कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बधाईको महत्त्व

विनोद पाण्डे

काठमाडौँ — वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएसँगै नेपालले विश्व क्रिकेटमा आफ्नो दायरा अझ फराकिलो बनाइरहेको छ । विश्वका शीर्षस्थ राष्ट्र एवं कहलिएका खेलाडीहरूबाट इतिहासकै ठूलो उपलब्धिमध्येको एक पाइरहँदा नेतृत्व बिनैको नेपाली क्रिकेट बधाईको हकदार भइरहेको छ ।

बधाईको महत्त्व

अघिल्लो साता नेपालले विश्वकप छनोटमा हङकङ र पपुवा न्युगिनीसँग लगातार दुई जित हात पार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता निश्चित गरेको थियो । जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपालको सफलतासँगै सामाजिक सञ्जालबाट बधाई दिनेमा अफगानिस्तान अग्रपंक्तिमा थियो ।

पहिलो तीन खेल हारेर अफगानिस्तान समूह चरणबाटै बाहिरिने क्रममा थियो । हङकङमाथि नेपालको जितपछि मात्र अफगानिस्तान सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा लगातार तेस्रो खेल जित्ने क्रममा शुक्रबार आयरल्यान्डलाई पराजित गरेपछि अफगानिस्तान विश्वकपमा नै पुग्यो । एउटा अर्थ नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको भन्दा पनि आफूलाई सुपर सिक्समा पुर्‍याएकामा अफगानिस्तानको त्यो बधाई थियो ।

नेपालभन्दा दशक जस्तो पछाडि अन्तर्राष्ट्रिय क्रिकेट खेले पनि अफगानिस्तानले ठूलो छलाङ मारिसकेको छ । लगातार दोस्रोपटक टोली विश्वकप पुगेको छ । गत वर्ष अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो । यही वर्ष टोली पहिलो टेस्ट पनि खेल्दै छ । अफगानिस्तानको जुन रफ्तार छ त्यस हिसाबमा नेपालको टोलीसँग प्रतियोगितामा बाहेक भेट हुने सम्भावना नै कम छ । त्यसैले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र बधाईलाई आधार बनाएर अफगानिस्तानसँगको द्विपक्षीय शृंखला आयोजना गर्नसके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले कोसेढुंगा कायम गर्न सक्छ ।


नेपाल क्रिकेट संघ नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट निलम्बनमा रहेको अवस्थामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई साथै लिएर हिंड्न नेपाललाई सजिलो हुन्न । नेपाली क्रिकेटसँग सरोकारवाला सबै यसमा जानकार छन् । त्यसैले राष्ट्रिय टोलीका कप्तान पारस खड्का पहिला आफ्नो क्रिकेटको समस्यालाई समाधान गर्नुपर्ने बताउँछन् । ‘संघ र संरचना नभई अगाडि बढ्न निकै गाह्रो हुन्छ,’ पारस भन्छन्, ‘एउटा सफलता पाउन सजिलो छ, त्यसलाई कायम राख्न झन् गाह्रो छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मौकामा हामीले क्रिकेट बोर्ड, संरचना, व्यवस्थापकीय हिसाबमा क्रिकेटलाई कसरी अगाडि बढाउने भन्नेतिर लाग्नुपर्छ,’ उनी भन्छन् ।

आगामी दुई वर्षमा लगानी गरेर मैदानको स्तर सुधार्न सक्यो भने अरू ठूला टिम पनि आएर खेल्न सक्ने सम्भावना देख्छन् पारस । उनले अगाडि भने, ‘नेपालमा त्यसबाहेक ठूलो संख्यामा क्रिकेट पछ्याउने जमात छ, जुन सबै देशमा त्यो खाले हँुदैन । यो उनीहरूले बुझेको हुन्छ ।’

अफगानिस्तान मात्र नभई अस्ट्रेलिया, श्रीलंका, बंगलादेशका क्रिकेट बोर्डले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका लागि बधाई दिएका छन् । विश्वकप विजयी अस्ट्रेलियाका कप्तान माइकल क्लार्क, भारतका महेन्द्रसिंह धोनीदेखि वीरेन्द्र सहवाग, माइकल भोन, वकार युनिस, इन्जमाम उल–हक, मुस्ताक अहमदजस्ता कहलिएका क्रिकेटरले नेपालको पछिल्लो सफलताको प्रशंसा गर्दै बधाई दिएका छन् । यही बधाईमा क्रिकेट कूटनीति जोडी नेपाली अगाडि बढ्न खोज्न सक्नुपर्छ ।

क्रिकेट श्रीलंकाका अध्यक्ष थिलाङा सुमाथिपालाले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताले अझ सशक्त रूपमा अगाडि बढ्न सहयोग पुग्ने जनाउँदै बधाई दिएका थिए । नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे अध्यक्ष सुमाथिपाला नेपाली क्रिकेटबारे जानकार रहेको बताउँछन् । ‘उनी १९९९ को टेम्पो लिजेन्ड्स कपका बेलामा नेपाल आएका थिए । व्यापारी पनि हुन्, हामीले यो मौकामा फेरि उनीसँग जोडिन खोज्नुपर्छ,’ पाण्डेले भने । नेपाललाई क्रिकेटको पहिलो सहयोगको हात श्रीलंकाले मिलाएको थियो । २००२ को एसीसी ट्रफी खेल्न सिंगापुर जानुअघि श्रीलंकामा नेपालले त्यहाँको स्थानीय टोलीसँग तीन खेल खेलेको थियो । क्रिकेट श्रीलंकाले कोलम्बोमा खाने, बस्ने खेल्ने व्यवस्था मिलाइदिएको थियो । त्यसले कतिको प्रभाव पारेको थियो भने नेपाल पहिलोपटक एसीसी ट्रफीको फाइनल नै पुगेको थियो ।

