कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान निलम्बन हट्ने सम्भावना

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले प्रस्तावित विधानलाई हुबहु पारित गरेको छ । बिहीबार राजधानीमा सम्पन्न क्यान विशेष साधारणसभाले सल्लाहकार समितिमार्फत आएको विधान सर्वसम्मत पारित गरेपछि लामो समयदेखिको नेपाली क्रिकेट विवादले निकास पाउने सम्भावना बढेर गएको छ ।

क्यान निलम्बन हट्ने सम्भावना

साधारणसभाबाट नेपाली क्रिकेटको विधान पारित भएर अन्य प्रक्रिया अगाडि बढे जुनमा हुने आईसीसी वार्षिक साधारणसभामा क्यानमाथि लागेको निलम्बन फुकुवा गराउन सक्ने विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले जनाउँदै आएको थियो । सोही पृष्ठभूमि विशेष साधारणसभाले प्रस्तावित विधानको कुनै अंश नचलाई पास गरेको हो ।

क्रिकेट संघको निर्वाचन निष्पक्ष नभएको र नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले झन्डै दुई वर्षअघि क्यानलाई निलम्बन गरेको थियो । त्यसयता आईसीसीले आफ्नै रेखदेखमा नेपाली क्रिकेटको गतिविधि चलाइरहेको छ । नेपाली क्रिकेटलाई निकास दिन आईसीसीले स्वतन्त्र व्यक्तिहरू समेट्दै सल्लाहकार समिति गठन गरेको थियो । समितिले विभिन्न चरणको बैठकपछि तयार पारेको प्रस्तावित विधान निर्वाचित क्यानको विशेष साधारणसभामा पारित गर्न दोस्रोपल्ट लगिएको थियो ।

‘सल्लाहकार समितिले बनाएको विधान दोस्रोपल्ट संशोधन गरेर अगाडि बढेका छौं । पहिलो संशोधनमा सल्लाहकार समितिले दिएको विधानलाई हामीले हुबहु पारित नगरेको अवस्था थियो । आईसीसीको त्यसमा विमति रह्यो,’ निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘त्यसपछि क्यान निलम्बन यथास्थितिमा रहेको र नेपाली क्रिकेटले नयाँ उचाइ लिइरहेकाले स्थिति निकै दबाबमा परेको थियो । पद र व्यक्तिगत स्वार्थभन्दा पनि देश र क्रिकेटका लागि निर्णय गरौं अन्य प्रकृयागत हिसाबमा भइरहन्छ भनेर धेरै कुरा नमिल्दा पनि विधान हुबहु पारित गरेका हौं ।’

साधारणसभामा जिल्लाहरूका भइसकेका चुनाव फेरि गर्नुपर्ने हो कि ? दुई कार्यकालको अर्थ कसरी व्यख्या गर्ने, खेलाडीलाई पनि सदस्यता दिँदाखेरि त्यसले आउनसक्ने बाधा अड्चन के हो भन्ने विषयमा आवाज उठे पनि त्यसलाई थाँती राखिएको क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले बताए । पारित विधानलाई निर्वाचित क्यानले स्वीकृतिका लागि राष्ट्रिय खेलकुद परिषद्समक्ष पठाउने छ । औपचारिक मानिएको परिषद्को स्वीकृतिपछि यसबारे आईसीसीलाई जानकारी गराइने छ ।

साधारणसभामा पर्यवेक्षकका रूपमा आईसीसी प्रतिनिधि अमर शेख आएका थिए । उनले आईसीसीको कार्यकारी समितिको बैठक शनिबार बस्ने र त्यसमा नेपालको पछिल्लो घटनाक्रम सम्बोधन हुने जनाए । नेपाली क्रिकेटको प्रशासन प्रकृयागत रूपमा अगाडि बढेमा जुलाईको आईसीसी वार्षिक साधारणसभाले क्यानमाथिको निलम्बन फुकुवा गर्ने विश्वास लिइएको छ ।

