कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरक पिटरसन

पिटरसन जस्तो आधुनिक युगको क्रिकेटमा पृथक् पहिचान बनाएका क्रिकेटरको बिदाइ सम्झनलायक भने रहन सकेन 
एन्डी बुल

लन्डन — यदि तिमीले स्क्रिनमा देखिनेभन्दा फरक बोल्न सक्दैनौ भने चुप बस्नु ठिक हुन्छ’ विश्व प्रसिद्ध क्रिकेट कमेन्टेटर रिची बेनोले कुनै समय भनेका थिए । सन् २००५ जुलाईमा एसेज सिरिजको पहिलो टेस्टको दोस्रो दिन इंग्ल्यान्ड ब्याटिङ गरिरहेको थियो ।

फरक पिटरसन

१ सय १ रनमा आठ विकेटको स्थितिमा रहेको इंग्लिस टोलीविरुद्ध ग्लेन म्याक्ग्रा बलिङमा थिए । सदाझैं उनले अफसाइडमा ब्याक अफ द लेन्थ बल फ्याँके । ब्याट्सम्यानले कम्मर बायाँतर्फ मोडे, खुट्टा फट्टाए र तीव्र गतिमा ब्याट घुमाए । नतिजा बल म्याक्ग्राको कुर्कुच्चाबाट थोरै टाढाबाट चौका हुन पुग्यो । त्यो शट कट वा ड्राइभ थिएन, निकै फरक प्रकृतिको उक्त शटको लागि शब्दकोशदेखि एमसीसी म्यानुअलसम्म कहींकतै क्रिकेटका लागि शब्द तयार नै थिएन । करिब १० सेकेन्ड रोकिएपछि कमेन्टेटर बेनोको मुखबाट निकै सुस्त गतिमा एउटा वाक्य निस्कियो । ‘त्यो धेरै, धेरै राम्रो शट थियो ।’


बेनो आफैंले दर्शकले स्क्रिनमा देखेको कुरा नदोहोर्‍याउन भन्थे । तर उक्त शट बयान गर्न उनले आफू र सबै दर्शकलाई पक्का दिलाउन उक्त शटलाई प्रशंसा गरे । बलर म्याक्ग्राले आँखीभौं उठाउँदै ओठ लेब्य्राएर उक्त शटप्रति आश्चर्य लुकाउन खोजे । एक दशक एसेज क्रिकेट खेलेका उनलाई यसबीचमा कुनै पनि इंग्लिस ब्याट्सम्यानले केभिन पिटरसनले त्यस समयमा गरेजस्तो प्रहार गर्न सकेका थिएनन् । त्यो पिटरसनको टेस्ट क्रिकेटमा छैटौं चौका थियो । त्यसपछि लगातार सातौं र आठौं बाउन्ड्री प्रहार गर्दै पिटरसनले टेस्ट क्रिकेटमा पहिलो अर्धशतक पूरा गरे ।


गत शुक्रबार पिटरसनले ट्वीटरमार्फत क्रिकेटबाट संन्यास लिएको घोषणा गरे । पिटरसन जस्तो आधुनिक युगको क्रिकेटमा पृथक् पहिचान बनाएका क्रिकेटरको बिदाइ सम्झनलायक भने रहन सकेन । अन्तिम खेल पनि उस्तै रह्यो, पाकिस्तानी सुपर लिगमा कट्टा ग्लाडियटर्सका लागि शारजाहमा । उक्त खेलमा पिटरसन ७ रनमा आउट भए । अफसाइडको बाहिर रहेको बललाई आक्रमण गर्ने धुनमा उनी इनसाइड एज लाग्दै क्याच आउट भए । उनलाई आउट गर्ने बलर फाहिम असरफ पिटरसनले सन् १९९९ मा सिनियर डेब्यु गर्दा जम्मा पाँच वर्षका थिए । क्वाजुलु–नाटलका लागि पहिलो खेलमा ब्याटिङ गर्न नपाएका पिटरसनले करियरमा ३० हजार ३ सय २९ रन बनाए जसमा ६८ शतक सामेल थियो ।


तथ्यांकका लागि यो सबै सुका–मोहरभन्दा कम महत्त्वका हुन सक्छन् । आधुनिक क्रिकेट युगमा एनालिस्टहरू ब्याट्सम्यानको उपयोगितालाई तथ्यांक र महत्त्वसँग दाँजेर हेर्ने गर्छन् । तर तिनले पिटरसनको ब्याटिङको सफलता मापन गर्न सक्छन् त ? पिटरसनको अब्बल प्रतिभा र उनले प्रहार गरेका पृथक् शटहरूले दिने आश्चर्यता मापन गर्न कसरी सम्भव हुन्छ ? यदि कसैले त्यसको मापन गर्न सक्छ भने त्यो केवल मानिसको मस्तिष्कमा बास गरेको उनको खेलशैलीले हो । त्यो शैली जुन अझै पनि आँखा चिम्लँदा झलझल याद आउँछ । पिटरसनले द्वन्द्वकालपछि इयान बोथम र डेनिस कम्प्टनकै दाँजोमा यस्ता थुप्रै यादगार पल दिएका छन् ।