पाकिस्तान क्रिकेट बोर्ड, बंगलादेश क्रिकेट बोर्ड र भारतीय क्रिकेट बोर्डले पनि नेपाललाई त्यसखाले सहयोग गर्दै आएका छन् । ‘हामी त्यहाँ गए पुग्थ्यो, त्यहाँ गएर खाने, बस्ने र खेल्ने व्यवस्था ती देशकै बोर्डहरूले गर्थे । त्योभन्दा माथि जान आर्थिक हिसाबमा हामी सक्दैनथ्यौं,’ पाण्डेले भने, ‘वान–डे अन्तर्राष्ट्रिय मान्यता नेपाललाई ठूलो अवसर हो । नेपालले चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएका छौं, त्यसअनुसार ४–५ वर्षको रणनीतिक कार्यक्रम बनाउन सक्नु पर्‍यो । २०११ यता आईसीसीमा यो कार्यक्रम बनाएर बुझाएको पनि देखिँदैन ।’

उनी पनि हालको स्थितिमा क्रिकेट अगाडि बढ्न गाह्रो हुने जनाउँछन् । ‘यसका लागि गतिलो संघ आउनु पर्‍यो । टेस्ट राष्ट्रले आफ्नो पूर्ण टिम नबनाए पनि ‘ए’ टिम, जुनियर टिम, मिक्स टिम पठाउन सक्छ । यो गृहकार्य बनाउन जरुरी छ,’ पाण्डे भन्छन्, ‘टेस्ट राष्ट्रसँग पनि खेल्ने सम्भावनै नहुने भने होइन, आफूले सक्रियता देखाउनुपर्छ । उनीहरूलाई त खासै मतलब नहुन सक्छ, बधाई दिएर सहानुभूति लिन खोज्छन्, के चाहियो भन्छन् । तर त्यसको सबै गृहकार्य नेपालले नै गर्नुपर्छ । त्यो स्तरको मान्छे संघमा हुनुपर्छ ।’

३ वर्ष अगाडि फिल ह्युज स्मृति खेल आयोजना गरेपछि नेपालको क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध स्थापित भएको थियो । तर संघ सक्रिय नहुँदा र त्यसपछि पनि निलम्बनमा रहँदा नेपालले त्यो सम्बन्धको पुल विस्तार गर्न सकेको छैन । ‘संघ नै छैन हाम्रो समस्या त्यहीं छ । कुनै राष्ट्रसँग द्विपक्षीय खेल्ने प्रस्ताव गरौं भने कसले आयोजना गर्ने, कसरी खेलाउने भन्ने विषय आउँछ । त्यसैले संघ अहिलेको स्थितिमा महत्त्वपूर्ण पाटो छ, त्यो कुन स्थितिमा आउने अर्को पाटो । यसैमा अल्झिरहेर यो अवसर लिनु निकै गाह्रो विषय हो,’ नेपालले वान–डे अन्तर्राष्ट्रिय मान्यताको अवसर गुमाउन सक्ने चिन्ता पूर्व कप्तान पवन अग्रवालको छ ।

‘संघ भएको खण्डमा हामीले पाकिस्तान, श्रीलंका र बंगलादेशसँग द्विपक्षीय हिसाबमा प्रस्तावहरू अगाडि बढाई विस्तारै यसको सदुपयोग गर्नुपर्छ । आफ्नो टिमको तयारीमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । बढी भन्दा बढी हामीले बाहिर गएरभन्दा नेपालमै प्राप्त यी खेलहरू आयोजना गर्‍यो भने फाइदा हुन्छ । वान–डे अन्तर्राष्ट्रिय मान्यताको प्रमुख फाइदा भनेको खेल आयोजना गर्नु हो । यसबाट आयआर्जन हुन्छ,’ अग्रवालले भने, ‘विकासका लागि गर्नुपर्ने अरू काम त छँदैछ । भौतिक पूर्वाधारदेखि लिएर घरेलु संरचनाको पूर्वाधार संघलाई बलियो बनाउनुपर्छ । संघ बलियो हुनु निकै जरुरी छ, जबकि यसलाई त्यत्ति महत्त्व दिएको देखिँदैन । संघ बलियो भयो भने बाँकी सबै राम्रो हुन्छ । संघ योग्य र भिजन भएको भयो भने बाँकी सबै समाधन हुँदै जान्छ ।’

हङकङले पनि वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएर खासै खेल्न पाएन । त्यसको सदुपयोग गर्न सकेन । नेपालले २०१४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पाए पनि खासै त्यसको फाइदा लिन सकेको थिएन । संघबिनाको नेपाली क्रिकेटमा अहिलेको चिन्ता र चुनौती यही नै हो ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?