अल्ट्रा धावक रोकायालाई ५० हजार सहयोग 

कान्तिपुर संवाददाता

काठमाडौँ — बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारपछि कोठामा आराम गरिरहेका अल्ट्रा धावक हरिबहादुर रोकायालाई सहयोग गरिएको छ । भक्तपुरको लोकनथलीस्थित रोकायकै कोठामा पुगेर कालिकोटका युवा व्यवसायी तथा पूर्वखेलाडी दिलबहादुर कडायतले मंगलबार ५० हजार आर्थिक सहयोग गरेका छन् ।


जुम्लामा प्रशिक्षार्थीसँगै दौडको तयारीमा रहेका रोकाया असार ३ गते एक्कासी बिरामी परेका थिए। उनका हात खुट्टा चल्न छोडेपछि काठमाडौं ल्याएर बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो।

करिब तीन हप्तासम्मको उपचारपछि रोकायालाई डिस्चार्ज गरिएको थियो। रोकायाले आफ्नो स्वास्थ्यप्रति सरकारले बेतास्ता गरेको भन्दै दुखेसो पोखेका थिए।

धावक रोकाया सामान्य हिँड्डुल गर्न सक्ने भएका छन्। तर, खान र पानीका लागि उनले अरुकै सहयोग लिइरहेका छन्।

दौडेरै गिनिज बुकमा नाम लेखेर रोकायाले नेपाललाई विश्वमा चिनाएका छन्। २०३९ सालबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुन सुरु गरेका रोकाया ३० पटकसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन्। धावक रोकायाले सन् १९८८ मा ४२ किलोमिटर ३ घण्टा ५६ मिनेट १० सेकेण्ड पूरा गरेर विश्व रेकर्ड कायम गरेका थिए। सोही रोकर्डलाई रोकाया आफैले सन् १९९२ मा ३ घण्टा ५० मिनेट २३ सेकेण्डमा पार गरेर आफ्नो तोडेका थिए।

धावक रोकायाले धेरै अवसरलाई छोडेर जुम्लाबाट खेलाडी उत्पादन गर्ने भनेर स्पोर्ट्स क्लव संचालन गर्दै आएका छन्। ५७ वर्षीय रोकायाले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गरेका छन्।

प्रकाशित : श्रावण १, २०७५ १८:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

चट्याङले लिन्छ वार्षिक २ सयको ज्यान

न्यूनीकरणका उपाय शून्य
अमृता अनमोल

बुटवल — नेपालमा वार्षिक करिब २ सयको चट्याङका कारण मृत्यु हुने गरेको छ । गृह मन्त्रालयका अनुसार पूर्वी झापादेखि रूपन्देहीसम्मको क्षेत्र चट्याङ अति प्रभावित हो । 

यहाँ चैतदेखि असारसम्म पर्ने चट्याङले दिनहुँ सरदर २ जनाको ज्यान जाने गरेको छ । चट्याङ प्रकोपले बर्सेनि धनजनको क्षति भइरहे पनि समाधानको पहल भने भएको छैन ।

अन्य प्रकोपसरह एकै ठाउँमा नआउने र एकै ठाउँमा धनजनको क्षति नहुने भएकाले चट्याङ प्रकोप व्यवस्थापनमा ध्यान नगएको सरोकारवालाको भनाइ छ ।

चट्याङ सम्बन्धमा जानकारहरूका अनुसार जमिनबाट पानीको कण वास्पीकरण भएर बादल बन्ने क्रममा धनात्मक र ऋणात्मक चार्ज उत्पन्न हुन्छ । त्यही चार्जबीचको टक्कर हुँदा करेन्टका रूपमा चट्याङ पर्छ । अमृत साइन्स क्याम्पसका प्राध्यापक तथा चट्याङविज्ञ डा. श्रीराम शर्माका अनुसार चुरे क्षेत्रका कारण नेपाल चट्याङको बढी जोखिममा छ ।

यसबारे जनचेतना अभाव र कुनै पनि सावधानी नअपनाउँदा चट्याङबाट बढी क्षति हुने गरेको हो । धेरै क्षति घर तथा भवन बनाउँदा आकाशबाट आउने करेन्ट रोक्ने उपकरण प्रयोग नगर्दा भएको छ । ‘घर तथा सार्वजनिक भवनमा धातुको प्रयोग गर्ने र चट्याङ रोक्ने उपकरण लगाउने हो भने केही हदसम्म यो प्रकोपको क्षति कम गर्न सकिन्छ,’ शर्माले भने, ‘भवन आचारसंहितामा भूकम्प प्रतिरोधी घर बनाउन अनिवार्य गरेजस्तै चट्याङ प्रतिरोधी बनाउन पनि अनिवार्य गर्नुपर्छ ।’

सरकारले सबैभन्दा पहिले विद्यालय, अस्पताललगायत सरकारी र सामुदायिक भवन चट्याङ प्रतिरोधी बनाउनुपर्ने उनले सुझाव छ । यसो गरे नागरिकलाई प्रतिबद्ध बनाउन र निजी घर बनाउँदा पनि लागू गर्न सकिने उनले बताए ।

चट्याङबारे अर्का जानकार मान थापाले यसबारे सामान्य कुरा जाने पनि बच्न सकिने बताए । ‘चर्को घाम लाग्ने समयमा सामान्यतया दिउँसो ३ देखि ८ बजेको समयमा चट्याङ बढी पर्छ,’ उनले भने, ‘घरको छत वा छानोमा फलामका रड वा धातुको प्रयोग बढी गरे घरभित्र चट्याङ पर्दैन ।’

खेतबारीको कान्लामा यो बढी पर्छ । साधारण किसानले पनि बिहान र दिउँसोको समयमा खेतबारीमा काम गर्ने तर अपराह्नपछिको समय घरमा दिने हो भने पनि क्षतिबाट बच्न सकिन्छ । प्रकोपपछिको प्रतिकार्य प्रणाली अर्थात् उद्धार र उपचारका लागि केही तदारुकता देखाउने हो भने पनि चट्याङ लागेकालाई बचाउन सकिने उनले बताए ।

गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेले बाढीपहिरोपछि बढी प्रकोप ल्याउने चट्याङ भए पनि समाधानमा पहल नभएको स्वीकारे । ‘एकै ठाउँमा क्षति नभएका कारण बेवास्तामा परेको छ,’ उनले भने, ‘अब भने निर्देशिका नै बनाएर संघ, प्रदेश र स्थानीय तहले अनिवार्य चट्याङ प्रतिरोधी घर बनाउनुपर्ने चेतना जगाउने काम गर्न निर्देशित गर्ने योजना छ ।’

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले ३ तहमा सरकार बनेकाले अब प्रत्येक प्रकोपमा ध्यान दिने बताए ।

चट्याङको प्रकोप कम गर्न प्रदेश कानुन बनाउँदा चट्याङ प्रतिरोधी घर बनाउन अनिवार्य गर्ने उनले जनाए । ‘चट्याङको प्रकोपबाट हुने क्षति घटाउन संघको समन्वयमा सीप र ज्ञान दिनेछौं,’ उनले भने, ‘स्थानीय तहसितको समन्वयमा चेतना अभिवृद्धिका कामसमेत गर्नेछौँ ।’

प्रकाशित : श्रावण १, २०७५ १८:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT