कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डो युभेन्ट्समा

रोयटर्स

म्याड्रिड — पाँचपल्ट विश्वका उत्कृष्ट खेलाडी घोषित फरवार्ड क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडबाट इटालीको च्याम्पियन युभेन्ट्समा आबद्ध भएका छन् । रियल म्याड्रिडले मंगलबार विज्ञप्ति जारी गर्दै ट्रान्सफर पूरा भएको जनाएको छ ।

रोनाल्डो युभेन्ट्समा

रोनाल्डो सन् २००८ मा म्यानचेस्टर युनाइटेड छाडेर तत्कालीन कीर्तिमानी रकम ८ करोड पाउन्डमा रियल पुगेका थिए । उनले रियालमा रहेर दुई लिग उपाधि र चार च्याम्पियन्स लिग जित्दै ४ सय ५१ गोलसहित क्लबका सर्वाधिक गोलकर्ताका रूपमा आफूलाई स्थापित गरे ।


‘रियल म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डो सधैं एक प्रतिनिधि पात्र रहनेछन् । उनी क्लबका लागि एक युगका संवाहक हुन्,’ क्लबले रोनाल्डोको इच्छाअनुसार ट्रान्सफर भएको उल्लेख गर्दै भनेको छ, ‘रियल सधैं उनको घर हुनेछ ।’ ट्रान्सफर रकम सार्वजनिक नभए पनि स्पेनिस मिडियाका अनुसार रोनाल्डोले चारवर्षे सम्झौता गरेका छन् । उनलाई युभेन्ट्सले १० करोड युरो तिरेको छ ।


रोनाल्डोले युभेन्ट्सविरुद्ध खेलेको पछिल्लो खेलमा उत्कृष्ट बाइसाइकल किकसहित दुई गोल गर्दै च्याम्पियन्स लिगमा रियललाई जित दिलाएका थिए । खेलपछि युभेन्ट्सका समर्थकले उनलाई सम्मानस्वरुप उभिएर ताली बजाएका थिए । त्यस खेलको दोस्रो लेगमा रोनाल्डोले इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दा युभेन्ट्स ४–३ ले पराजित भएको थियो ।


सन् २०१२ यता लगातार इटालियन लिगको उपाधिमाथि कब्जा जमाइरहेको युभेन्ट्सले सन् १९६६ यता च्याम्पियन्स लिगको उपाधि जितेको छैन । रोनाल्डोको बर्हिगमनसँगै ला लिगाले पछिल्लो दुई वर्षमा तीनमध्ये दुई ठूला स्टारलाई गुमाएको छ । बार्सिलोनाबाट गत सिजन ब्राजिलियन फरवार्ड नेयमर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) तर्फ लागेका थिए ।

प्रकाशित : असार २७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?