कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोरङ र भुटान भिड्दै

विराटनगर — विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौं सस्करण शनिबार सुरु हुँदै छ । सहिद मैदानमा ‘फ्लडलाइट’ मा साँझ ६ देखि ८ बजेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ ११ र थिम्पू फुटबल क्लव भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा मनाङ मस्र्याङ्दी, एपीएफ, थ्रीस्टार, संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, रमपम झापा ११, मोरङ ११ सहित भारतको मोहमडन स्पोर्टिङ क्लब कोलकाता र थिम्पू फुटबल क्लब भुटानको सहभागिता रहनेछ ।

आयोजकले करिब ३० लाखको लागतमा मैदानका ६ स्थानमा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरी १ सय ५० वटा बल्ब बाल्ने तयारी गरेको छ ।

उपाधि विजेताले मोफसलकै सर्वाधिक पुरस्कार राशि १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समिति अध्यक्ष नवीन रिजालले बताए । चौथो संस्करणको विजेता नेपाल पुलिसले ५ लाख ५१ हजार रुपैयाँ पाएको थियो । प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १० हजार र म्यान अफ द टुर्नामेन्टलाई मोटरसाइकल प्रदान गरिने छ । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक, प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने रिजालले बताए ।

प्रतियोगिता गर्न करिब १ करोड ३ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रायोजकवाट ६३ लाख र टिकट बिक्रीबाट ४० लाख आम्दानी गर्ने बताइएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा मारुती सिमेन्ट र रमपम चाउचाउ छन् । दुवैले १०–१० लाख रुपैयाँ र विराटनगर महानगरपालिकाले १० लाख दिने जनाइएको छ ।

प्रकाशित : चैत्र १७, २०७४ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?