‘मनोवैज्ञानिक सफलता’

राजु घिसिङ

मस्को — फ्रान्सले घरेलु मैदानमा सन् १९९८ मा विश्वकप जित्दाका कप्तान हुन् डिडियर डेसच्याम्प । त्यसको २० वर्षपछि फ्रान्स दोस्रोपल्ट विश्वविजेता भयो । तिनै डेसच्याम्प फेरि एकपल्ट हिरो भए । यसपालि उनको भूमिका फेरियो ।

सन् १९९८ मा फ्रान्सेली कप्तान र २०१८ मा प्रशिक्षक भएर विश्वकप ट्रफी उचाल्दै डिडियर डेसच्याम्प ।

त्यतिबेला मैदानमा भिडेका उनी रुसमा भने ‘टचलाइन’ बाट खेलाडीलाई निर्देशन दिइरहेका थिए । त्यसैले उनी खेलाडी र प्रशिक्षक (व्यवस्थापक) को रूपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बने ।

‘यो मेरोबारे होइन,’ क्रोएसियाविरुद्ध ४–२ को जित रच्दै विश्वविजेता प्रशिक्षक बनेका ४९ वर्षीय डेसच्याम्पले भने, ‘यो (उपाधि) ती खेलाडीको हो, जसले खेल जिते । यो सुन्दर र बलियो पक्ष हो । मैदानमा उत्कृष्ट खेलाडी थिए । त्यसले मेरो पनि व्यक्तिगत उपलब्धि बन्यो । ठूलो खुसीको कुरा हो ।’ खेलाडी र प्रशिक्षक भएर विश्वविजेता हुने उनी ब्राजिलका मारियो जगालो र जर्मनीका फ्रेन्ज बेकेनबाउरपछि पहिलो हुन् ।

Yamaha

‘फ्रान्स च्याम्पियन भयो । युवा टिम छ । १९ वर्षका पनि च्याम्पियन भएका छन् । यसमा गर्व गर्छु,’ पत्रकार सम्मेलनमा डेसच्याम्पले भनेका थिए, ‘हिम्मत हार्नुहुन्न भनेर खेलाडीलाई दोहोर्‍याएर भनिरहे । टेक्निकमात्र पर्याप्त भएन, हामी मानसिक र मनोवैज्ञानिक क्षमताले च्याम्पियन भएको हो । युवा टिमले यसलाई कायम राख्नुपर्छ ।’

फ्रान्सको यो सफलतालाई भविष्यमा कसरी सम्झिने ? ‘हामी च्याम्पियन भयौं । विश्वविजेता भयौं । अबको चार वर्ष फ्रान्स च्याम्पियन रहनेछ । यसैका लागि हामीलाई सम्झिने हो,’ उनले भने, ‘मुख्यत: यी २३ खेलाडीलाई सधैंका लागि एउटा सम्बन्धमा जोडिदिएको छ । विश्वकप उपाधि जित्यो तर यसले व्यावसायिक जीवन भने परिवर्तन गर्ने छैन ।’

अन्तिम १६ मा अर्जेन्टिनाविरुद्ध दुई गोल गर्दै अर्को पेनाल्टीको अवसर पनि बनाएका केलियन एमबाप्पेको प्रशंसा गर्दै भने, ‘उनी १९ वर्षमै विश्वविजेता भए । वास्तवमै उत्कृष्ट खेलाडी हुन् । र, उनी फेरि च्याम्पियन हुनसक्छन् ।’ कहिलेकाहीं व्यक्तिगत रूपमा खेलाडी हावी भए पनि सबै खेलाडीको प्रदर्शनमा प्रतियोगितामा सफलता हात पारेको पनि उनले बताए ।

सामूहिक खेल
फ्रान्सेली टिममा प्राय: सधैं उत्कृष्ट खेलाडीहरू हुने गर्छ । तर, ती खेलाडीबीच बेलाबेला समस्या बाहिर आइरहेको हुन्छ । आठ वर्षअघिको विश्वकपमा प्रशिक्षकसँग झगडा परेपछि एक खेलाडीलाई प्रतियोगिताकै क्रममा घर फर्काइएको थियो । यसपालि भने फ्रान्सेली टिमको त्यस्तो समस्या बाहिर आएन ।

‘यो सामूहिक प्रदर्शनले भएको हो,’ उनले भने, ‘हरेक व्यक्ति स्वतन्त्र थिए । व्यवस्थापनका लागि प्रशिक्षक स्वतन्त्र थियो । सबैभन्दा महत्त्वपूर्ण कुरा २३ खेलाडी कसरी छनोट गर्ने भन्ने हो । त्यसपछि सकेसम्म छिटो टिमको रूपमा विकास गर्नुपर्छ । सन्तुलित बनाउनुपर्छ । म २३ खेलाडीले घेरिएको छु । हामी ५५ दिन सँगै छौं । यसमा एकता छ । मैले त्यस्तो छलफल र र समस्या सुनेको छैन । धेरै खेलाडी युवा छन् । त्यसैले कहिलेकाहीं कडा प्रस्तुत भएको छु, धेरै कडा । सबैले ध्यान दिएर सुनेका थिए । सबैले मिहिनेत गरेका थिए ।’

