कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोल्डेन बल र बुट

रोयटर्स

मस्को — क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकपको गोल्डेन बल जित्दा बेल्जियमका इडेन हाजार्ड दोस्रो र फ्रान्सका एन्टोइन ग्रिजमन तेस्रो भएका छन् । मोड्रिचले फाइनलमा पराजित हुनुका बाबजुद पनि विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जितेका हुन् ।

गोल्डेन बल र बुट

क्रोएसियाले खेलेका सातमध्ये तीन खेलमा म्यान अफ द म्याच घोषित मोड्रिचले फ्रान्सविरुद्ध टोलीलाई जित दिलाउन भने सकेनन् । प्रतियोगितामा सर्वाधिक ६ सय ९४ मिनेट खेलेका उनले २ गोल गर्दा एक असिस्ट दिए ।

बेल्जियमका कप्तान हाजार्डले उत्कृष्ट खेलाडीको सूचीमा दोस्रो स्थान हासिल गर्दै सिल्भर बल प्राप्त गरे । गोल्डेन बलका लागि दावेदारी प्रस्तुत गरेका उनको टोली फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो । तेस्रो स्थानको प्लेअफमा इंग्ल्यान्डलाई २–० ले पराजित गरेपछि उनले आफैं गोल्डेन बुट जित्ने इच्छा रहेको पनि बताएका थिए । उनले प्रतियोगितामा ३ गोल गर्दै दुई असिस्टको योगदान दिए ।
तेस्रो स्थान भने फ्रान्सका ग्रिनमनले ओगटे । उनले क्रोएसियाविरुद्ध फाइनलमा गोल गर्नुका साथै फ्रान्सलाई सुरुआती अग्रता दिलाउने फ्रिकिक पनि प्रहार गरेका थिए । उनले समग्रमा ४ गोल गर्दा दुई असिस्ट गरे ।

केनलाई गोल्डेन बुट
इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनी फाइनलमा गोल गरेका फ्रान्सका एन्टोइन ग्रिजमन र केलियन एमबाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे । केन गोल्डेन बुट जित्ने इंग्ल्यान्डका दोस्रो खेलाडी हुन् । यसअघि ग्यारी लिनेकरले ३२ वर्षअघिको विश्वकपमा त्यो उपलब्धि पाएका थिए ।

केनले प्रतियोगिताको पहिलो खेलमा ट्युनिसियाविरुद्ध दुई गोल गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । दोस्रो खेलमा पानामाविरुद्ध ह्याट्रिक गरेका उनले समूह चरणको अन्तिम खेलमा भने विश्राम पाए । त्यसपछि अन्तिम १६ को खेलमा उनले कोलम्बियाविरुद्ध पेनाल्टीबाट गोल गर्दै संख्या ६ पुर्‍याए । त्यसपछिका ३ खेलमा गोल गर्न नसके पनि उनी गोल्डेन बुट कब्जा गर्न सफल रहे ।

चार गोल गर्ने सूचीमा ग्रिजमन र एमबाप्पेसँगै रुसका डेनिस चेरिसेभ, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकु छन् । समान गोल भएकाले असिस्टका आधारमा सिल्भर बुट ग्रिजमन र ब्रोन्च बुट लुकाकुले प्राप्त गरे ।

गोल्डेन ग्लोभ्स कोर्टियसलाई
बेल्जियमका गोलरक्षक थिबाउट कोर्टियसले गोल्डेन ग्लोभ्स जितेका छन् । बेल्जियमलाई तेस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका गोलरक्षक कोर्टियसले प्रतियोगिताका सबै ७ खेल पूरै समय खेले । यसक्रममा उनले पोस्टमा आएको २७ प्रहार बचाए, जुन कुल प्रहारको झन्डै ८२ प्रतिशत हो । विशेषत: उनले क्वाटरफाइनलमा ब्राजिलविरुद्ध गरेको प्रदर्शन विश्वकपकै उत्कृष्टमध्य एक थियो ।

