कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फा निर्वाचन चाँडै गर्न माग

काठमाडौँ — अध्यक्षका उम्मेदवार कर्माछिरिङ शेर्पाले स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन चाँडै गर्न माग गरेका छन् ।

एन्फा निर्वाचन चाँडै गर्न माग

‘रोकिएकै अवस्थाबाट चुनावी प्रक्रिया अगाडि बढ्ने निर्वाचन समितिले भनेकोछ,’ एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका शोर्पले शुक्रबार भने, ‘जुन माग गरेर मुद्दा दायर गरेका थिए, त्यो पूरा भइसकेको छ । त्यसैले चाँडै निर्वाचन हुनुपर्छ ।’ स्थानीय तीन क्लबले निर्वाचन निर्देशिका उल्लंघन गर्दै अधिेवन गर्न लागेको भन्दै जिल्ला अदालतमा रिट दायर गरेपछि जारी गरिएको अन्तरिम आदेशअनुसार चुनाव रोकिएको थियो । मकवानपुरमा भने एन्फाका प्रतिनिधि मणि कुँवर बीचमै बाहिरिएपछि गठन भएको नयाँ कार्यसमितिलाई मान्यता दिइएन ।


त्यसैले भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुरका ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि उच्च अदालतले उक्त निवेदनको टुंगो नलागेसम्म चुनाव नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । त्यसैले १४ चैतमा तोकिएको निर्वाचन स्थगित गरिएको थियो । तीन क्लबले जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएपछि एन्फाले भक्तपुरमा चैत २७ र मकवानपुरमा २३ चैतमा निर्वाचन गर्न निर्देशन दिइसकेको छ । त्यसैले केन्द्रीय कार्यसमितिको निर्वाचनको ढोका खुलेको हो ।


‘ती दुई जिल्ला संघलाई प्रतिनिधि नपठाए निलम्बन गर्ने सहमति भएको छ,’ पाँच बर्षअघि एन्फामा शुद्धीकरण अभियानको नेतृत्व थालेका शेर्पाले भने, ‘अब चुनाव हुन मात्र बाँकी हो, अरु सबै प्रक्रिया पूरा भइसकेको छ । नौ वैशाखभित्र चुनाव गर्ने हाम्रो सहमति पनि भइसक्यो । अधिवेसनको लागि प्रतिनिधि नभए पनि केन्द्रीय निर्वाचनमा उम्मेदवार बन्न पाउँछ । त्यसैले अब चुनाव हुन्छ । एएफसी र फिफाले पनि तुरुन्तै चुनावको मिति तोक्न एन्फालाई भनिसकेको छ ।’


चार वर्षे कार्यकालको लागि एन्फाको अघिल्लो निर्वाचन ७ चैत, २०७० मा भएको थियो । कार्यकाल चार वर्ष भएपछि थप ६ महिना लम्ब्याउन सकिने व्यवस्था विधानमा छ । ‘चार बर्ष ६ महिना सकिनुभन्दा अगाडि नै चुनावको मिति तोक्यो भने राम्रो हुनेछ,’ शेर्पाले भने ।


दोस्रोपल्ट मिति सारेर १४ चैतामा तोकिएपनि चुनाव स्थगित भएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले एन्फालाई कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसबारे उनले भने, ‘एन्फालाई निलम्बन गर्नुपर्ने अवस्था छैन । दुई जिल्ला संघको कारण निर्वाचन नभएको हो, त्यसलाई समाधान गरेर जान्छौं । त्यसैले हामी ४७ मतदाताले हस्ताक्षर गरेर एन्फालाई निलम्बन नगर्न आग्रह गरेर फिफालाई पठाएका थियौं । अब चाँडै निर्वाचन नभए निलम्बनमा पर्नसक्छ ।’ अध्यक्षका उम्मेदवार शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर प्यानलसहित चुनावी मैदानमा छन् ।

प्रकाशित : चैत्र १६, २०७४ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?