सभापछि प्याकुर्‍यालले सुनाए, ‘सल्लाहकार समितिबाट प्राप्त विधान पास गरिएको छ । केही विषयमा जिल्लाका प्रतिनिधिको ध्यानाकर्षण भएको थियो, त्यसमा पनि छलफल भएको छ । अझै पनि केही विषयमा परिष्कृत गर्दै जानुपर्छ भनेर लामै छलफल भयो । वर्तमान परिस्थितिमा आईसीसीबाट क्यानको निलम्बन फुकुवा गराउनुपर्ने हुनाले फेरि हामीले पुरानै विषय उठाउँदा निलम्बन मुद्दा धकेलिएला भन्ने प्रमुख चिन्ता राखेर आईसीसीकै चाहनाअनुसार यसलाई हुबहु पारित गरिएको हो ।’

यसअघि भदौमा सम्पन्न साधारणसभाले प्रस्तावित विधान संशोधन गर्दै निर्वाचित क्यानका १७ जनाले मताधिकार नभए पनि निर्वाचनमा उम्मेदवार बन्न पाउनुपर्ने, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका ७ जना प्रतिनिधित्व हुनुपर्ने विषय राखेको थियो । त्यसमा आईसीसीले असहमति जनाएको हो ।

‘हामीले हुबहु विधान पारित गरेका छौं । चाँडोभन्दा चाँडो क्यान निलम्बन फुकुवाको बाटोमा लगेर अन्योलता समाप्त पारिदिनुपर्‍यो भनेर आईसीसीलाई लिखित पत्र पठाउने निर्णय भएको छ,’ अध्यक्ष चन्दले भने, ‘अबको नेपाली क्रिकेटको बाटो स्पष्ट छ । यसलाई स्वीकृतिका लागि खेलकुद परिषद्मा पठाउँछौं । परिषद्ले स्वीकृति दिएकै दिन क्यानका निर्वाचित १७ पदाधिकारी निलम्बनमा पर्छौं । त्यसमा हाम्रो कुनै आपत्ति छैन । त्यसलगत्तै स्वतन्त्र कमिटी गठन हुनेछ । स्वतन्त्र कमिटीमा पनि निष्पक्ष मान्छे राख्नुपर्छ भन्ने हाम्रो भद्र सहमति भएको छ ।’

विशेष साधारणसभामा ३७ जिल्ला र क्यानका निर्वाचत १७ पदाधिकारीले भाग लिएका थिए । क्यानअन्तर्गत ३८ जिल्ला रहेकामा ललितपुर र भक्तपुरले आईसीसीको स्वीकृति नभएको भनेर जिल्ला निर्वाचन गराएका थिएनन् । सभामा यी दुई जिल्लालाई त्यही भएर पूर्ण अधिकार दिइएको थिएन । त्यसमा नवलपरासी संघीय संरचनामा दुई जिल्ला भएकाले नवलपुर र परासीबाट छुट्टाछुट्टै प्रतिनिधित्व रह्यो ।

अब क्यानमाथि लागेको प्रतिबन्ध फुकुवाको बाटोमा जाला ? महासचिव प्याकुर्‍यालले भने, ‘अब पनि निलम्बनको बाटो खुलेन भने हामीले यो प्रश्न आईसीसीलाई सोध्नुपर्छ । आजको बैठक सकिनेबित्तिकै आईसीसी प्रतिनिधिलाई त्यही भन्यौं । आज हामीले विधान पास गरेका छौं अव क्यानको निलम्बन फुकुवा प्रक्रियामा जानुपर्‍यो । प्रक्रिया अगाडि बढ्दा केही समय लिन सक्छ । निर्वाचित क्यानको तर्फबाट हामीले सबै प्रक्रिया पूरा गरेका छौं । हामी क्यानको निलम्बन फुकुवा भएको हेर्न चाहन्छौं । अब सबै निर्णय आईसीसीको हातमा छ ।’

प्रकाशित : वैशाख ७, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?