एमबाप्पे युवा खेलाडी
विश्वकप अवधिमा ४ गोल गरेका एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते । फ्रान्सलाई उपाधि दिलाउने क्रममा फाइनलमा पनि गोल गरेका उनले आफ्नो तीव्र गतिको फाइदा उठाउँदै विपक्षी डिफेन्सलाई कठिन समय दिएका थिए । १९ वर्षे एमबाप्पेले सबै ७ खेल खेल्दै ५ सय ३४ मिनेट मैदानमा बिताए । उनले प्रतियोगिता अवधिभर जम्मा ८ पटक पोस्टमा प्रहार गरे । फेयर प्ले टिमको उपाधि स्पेनले पायो । स्पेन रुससँग अन्तिम १६ मा टाइब्रेकरमा पराजित हुँदै घर फर्केको थियो ।


क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्रावर गोल्डेन बल विजेता लुका मोड्रिचलाई सान्त्वना दिँदै ।

विश्वकपका उत्कृष्ट युवा खेलाडी
वर्ष/स्थान खेलाडी (देश) उमेर
१९५८/स्वीडेन पेले (ब्राजिल) १७
१९६२/चिली फ्लोरेन्ट अल्बर्ट (हंगेरी) २०
१९६६/इंग्ल्यान्ड फ्रान्ज बेकेनबाउर (जर्मनी) २०
१९७०/मेक्सिको टिओफिलो क्युलिस (पेरु) २१
१९७४/पश्चिम जर्मनी वादिस्लाव जुमुदा (पोल्यान्ड) २०
१९७८/अर्जेन्टिना एन्टोनियो क्याब्रिनी (इटाली) २०
१९८२/स्पेन म्यानुइल अम्रोस (फ्रान्स) २१
१९८६/मेक्सिको इन्जो सिफो (जर्मनी) २०
१९९०/इटाली रोबर्टो प्रोसिनेस्की (युगोस्लाभिया) २१
१९९४/अमेरिका मार्क ओभरमार्स (नेदरल्यान्ड्स) २१
१९९८/फ्रान्स माइकल ओवेन (इंग्ल्यान्ड) १८
२००२/कोरिया–जापान लन्डन डोनोभान (अमेरिका) २०
२००६/जर्मनी लुकास पोडोलस्की (जर्मनी) २१
२०१०/द. अफ्रिका थोमस मुलर (जर्मनी) २०
२०१४/ब्राजिल पाउल पोग्बा (फ्रान्स) २१
२०१८/रुस केलियन एमबाप्पे (फ्रान्स) १९

गोल्डेन बुट विजेता
१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना)– ८ गोल
१९३४ ओल्डरिच नेजेडली (चेकोस्लोभाकिया) – ५ गोल
१९३८ लिओनिडास (ब्राजिल)– ७ गोल
१९५० एडेमिर (ब्राजिल) – ८ गोल
१९५४ सान्डोर कोकसिस (हंगेरी) – ११ गोल
१९५८ जस्ट फोन्टेन (फ्रान्स) – १३ गोल
१९६२ संयुक्त ६ खेलाडीलाई – ४ गोल
१९६६ इसेबियो (पोर्चुगल) – ९ गोल
१९७० गर्ड मुलर (जर्मनी) – १० गोल
१९७४ ग्रजेगोर्ज लाटो (पोल्यान्ड) – ७ गोल
१९७८ मारिओ केम्पस (अर्जेन्टिना) – ६ गोल
१९८२ पाउलो रोसी (इटाली) – ६ गोल
१९८६ ग्यारी लिनेकर (इंग्ल्यान्ड) – ६ गोल
१९९० साल्भाटोर सिलाची (इटाली) – ६ गोल
१९९४ ओलेग सालेन्को (रुस) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल संयुक्त
१९९८ डाभोर सुकर (क्रोएसिया) – ६ गोल
२००२ रोनाल्डो (ब्राजिल) – ८ गोल
२००६ मिरोस्लाभ क्लोज (जर्मनी) – ५ गोल
२०१० थोमस मुलर (जर्मनी) – ५ गोल
२०१४ हामेस रोड्रिग्वेज (कोलम्बिया)– ६ गोल
२०१८ ह्यारी केन (इंग्ल्यान्ड)– ६ गोल

प्रकाशित : श्रावण १, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?