कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘म दबाबमा छु’

एएफपी

साओ पाउलो — फिफा विश्वकप अर्को महिनाबाट रसियामा सुरु हुँदै छ । यसक्रममा विश्वका सर्वाधिक महँगा खेलाडी नेयमर ब्राजिलको टोलीमा परेका छन् । चोटका कारण केही महिनायता विश्राममा रहेका नेयमरले आफू दबाबमा रहेको बताएका छन् ।

‘म दबाबमा छु’

‘म जस्तो दबाबमा सायदै कोही छ होला,’ नेयमरले भने, ‘समर्थक मेरोबारे जान्न उत्सुक छन् भन्ने मैले बुझेको छु । तर म उनीहरूभन्दा बढी उत्सुक छु । मेरो पुनरागमनबारे मभन्दा बढी अरू कोही चिन्तित छैन होला ।’ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दा फेबु्रअरीमा चोट बोकेका नेयमर विश्वकप सुरु हुँदासम्म टोलीको नेतृत्व सम्हाल्न सक्ने अवस्थामा पुग्न सक्ने अपेक्षा गरिएको छ ।

२६ वर्षीय नेयमरले दायाँ खुट्टाको हड्डीको शल्यक्रिया गरेयता आफूलाई विश्वकपकै लागि लक्षित गरेर तयारीमा लागेका छन् । ‘यो निकै कठिन समय हो । मलाई लाग्छ मेरो खेलजीवनकै सबैभन्दा कठिन क्षणमध्य एक । मेरो सपना, विश्वकप जित्ने सपनाको नजिक यस्तो हुँदा निकै दु:ख लागेको छ,’ उनले आफ्नो भावना पोखे । यसअघि ब्राजिलमा भएको सन् २०१४ को संस्करणको क्वाटरफाइनल खेलमा घाँटीमा चोट बोकेपछि नेयमर सेमिफाइनलदेखि खेल्न सकेका थिएनन् । उक्त खेल ब्राजिलले जर्मनीसँग ७–१ ले हारेको थियो ।

‘मैले अर्को एउटा अवसर पाएको छु । मेरो देशलाई विश्वकप विजेता बनाउने । मेरो बाल्यकालदेखिको सपना पूरा गर्ने सुनौलो मौका मिलेको छ,’ नेयमरले थपे, ‘यो मेरो सबैभन्दा ठूलो लक्ष्य हो । आशा गर्छु अन्तिममा यो कप हाम्रो हुनेछ ।’

नेयमर मंगलबार ब्राजिलका प्रशिक्षक टिटेले घोषणा गरेको २३ सदस्यीय अन्तिम टोलीमा अटाएका थिए । छैटौंपल्ट विश्वकप जित्ने लक्ष्यमा रहेको ब्राजिलले समूह चरणमा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ । गत आइतबार चोटबाट पुनरागमन गर्दै प्रशिक्षणमा सामेल भएका नेयमरले विश्वकपअघि अभ्यास खेलमा आफ्नो फिटनेस सिद्ध गर्नेछन् । ब्राजिलले क्रोएसिया र अस्ट्रियासँग अभ्यास खेल खेल्नेछ ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?