बलियो क्रोएसिया
समूह चरणको खेल गाह्रो भएको पनि डेसच्याम्पले बताए । उनले विशषेगरी पेरुविरुद्ध १–० को जितबारे भने, ‘दक्षिण अमेरिकी टिमविरुद्ध धेरै नै गाह्रो भएको थियो । महत्त्वपूर्ण नभएकाले केहीलाई आराम दिने निर्णय लिइएको खेलमा डेनमार्कविरुद्ध पनि राम्रो गरेनौं । डेनमार्क साँच्चिकै जित्न चाहेको थियो । तर ७ अंक बनाएर समूहमा पहिलो भएर नकआउटलाई छनोट भयौं । उच्चस्तरको प्रतिस्पर्धा भएको मेरो विश्वास छ ।’

फ्रान्सले लियोनल मेसीको अर्जेन्टिनालाई अन्तिम १६ मा ४–३ ले हराएको थियो । ‘दोस्रो चरण पूर्ण रूपमा फरक भयो । विश्व फुटबलकै महानतम देश अर्जेन्टिना र मेसीको चुनौती पार गर्नु सामान्य थिएन । त्यो पूर्ण रूपमा मनोवैज्ञानिक सफलता थियो,’ त्यसपछि उरुग्वेविरुद्ध क्वाटरफाइनल खेल्न ५ दिन समय पायौं, नत्र जे पनि हुनसक्थ्यो । हामी सफलताको भोको भएको उरुग्वेसँगको खेलमा देखायौं । हामीले गर्नुपर्ने सबै कुरा गर्‍यौं ।’ १२ वर्षअघि फाइनलमा चुकेको फ्रान्सले यसपालि अन्तिम आठमा उरुग्वेलाई २–० ले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएको थियो ।

लुजनिकी रंगशालामा भएको फाइनलमा फ्रान्सले मारियो मान्जुकिचको आत्मघाती गोलबाट अग्रता लिएको थियो । इभान पेरिसचले बराबरी गरेका थिए तर भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पाएको पेनाल्टीमा एन्टोइन ग्रिजमनले फ्रान्सलाई फेरि पहिलो हाफमै अगाडि बढाए । दोस्रो हाफमा पाउल पोग्बा र केलियन एमबाप्पेले गोल गरेपछि फ्रान्सको उपाधि पक्का भएको थियो । कप्तान ह्युगो लोरिसको गल्तीमा मान्जुकिचले क्रोएसियाका लागि दोस्रो गोल पनि गरेका थिए ।

फाइनलमा राम्रो खेल प्रदर्शन गर्दै लुका मोड्रिचको टिमले दर्शकको मन जितेको थियो तर उपाधि भने फ्रान्सले कब्जा गर्‍यो । यसबारे डेसच्याम्पले भने, ‘फाइनलमा ४ गोल गऱ्यौं । तर प्रतिभा मात्रै सफलताका लागि पर्याप्त हुँदैन । प्रतिभा क्रोएसियासँग थियो । यसमा मनोवैज्ञानिक पक्ष ठूलो रह्यो । क्रोएसिया कागजमा मात्र सानो टिम हो ।’ यसपालि साना टिमले राम्रो गरेको पनि उनले सुनाए ।

युरोभन्दा गाह्रो
पूर्वी युरोपमा पहिलोपल्ट आयोजित विश्वकपमा युरोपेली टिम हाबी भए । सेमिफाइनलका चारै टिम युरोपका थिए । फ्रान्सले घरेलु भूमिमा दुई वर्षअघिको युरोपियन च्याम्पियनसिपको फाइनल पनि खेलेको थियो । त्यसमा फ्रान्स क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलसँग हारेको थियो । ‘दुई वर्षअघि युरोमा पीडा बेहोरेका थियौं । त्यसमा कम महत्त्वका खेललाई पनि ध्यान दिएका थियौं । युरोमा आरामसाथ खेल्यौं । तर विश्वकप धेरै गाह्रो छ,’ सन् २०१२ यता फ्रान्सेली टिम सम्हालिरहेका डेसच्याम्पले भने ।

डेसच्याम्पको टिम विश्वकप २०१४ को क्वाटरफाइनलमा जर्मनीसग १–० ले हारेको थियो । त्यतिबेला पाउल पोग्बा प्रतियोगितामा सर्वोत्कष्ट युवा खेलाडी चुनिएका थिए भने यसपालि यो अवार्ड एमबाप्पेले हात पारे । यिनै एमवाप्पे र ग्रिजमनले ४–४ गोल गर्दै फ्रान्सको उपाधि यात्रा सहज बनाए ।

प्रकाशित : श्रावण १, २०७५ ०८:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जोकोभिचको जीवन्त चुनौती

