कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डीपीएलको भव्य तयारी

क्रिकेट थप उचाइमा पुग्ने विश्वास

धनगढी — बहुचर्चित धनगढी प्रिमियर लिग (डीपीएल)–२ क्रिकेटको भव्य तयारी गरिएको छ । धनगढीमा शनिबार सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी बिहीबारदेखि धनगढी आउन थालेका छन् ।

डीपीएलको भव्य तयारी

डेढ महिनाअघिदेखि प्रदेश नम्बर ७ संघीय प्रहरी इकाई कार्यालयको मैदान तयार पार्ने काम भएको छ भने भने झन्डै ७ हजार दर्शक अटाउने अस्थायी प्यारापिट निर्माण पनि लगभग सकिसकेको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । ‘मैदान निर्माण’ को केही कामबाहेक आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ एकेडेमीका अध्यक्ष सुवास शाहीले भने । यस वर्ष हरेक टोलीमा २–२ विदेशी खेलाडी समावेश गर्न पाइने प्रावधान छ ।

प्रत्यक्ष प्रसारणलगायतमा केही नयाँ प्रयास गरेको शाहीले जनाए । उनले भने, ‘डीपीएलमार्फत मुलुकको क्रिकेटमा नयाँ युगको सुरुआत हुनेछ । आठ वर्षको अवधिमा हामीले देशको क्रिकेटलाई एउटा उचाइमा ल्याउन यो आयोजनाले ठूलो मदत पुर्‍याएको ठानेका छौं । अबको आठ वर्षपछि देशको क्रिकेटले थप उचाइ लिने हाम्रो विश्वास छ ।’

डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता प्रदान गरेकाले यो प्रतियोगिताबाट धनगढीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने विश्वास शाहीको छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले वान–डे मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरू थप उत्साही भएको बताए । विराटनगर किंग्सका कप्तान उनले नेपाली क्रिकेटले पहिलो श्रेणीको आधिकारिक मान्यता पाउनेमा आफू विश्वस्त रहेको बताए । ‘क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव थियो,’ पारसले भने, ‘मुलुकमा हुने साना–ठूला घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको छ ।’

आयोजकले शुक्रबार सबै टिम र खेलाडीको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ । डीपीएलमा ६ फ्रेन्चाइज टोली महेन्द्रनगर युनाइटेड, टिम चौराह धनगढी, सीवाईसी अत्तरिया, रूपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ जित्दा तेस्रो र चौथो स्थान हात प्राप्त गर्ने टोलीले क्रमश: ३ र २ लाख पुरस्कार पाउने छन् । म्यान अफ द सिरिज घोषित खेलाडीलाई मोटरसाइकल र मोस्ट भ्यालुएबल खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिनेछ ।

प्रकाशित : चैत्र १६, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?