा दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । ‘हाम्रो आगामी लक्ष्य भनेको वान–डे विश्वकप खेल्ने हो । ट्वान्टी–२० विश्वकप छनोट पनि आउँदै छ । अर्को एउटा लक्ष्य भनेको ८ देखि १२ वर्षको बीचमा टेस्ट राष्ट्र बन्ने योजना हुनुपर्छ । मलाई लाग्छ सायद यो त्यसको सुरुआत हुनसक्छ,’ सोमबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान पारसले भने ।

जिम्बावेको प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपमा पुग्ने छन् । योजनाबद्ध हिसाबमा अगाडि बढेमा नेपाल गन्तव्यमा पुग्न सकिन्छ भन्ने पारसको बुझाइ छ । उनले भने, ‘हामीले क्रिकेट इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हात पार्‍यौं । वान–डे मान्यता भनेको फन्डिङदेखि लिएर खेलाडीको जीविकोपार्जनसहित क्रिकेट खेलकै भविष्य सुनिश्चित पार्ने आधार हो । वान–डे अन्तर्राष्ट्रिय मान्यता धेरै वर्षदेखिको हाम्रो एउटा सपना थियो । आउने चार वर्षमा हामीले राम्रो जग खडा गरेर नेपाली क्रिकेटलाई अझ माथि लैजान सकौं । यसले भविष्यमा विश्वकप खेल्ने सम्भावना बनाएको छ ।’


उनले तोकिएको जिम्मेवारीबाट कोही पन्छिन नसक्ने चेतावनी पनि दिए । ‘एउटा टिमका रूपमा हामी खेलाडीले जिम्मेवारी लिइराखो छौं । जिम्मेवारी खेलाडी, पदाधिकारी र देशमाथि पनि छ यो वान–डे मान्यतालाई कता लैजाने, क्रिकेट खेललाई कसरी हेर्ने भनेर । सरकारले क्रिकेटलाई प्राथमिकतामा राखेर अगाडि बढाउने बेला आइसकेको छ,’ पारसले भने, ‘वान–डे अन्तर्राष्ट्रिय मान्यता कायम राख्न घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको हेरचाह हुनुपर्छ । अव चाहिँ हामीले व्यावसासिक सेटअप गर्नैपर्छ । अहिले वान–डे मान्यतामात्र पाएका छौं, गर्नुपर्ने काम धेरै छन् । आस गरौं एउटा राम्रो संरचना बनाएर अगाडि बढ्ने हो भने निरन्तर रूपमा वान–डे अन्तर्राष्ट्रिय मान्यता टिकाइराख्न सकिन्छ ।’

नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाइरहँदा क्रिकेट विवाद यथावत् नै छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपाल क्रिकेट संघ (क्यान) निलम्बित छ । आईसीसीले सल्लाहकार समितिमार्फत बनाएको विधान कार्यन्वयनमा आउने सकेको छैन । आईसीसीले नयाँ विधान स्वीकार्न क्यानलाई दिएको समयसीमा सकिँदै छ ।


पारस र प्रशिक्षक जगत टमाटाले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपालले त्यसलाई टिकाउन बलियो संघ हुनुपर्नेमा कुरामा जोड दिइरहे । ‘वान–डे अन्तर्राष्ट्रिय मान्यतालाई कसरी बचाउने हो भन्ने प्रश्न अगाडि छ । यो भन्दा अगाडि पनि ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि पाएकै हौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएपछि हामीले के गर्‍यौं भन्ने अर्को प्रश्न छ,’ टमाटाले भने, ‘वान–डे मान्यता पाउँदा सबै खेलाडी खुसी छन् तर चार वर्ष कसरी चलाउने क्रिकेटलाई ? यही तरिकाले हो भने केही हुँदैन । यसका लागि सबैभन्दा पहिला बोर्ड वा क्रिकेट संघ हुनुपर्‍यो ।’

उनले अगाडि भने, ‘घरेलु क्रिकेटमा चारदिवसीय, दुईदिवसीय, एकदिवसीय क्रिकेट हुनुपर्‍यो । यो धारणामा गयौं भने हाम्रो क्रिकेट एकदमै राम्रो हुन्छ । यो गर्नु पनि जरुरी छ । भौतिक पूर्वाधारदेखि धेरै अरु विषय पनि छन् । तर पुरानै अवस्थामा रहने हो भने २–४ वटा म्याच खेलेर चार वर्ष सकिन्छ ।’


पहिलो तीन खेल हारे पनि नेपाली टोली नडग्माएको प्रशिक्षक टमाटाले स्मरण गरे । ‘हाम्रो मिसन वान–डे अन्तर्राष्ट्रिय मान्यता थियो, त्यसका लागि हामी सुपर सिक्समा पुग्न चाहन्थ्यौं । प्रतिस्पर्धा दिएर पनि पहिलो तीन खेल हार्दा पनि त्यसपछि दुई खेल जितेमा लक्ष्यमा पुगिन्छ भन्नेमा हामी विश्वस्त थियौं । खेलाडीले यो बुझेका थिए । हामीले त्यहीअनुसार योजना बनाएका थियौं, त्यसमा सफल पनि भयौं,’ टमाटाले भने ।

जिम्बावेले नेपालसँगको पहिलो खेलमा ३ सय ८० रन बनाएको थियो, जुन वान–डे संरचनामा नेपालले खर्चेको सबैभन्दा बढी रन हो । जवाफमा नेपालले ८ विकेट गुमाई २ सय ६४ रन बनाएको थियो । यसले नेपाली टोलीको आत्मविश्वास निकै बढाएको दाबी गर्दै टमाटाले भने, ‘इतिहासमा पहिलोपल्ट जिम्बावे भनौं वा टेस्ट मान्यता टोलीसँग खेल्दै थियौं । जिम्बावेले बढी रन हान्यो तर नेपालले जुन ब्याटिङ गर्‍यो त्यो धेरै महत्त्वपूर्ण थियो । टेस्ट राष्ट्रसँग त्यस्तो ब्याटिङ गर्दा स्वत: मनोबल उच्च हुन्छ । पछि व्यक्तिगतभन्दा पनि टिम भावनाले खेल्यौं । सिनियर र जुनियर खेलाडीको मिश्रणले पनि टिमलाई फाइदा गर्‍यो ।’

नेपाली टोलीको स्वागतमा बाक्लो संख्यामा दर्शक विमानस्थल पुगेका थिए । उनीहरू पनि मैदानभित्रको ठूलो सफलताका बाबजुद मैदानबाहिरको नेपाली क्रिकेटको संकटबारे राम्रो जानकार थिए । उनीहरूको आवाज निरन्तर त्यही संकट चिर्न यी नारामा गुन्जिरह्यो :
– क्यानको विवाद छिटो समाधान गर्, समाधान गर्
– ओडीआई मान्यता पाइयो, स्टेडियम चाहियो
– टुँडिखेलमा खेलेर विश्वकप खेल्न सकिन्न, सकिन्न
– क्यानको राजनीति बन्द गर्, बन्द गर्
– अघि बढ क्रिकेटर, नेपाली जनता साथमा छन्

प्रकाशित : चैत्र ६, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?