कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वरीयता दबाबमा शिवराम

काठमाडौँ — नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठका लागि यो सिजन सुखद रहेन । उतारचढावले भरिपूर्ण सिजनमा उनले सहभागिता जनाएका ९ मध्ये ५ प्रतियोगिताको उपाधिमा कब्जा जमाए ।

वरीयता दबाबमा शिवराम

दोस्रो वरीयताका भुवन नगरकोटीले ३ तथा धनबहादुर थापाले १ उपाधि जिते । भुवनको उत्कृष्ट प्रदर्शनका कारण शिवरामलाई सिजनको अन्तिम प्रतियोगितामा गल्ती गर्ने कुनै मौका हुने छैन । भुवनले उपाधि जितेको खण्डमा शिवरामको शीर्ष वरीयता धरापमा पर्ने निश्चित छ ।

जारी सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ सोमबार सुरु हुँदै छ । डिफेन्डिङ च्याम्पियन शिवरामसामु उपाधि रक्षा गर्दै शीर्ष वरीयता पक्का गर्ने दबाब छ । सूर्य नेपाल टुरअन्तर्गत २०१७/१८ सिजनको अन्तिम प्रतियोगिता प्रिमियरलाई नगद पुरस्कारले ठूलो र विशेष बनाइएको छ । कुल १२ लाख ६० हजार रुपैयाँ पुरस्कारको यो प्रतियोगिता विजेताले २ लाख ३० हजार रुपैयाँ जित्ने छन् ।

यस सिजन घनश्याम प्रोफेसनल गोल्डेन जुब्ली, सूर्य नेपाल इस्टर्न ओपन, सेन्ट्रन ओपन, एनपीजीए म्याच–प्ले, गल्फर पाइलट्स एनपीजीए क्लासिकको उपाधि हात पारेका शिवरामले हालसम्म ६ लाख ६४ हजार २ सय ५० रुपैयाँ पुरस्कारबाट जम्मा गरिसकेका छन् । अर्डर अफ मेरिटको शीर्षस्थानमा शिवरामलाई ५ लाख ३० हजार ५ सय ५० रुपैयाँ पुरस्कारसहित भुवनले पछयाइरहेका छन् । प्रदर्शनमा एकरुपता दिन नसकेका कारण नगद पुरस्कारमा भुवन नगरकोटीभन्दा एक लाख ३३ हजार ७ सय रुपैयाँले अगाडि भए पनि नम्बर एक गल्फरको स्थान शतप्रतिशत सुरक्षित छैन ।

शिवरामल जारी सिजन सोचेजस्तो प्रदर्शन नहुनुको प्रमुख कारण खराब पटिङ र प्रशिक्षणमा समय दिन नसकेको शिवरामको भनाइ छ । पछिल्लो प्रदर्शनलाई बिर्सिएर उनी सूर्य नेपाल प्रिमियरको तयारीमा जुटिरहेका छन् । उनले विशेषत: पटिङ र शर्ट गेमलाई सुधार गरिरहेको बताए । यसपालि उपाधि जित्न बढी महत्त्वपूर्ण रहेको र कुनै गल्ती नगरी उपाधि रक्षा गर्न सक्दो कोसिसमा रहने शिवरामको प्रतिवद्धता छ । यो सिजन प्रत्येक प्रतियोगितामा चुनौती दिएका भुवनले धेरै सुधार गरेको शिवरामको भनाइ छ । उनले भुवनसँगै सञ्जय लामालाई पनि कडा प्रतिद्वन्दीका रूपमा लिएका छन् । गत वर्ष सञ्जय र सूर्यप्रसाद शर्मालाई तीन स्ट्रोकले हराउँदै शिवरामले उपाधि जितेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?