पहिलो अर्धशतक बनाएको सात सातापछि पिटरसनले ओभल मैदानमा १ सय ५८ रनको उत्कृष्ट इनिङ खेले । उक्त प्रदर्शनमा ब्रेट लीको तीन ओभरमा जतिसुकै तीव्र गतिमा बल आए पनि पिटरसनले जवाफमा त्योभन्दा शक्तिशाली प्रहार गरेका थिए । आधुनिक इंग्लिस क्रिकेटको उत्कृष्ट दर्जा मानिने उक्त समयमा इंग्ल्यान्डले १८ वर्षपछि एसेजमा जित हात पारेको थियो । ‘टेस्ट क्रिकेटमा मैले देखेको उत्कृष्ट ब्याटिङमध्येको एक’, ५० वर्षसम्म लगातार टेस्ट क्रिकेट पछ्याएका बेनोले उक्त खेलपछि भने ।


त्यसको एक वर्षपछि एजबेस्टनमा पिटरसनले ब्याटिङ स्टान्स स्विच गर्दै मुथैया मुरलिधरनलाई रिभर्स स्विपमा छक्का प्रहार गरे । दुई वर्षपछि, न्युजिल्यान्डविरुद्ध वान–डे खेलमा दुईपटक स्विच हिट प्रहार गरे । पिटरसनको उक्त शटप्रति बलरले टाउको कन्याउन मात्र सके । अन्यले पनि उनको त्यो शटलाई लिएर क्रिकेटको नियमन निकायले सोच्नुपर्ने हो कि भन्ने वादविवाद गर्नबाहेक केही गर्न सकेनन् । त्यसबेला उनमा युवा जोस थियो । उनको प्रतिभाको उचित कदर गर्न सक्ने कमै थिए । त्यसैको नतिजा थियो उनको छोटो कप्तानी भूमिका, जुन बिर्सनलायक रह्यो ।


त्यसले उनलाई परिवर्तन भने गर्‍यो । उनले इंग्लिस क्रिकेटको सेवा गर्न मात्र ब्याटिङ गरेनन् । क्रिकेट समुदाय उनलाई लिएर गलत छ भन्ने साबित गर्न पिटरसनले ब्याटिङ गरिरहेको भान हुन्थ्यो । सन् २०१० को ट्वान्टी–२० विश्वकपका दौरान उनले डेल स्टेनविरुद्ध गरेको प्रदर्शनले खेलको फम्र्याटलाई नयाँ परिचय दियो । त्यसबेला विश्वकै सर्वश्रेष्ठ बलरको परिचय बनाएका स्टेनविरुद्ध उनले चौका, डट, चौका, चौका, छक्का, डट, चौका, एक प्रहार गर्दै उदाहरण प्रस्तुत गरे । अस्ट्रेलियाविरुद्ध एडिलेडमा बनाएको २ सय २७ रन होस् या मुम्बईको १ सय ८६ रनको इनिङ । दक्षिण अफ्रिकाविरुद्ध हेडिङलेमा जोडेको १ सय ४९ रनले उनको बेग्लै पहिचानको छनक दिन्थ्यो ।


सबैको एक उत्कृष्ट इनिङ हुन्छ । पिटरसनले सन् २०१५ मा सरेको लागि लेस्टरसायरविरुद्ध बनाएको तेहरो शतक अब्बल थियो । त्यसमा २ सय ९१ रन एकै दिनमा बनेको थियो । अझ विशेष विपक्षीले ९ खेलाडीलाई सर्कलबाहिर खटाएका थिए । नतिजामा पिटरसनको धेरै प्रहार फिल्डरमाथि हुँदै दर्शकदीर्घामा पुगेको थियो ।


सन् २०१४ मा उनले एउटा सर्ट मुभी बनाए । दुबईमा ड्राइभ गरिरहँदा उनले एक ठाउँमा गाडी रोके र त्यहाँका स्थानीय बासिन्दासँग खेल्न खोजे । उनले ब्याट समाए, लामो छक्का हाने र ‘धन्यवाद केटाहरू’ भन्दै हिँडे । स्थानीयहरू बल कसले ल्याउँछ भनेर एक–अर्कालाई हेर्नबाहेक केही गर्न सकेनन् ।


पिटरसनले अरूसँग मिलेर खेल्ने भनेर कहिल्यै जानेनन् । अझै पनि उनी मान्छेले पशुलाई कस्तो व्यवहार गर्छन् भन्नेमा चिन्तित देखिन्छन्, न कि उनले मान्छेलाई कस्तो व्यवहार गरिरहेका छन् । पिटरसनले क्रिकेट सामूहिक खेलका रूपमा परिचय बनाउने प्रयास गरिरहेको व्यक्तिगत खेल हो भन्ने विश्वास दिलाउन खोजेका छन् । पक्कै पनि सबैले क्रिकेटलाई यस्तो नजरले हेर्दैनन्– जसरी पिटरसनको अन्य कुरालाई कसैले हेरेनन् ।
– द गार्डियन

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?