कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वीक्स बास्केटबल लिग–रोमाञ्चक फाइनलको आशा

त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट कलेजबीच क्वीक्स बास्केटबल लिगको फाइनल आज २ बजे सुरु हुदैछ ।
राजु घिसिङ

काठमाडौँ — घरेलु प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट मानिएको ‘क्वीक्स बास्केटबल लिग’को उपाधि होडमा शनिबार त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेजको प्रतिस्पर्धा रोमाञ्चक हुने आशा गरिएको छ ।

क्वीक्स बास्केटबल लिग–रोमाञ्चक फाइनलको आशा

५ फागुनदेखि सञ्चालित लिगको फाइनल त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुँदैछ ।


उपत्यकाका आठ टिमले ‘होम एन्ड अवे’को आधारमा प्रतिस्पर्धा गरेको लिगको उत्कृष्ट टिम हो आर्मी । उसले लिगमा १४ मध्ये १३ खेल जितेको थियो । गोल्डेनगेटले १० जित र ४ हारको नतिजा बेहोरेको थियो । उसले घरेलु कोर्ट बत्तिसपुतलीमा भएको लिग चरणको अन्तिम खेलमा आर्मीलाई रोमाञ्चक रुपमा ९०–८५ ले पन्छाउँदै दोस्रो स्थान हासिल गरेको थियो । त्यसले आर्मीको जित यात्रालाई १३ खेलमा पूर्णविराम लगाइदिएको थियो ।


भद्रकालीमा भएको ‘अवे’ खेलमा भने गोल्डेनगेटलाई आर्मीले एकतर्फी रुपमा ८८–५० ले हराएको थियो । तर लिगको अन्त्यतिर आइपुग्दा गोल्डेनगेटले उत्कृष्ट लय समातेको छ । निक्कै अग्ला विक्रम जोशीले आर्मीको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनी अमेरिकातर्फ लागेकाले यसको फाइदा फाइनलमा गोल्डेन गेटले लिनसक्छ । आर्मीले प्ले–अफमा हिमालयन हाउन्ड्स र गोल्डेनगेटले विशाल मिलन केन्द्रलाई पराजित गर्दै फाइनलमा भिड्ने पक्का गरेका थिए ।


लिगमा तीन खेल बाँकी छंदै प्ले–अफको बाटो तय गरेको आर्मी यस प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो । उसका स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिगमा सर्वाधिक ३०१ स्कोर गरेका सदीश प्रधान (राष्ट्रिय टिमका कप्तान पनि हुन्) र कप्तान रबिन खत्री (२७७) आर्मीका मुख्य खेलाडी हुन् ।


यी दुईसँगै राष्ट्रिय टिमबाट खेलिसकेका विनोद महर्जन, आयुष जोशी, अजय मानन्धर र आशिष बस्नेत पनि टिममा छन् । ‘टिम एकदमै राम्रो छ,’ आर्मीका प्रशिक्षक यमन गुरुङले भने, ‘बेन्च पनि राम्रो छ । त्यसैले क्षमताअनुसार खेल्नसके हामीले उपाधि जित्ने ८० प्रतिशत पक्का हो ।’


गोल्डेनगेटले लिगमा विशाल मिलन केन्द्रविरुद्ध २, आर्मी र हिमालयन हाउन्ड्ससँग १–१ खेल गुमाएको थियो । राष्ट्रिय टिमका पूर्वकप्तान विपेन्द्र महर्जन नेतृत्वको गोल्डेनगेट पनि कमजोर छैन । उनीसहित राष्ट्रिय टिमका अनुभवी खेलाडीहरू विनोद श्रेष्ठ, राजीव जोशी (२४३ स्कोर), मनीषराज राजोपाध्याय, विक्रम डंगोल (१७४), कर्मा गुरुङ, अनिश शाही ठकुरी (१५९) को साथ गोल्डेनगेटलाई रहेको छ । ‘आर्मीका केही खेलाडी निक्कै छरिता छन्, उनीहरूलाई रोक्ने चुनौती छ,’ कप्तान महर्जनले भने, ‘हामी १० बर्षयता निरन्तर एउटै टिममा खेलिरहेका छौं र यो टिम–वर्क नै हाम्रो मुख्य शक्ति हो ।’


गोल्डेनगेटका प्रशिक्षक विपिन कपालीले भने, ‘आर्मी निक्कै बलियो छ तर हामीले पनि राम्रो गरिरहेका छौं । उपाधि जित्ने अवसर दुवैलाई उत्तिकै छ ।’ पुसमा भएको राखेप च्याम्पियनसिपको फाइनलमा आर्मीलाई हराएर मध्यमाञ्चलले स्वर्णपदक जितेको थियो । त्यही मध्यमाञ्चलका खेलाडीको वर्चस्व गोल्डेनगेटको टिममा छ । त्यसैले क्वीक्स बास्केटबल लिगको फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित : चैत्र १७, २०७४ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?