कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र केसीटीसी विजयी

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रिमियर लिग (केपीएल) टी–२० प्रतियोगिताको आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले जित दर्ता गरेका छन् ।

आर्मी र केसीटीसी विजयी

आइतबार सुर्खेत रंगशालामा सम्पन्न पहिलो खेलमा केसीटीसीले रोयल राइजिङ क्रिकेट क्लबलाई ८ रनले पराजित गरेको छ । आर्मीले महाकाली क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्‍यो ।

टस हारेर ब्याटिङ गरेको केसीटीसीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन बनायो । खराब सुरुवात गरेको केसीटीसीले सुरुवाती ५ विकेट मात्र ३२ रनको स्कोरमा गुमाएको थियो । छैटौं विकेटका लागि विपिन आचार्य र विवेक रानामगरले ७६ रनको साझेदारी गर्दै टिमको स्कोर सय रन पार गराए । विपिनले ५७ रन र विवेकले ४५ रनको इनिङ खेले । विपिनले ३९ बलमा ७ चौका र १ छक्का र विवेकले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । रोयल राइजिङका बलर प्रकाश जैसीले ३ विकेट हात पारे । राइजिङले ८ विकेट गुमाएर १ सय ३२ रनमात्रै बनाउन सक्यो । राइजिङका ओपनिङ ब्याट्सम्यान प्रकाश जैसीले सर्वाधिक ५६ रन बनाउने क्रममा ४७ बलमा ९ चौका र १ छक्का प्रहार गरे । केसीटीसीका बलर आदिल खानले ३ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच विपिन आचार्य घोषित भए ।

दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको महाकालीले पूरै २० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर १ सय २९ रन बनायो । महाकालीका कप्तान सुरेन्द्र चन्दले सर्वाधिक २९ रन बनाए भने दीपेन्द्र चन्द र प्रकाश सिंहले समान १९/१९ रन जोडे । आर्मीका सुशन भारी, विक्रम सोब र हरिकृष्ण झाले १/१ विकेट लिए ।

म्यान अफ द म्याचको ट्रफीसाथ विक्रम ।

आर्मीले १९ ओभरमा लक्ष्य पूरा गर्‍यो । ५५ रनमा पहिलो ५ विकेट गुमाएको आर्मीका लागि छैटौं विकेटको साझेदारीका रूपमा विक्रम सोब र नरेश बुढाऐरले अविजित ७९ रनको साझेदारी गरे । विक्रमले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे भने नरेशले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरे । नरेश ३२ र विक्रम ४१ रनमा नटआउट रहे । महाकालीका विकास आग्रीले ३ विकेट हात पारे ।

सोमबार एबीसी स्पोटर््स र मध्यपश्चिम क्रिकेट क्लब तथा रूपन्देही ११ र टीकापुर क्रिकेट क्लब भिड्नेछन् । जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : जेष्ठ ७, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?