कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीको फाइनल प्रतिद्वन्द्वी थ्रीस्टार

विराट गोल्डकप
विनोद भण्डारी

विराटनगर — रुस्लान थ्रीस्टार क्लब शनिबार पाँचौं विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । उसले संकटा क्लबलाई एकपक्षीय रूपमा ४–० गोलले पाखा लगाउँदै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

आर्मीको फाइनल प्रतिद्वन्द्वी थ्रीस्टार

उपाधिका लागि थ्रीस्टारले सोमबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी रमपम झापा ११ लाई १–० ले पन्छाउँदै फाइनल पुगिसकेको छ । चालु सिजनमा थ्रीस्टारको योसहित आठांै फाइनलयात्रा हो । त्यसमा टोलीले चार उपाधि जितिसकेको छ भने तीन पटक उपविजेता बनेको छ । थ्रीस्टारले यस सिजनमा इटहरी र बुटवलको मदन भण्डारी गोल्डकप, बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ ।

यो सिजनमा थ्रीस्टार र संकटाको यो दोस्रो भेट हो । यसअघि हेटौंडाको सुमन भोम्जन स्मृति गोल्डकपमा संकटासँग थ्रीस्टार क्वाटरफाइनलमा १–० ले पराजित भएको थियो । शनिवार पहिलो हाफमा संकटाको दबाब झेलेको थ्रीस्टारले खेलको ४३ औं मिनेटमा गोलको खाता खोल्यो । विमल घर्तीमगरको क्रसमा अजायी मार्टिनले वान भर्सेस वानमा सेकेन्डबार च्यापेर उत्कृष्ट गोल गरेका थिए । यसअघि ४१ आंै मिनेटमा संकटाका सुनील खड्काको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले पन्च गरेर फर्काएको बलमा जिवरेल चुक्दा गोलको संकटा अग्रता लिन चुकेको थियो । पहिलो हाफको इन्ज्युरी समयमा संकटाका सुनीलकै पासमा फोडे पनि वान भर्सेस वानमा चुकेका थिए ।

दोस्रो हाफमा आक्रामक खेल पस्केको थ्रीस्टारले ५५ औ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट २–० को अग्रता बनायो । नीराजन खड्काको प्रहारलाई संकटाका गोलकिपर सागर रोयबाट रिबाउन्ड हुँदा त्यसमै बुद्धले गोल गरेका थिए । खेलको ७६ औं मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारलाई ३–० को अग्रता दिलाए । उनलाई रुपेश केसीले गोल अवसर बुनिदिएका थिए । त्यस्तै, ७९ औं मिनेटमा विमल घर्तीमगरले आकर्षक गोल गर्दै थ्रीस्टारलाई ४–० को फराकिलो जित दिलाए । उनले सुनील बलको पास सदुपयोग गरेका थिए । विमल म्यान अफ द म्याच घोषित भए । थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङदीलाई २–१ र संकटाले एपीएफलाई १–० ले हराएर अन्तिम चारको यात्रा गरेका थिए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले पहिलो हाफमा विपक्षीको खेल बुझ्न टिमले दबेर खेलेको उल्लेख गर्दै दोस्रो हाफमा त्यही रणनीतिमा उत्रिँदा टिमको सहज जित भएको बताए ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा विपक्षीलाई दबाबमा राखेर खेले पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा टोलीले फारकिलो हार बेहोर्नुपरेको बताए ।

प्रकाशित : चैत्र २५, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?