१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

सिक्किमविरुद्ध आर्मीको रवाफ

माईभ्याली गोल्डकप
विप्लव भट्टराई

इलाम — त्रिभुवन आर्मी क्लबले बुधबार सिक्किम युनाइटेडलाई ३–१ ले पराजित गर्दै चौथो माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पक्का गरेको छ ।

सिक्किमविरुद्ध आर्मीको रवाफ

सदरमुकामस्थित टुँडिखेलमा भएको तेस्रो क्वाटरफाइनलमा पाहुना टोली सिक्किमविरुद्ध १५ औं मिनेटमा आर्मीका दिनेश हेम्जनले गोलको खाता खोले । सन्तोष तामाङको पासमा दिनेशले गोल गरेका थिए । एक गोलले पछाडि परेको सिक्किमले ७१ औं मिनेटमा खेल बराबरीमा ल्यायो । इन्द्रजित क्षेत्रीको गोलमा सिक्किमले खेल बराबरी गरे पनि त्यो लामो समय टिकाउन सकेन । ७६ औं मिनेटमा काउन्टर एटयाकमा सिक्किमका गोलरक्षक पिनिसो शेर्पा अघि बढदा नवयुग श्रेष्ठले गृहमैदान र दर्शकलाई खुसी पार्दै गोल गरेका थिए । उनको गोलमा अघि बढेको आर्मीका लागि इन्ज्युरी टाइममा भरत खवासले गरेको गोल निर्णायक बन्यो । इन्ज्युरीको पहिलो मिनेटमा नवयुगकै पासमा भरतले गोल निकाले ।

सिक्किमले पहिलो खेलमा संकटा क्लब काठमाडौंलाई हराएको थियो । आर्मीले वाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । म्यान अफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए ।

अघिल्लो सिजन सात उपाधि जितेको आर्मी माईभ्यालीको पहिलो संस्करण जितेको आर्मीले फाइनल पुग्नका लागि मनाङ मस्र्याङदीसँग प्रतिस्पर्धा गर्नेछ । अघिल्लो सिजनमा आर्मीले मनाङसँग खेलका चार खेलमा तीनमा जित पाएको छ । दुहबीबाहेक काँकडझिट्टा, धनगडी र झिलझिलेमा आर्मी विजयी बनेको हो । आर्मी प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोली यसपालि चियाबारीको गाउँबाट उपाधि जितको थालनी गर्ने अभियानमा आएको बताए । ‘सिक्किमको छरितो खेल र बलियो एटयाकिङलाइनले ९० मिनेट नै खेलाडीलाई व्यस्त बनायो,’ पहिलो खेल भएकाले केही कमजोरी भए पनि राम्रो प्रदर्शन गर्‍यौं ।’

नर्थइस्ट भारतमा सशक्त मानिएको सुपर कप र सिक्किम लिगको च्याम्पियन सिक्किम युनाइटेडले आर्मीलाई दरिलो चुनौती पेस गरेको हो । दर्शकको अपेक्षाबमोजिम आफ्ना खेलाडीले सबै बल लगाएर खेलेको सिक्किमका प्रशिक्षक मायलदोक लेप्चाले बताए । संकटाविरुद्ध गोल गरेका सञ्जय क्षेत्री पहिलो हाफको इन्ज्युरी समयमा घाइते भएर निस्किएपछि सिक्किमलाई दबाब परेको उनको भनाइ थियो ।

बिहीबार क्वाटरफाइनलमा नेपाल पुलिस र थ्रीस्टार क्लब भिड्ने छन् । थ्रीस्टार पहिलो संस्करणको उपविजेता हो ।

प्रकाशित : वैशाख १३, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?