कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी र रूपन्देही भिड्ने

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रिमियर लिग (केपीएल) ट्वान्टी–२० प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रूपन्देही ११ फाइनल पुगेका छन् ।

आर्मी र रूपन्देही भिड्ने

शुक्रबार सेमिफाइनलमा रूपन्देहीले मध्यपश्चिम क्रिकेट क्लबलाई ११ रन र आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरे ।

फाइनल शनिबार हुनेछ । टस हारेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो । सन्दीप सुनारले ५० रन बनाए । उनले ३० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक बनाए । बशिर अहमदले ४६ रन बनाए । उनले १४ बलमा ५ छक्का प्रहार गरे । शंकर रानाले ३५ र निश्चल चौधरीले २२ रन बनाए ।

१ सय ७३ रनको लक्ष्य पछयाउने क्रममा मध्यपश्चिमले १९.५ ओभरमा १ सय ४६ रनमात्रै बनाउन सक्यो । कप्तान सुवेन्दु पाण्डेले सर्वाधिक ४६, प्रनित थापाले २० र सिद्धान्त शाहीले १९ रन बनाए । रूपन्देहीका सन्दीप सुनार र विकास श्रेष्ठले ३–३, विक्रम भुसालले २ विकेट हात पारे । प्लेयर अफ द म्याच सन्दीप सुनार घोषित भए । अर्को खेलमा टस जितेर ब्याटिङ गरेको धनगढी एकेडेमीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन खडा गरेको थियो । कप्तान भुवन कार्कीले नटआउट ४४ रन बनाए । उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । सञ्जु दमाईले २३, दीपेन्द्र थापाले २१, रोमन बमले १६ रन योगदान दिए । आर्मीका चन्द्र साउद र सागर पुनले २–२ विकेट लिए ।

१ सय ३२ रनको लक्ष्य आर्मीले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । प्लेयर अफ द म्याच नरेश बुढाऐरले नटआउट ६३ रन बनाए । उनले ३८ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । राजु रिजालले २८, सागर पुनले १४ र अनिल मण्डलले १३ रन बनाए । विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् । उत्कृष्ट खेलाडीले २५ हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार प्राप्त गर्नेछन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?