कान्तिपुर संवाददाता

लन्डन — अन्त्यमा नोभाक जोकोभिचले चौथोपल्ट विम्बल्डन टेनिसको पुरुष एकल उपाधि जित्न धेरै मिहिनेत गर्नुपरेन । तर यहाँसम्म पुग्ने यिनै जोकोभिचले लामो संघर्ष भने गरेका छन् । सेन्टर कोर्टमा केभिन एन्डरसनमाथि ३१ वर्षे जोकोभिचले सोझो तीन सेटमा खेल जिते । यो उनले जितेको चौथो विम्बल्डन उपाधि त भयो नै ।

समग्रमा उनले जितेको १३ औं ग्रान्ड स्लाम उपाधि रह्यो । यी सर्बियाली खेलाडी अब ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा अमेरिकी पिट साम्प्रासको ठीक पछाडि पुगेका छन् ।

समकालीन खेलाडीमध्ये उनको अगाडि राफेल नडाल र रोजर फेडेररले मात्र बढी ग्रान्ड स्लाम उपाधि जितेका छन् । नडालले १७ र फेडेररले २० ग्रान्ड स्लाम जितेको उपलब्धि हात पारेका छन् । चोटका कारण दुई वर्ष सक्रिय खेलबाट टाढा रहेपछि अनि केही व्यक्तिगत समस्या समाधान गरेपछि जोकोभिचले पेस गर्ने चुनौती फेरि एकपल्ट जीवन्त भएको छ । अब उनले नडाल र फेडेररसँगै आफूलाई विश्वकै एक उत्कृष्ट टेनिस खेलाडीका रूपमा दाबी प्रस्तुत गर्नसक्छ ।

जर्मनीका बोरिस बेकर कुनै समय जोकोभिचका प्रशिक्षक थिए । उनले सन् २०१४–०१६ बीच उनलाई प्रशिक्षण थिए र यसक्रममा जोकोभिचले ६ ग्रान्ड स्लाम उपाधि जिते । उनी जोकोभिचबारे भन्छन्, ‘उनी कोमल हृदय भएका खेलाडी हुन् । उनको सफलताको आधार परिवार हो । उनी आफ्नी श्रीमती जेलेनासँग १० वर्षको वैवाहिक जीवन बिताइरहेका छन् । यसक्रममा दुवैले उचारचढाव देखे ।

के जोकोभिचलाई नडाल र फेडेरर बराबरीकै खेलाडी मान्न सकिन्छ त ? यसमा मेरो उत्तर हो, सकिन्न । हामी फेडेरर र नडाललाई माया गर्छौं तर जोकोभिचलाई भने सम्मान गर्छौं । यो नै उनलाई लिएर समस्या हो । त्यसैले जोकोभिचले आफ्ना दुई समकालीन खेलाडीको बराबरी गर्न धेरै मिहिनेत गरेका छन् । उनले त्यस्तो समय टेनिस खेलिरहेका छन्, जुन समयमा यी दुई महान खेलाडी पनि खेले । आउने केही वर्षमा जोकोभिचले थप केही ग्रान्ड स्लाम उपाधि जित्न सक्छन् । उनको खेलले यस्तै भनिरहेको छ ।’

चारपल्ट विम्बल्डन सेमिफाइनल खेलेका टिम हेनम्यानको पनि जोकोभिचलाई लिएर आफ्नै विश्लेषण छ । उनले भनेका छन्, ‘जोकोभिचका लागि पछिल्ला दुई वर्ष निकै कठिनाइपूर्ण रहे । एक समयका नम्बर एक खेलाडी २१ औं वरीयतासम्म पुगे । ग्रान्ड स्लाम उपाधि जित्नु र अरू प्रतियोगितामा सफलता हात पार्नुमा धेरै फरक छ । मलाई लाग्छ, जोकोभिचले अझै केही वर्ष राम्रा खेल्न सक्छन् । अहिले विम्बल्डन जितेर उनले सिद्ध गरेका छन्, उनीसँग अझै चुनौती पेस गर्ने क्षमता बाँकी छ ।’

कहाँ छन् युवा खेलाडी ?
ठीक यहींनिर एक अर्को प्रश्न पनि अगाडि आउँछ । ग्रान्ड स्लाम जित्न सक्ने युवा खेलाडी कहाँ हराए त ? सन् १९९० यता जन्मेका खेलाडीले पुरुषतर्फ ग्रान्ड स्लाम जितेको समाचारका लागि गरिँदै आएको प्रतीक्षा लामो हुन थालेको छ । नडाल ३१ वर्षका भए या २१ वर्षका । फेडेरर त झन ३६ वर्षका भए । सायद नयाँ पुस्ताका खेलाडीले पुरानो पुस्तालाई चुनौती दिनै नसक्ने हो त ? यसको एउटा उत्तर के हुनसक्छ भने जोकोभिचसँगै नडाल र फेडेररमा ग्रान्ड स्लाम उपाधिको जुन भोक छ, त्यो नयाँ खेलाडीमा छैन कि ?–बीबीसी

प्रकाशित : श्रावण १, २०७५ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT