कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुरिनमा रोनाल्डोको चमक

टुरिन — क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको पहिलो पत्रकार सम्मेलनमा बसिरहँदा यो सबै वास्तविकता हो भन्ने पत्याउन गाह्रो परेको अवस्था थियो । उनी त्यहीं अगाडि थिए, जीवन्त शरीर, चिटिक्क सुट र कपाल, हँसिलो मुहार र अघिल्लो क्रममा बसेका परिवारको फोटो कैद गर्दै ।

टुरिनमा रोनाल्डोको चमक

केही साताअघि मिडियामा रोनाल्डो युभेन्ट्स आउने सम्भावना रहेको भन्ने खबर हल्लामात्र थिएन भन्ने पुष्टि भयो । त्यहाँ रोनाल्डोको प्रतिविम्ब थिएन, कासेल विमानस्थलमा उनी स्वयं उपस्थित थिए । ३३ वर्षीय विश्वस्तरीय फुटबलर, जसले रियल म्याड्रिडमा रहेर पछिल्ला तीन सिजन च्याम्पियन्स लिग उपाधि जिते । उनै रोनाल्डो एक नयाँ सुरुआतका लागि टुरिन क्लब युभेन्ट्स आइपुगे ।


‘म युभेन्ट्समा आफ्नो प्रभाव देखाउन चाहन्छु,’ उनले उद्घोष गरे, ‘यो विश्वकै उत्कृष्ट टिममध्ये एक हो र मैले यहाँ आउनेबारे केही समयअघि नै सोचिसकेको थिएँ । क्लबमा उत्कृष्ट अध्यक्ष र प्रशिक्षक रहेका छन् ।’


युभेन्ट्समात्र यस्तो क्लब हो जसले रोनाल्डोजस्ता खेलाडीलाई करिअरमा नयाँ आयाम खोज्ने प्लेटफर्म प्रदान गर्दछ । ‘म अरु खेलाडीजस्तो छैन भन्ने पुष्टि गर्न यो निर्णय लिएको हुँ, रोनाल्डोले थपे, ‘यो ठूलो क्लब हो । सामान्यत: मेरो उमेरका खेलाडी कतार वा चीन जाने गर्छन् । त्यसैले पनि करिअरको यस्तो मोडमा युभेन्ट्सजस्तो बलियो क्लबमा आबद्ध हुनु मेरा लागि खुसीको कुरा हो । मलाई यो अवसर प्रदान गरेकामा क्लबप्रति आभारी छु ।’


क्लब पनि रोनाल्डोलाई आवद्ध गर्न पाउँदा उत्तिकै खुसी देखिन्छ । सन् २००९–१० को सिजनयता ४ सय ५० गोल गरेका खेलाडीलाई क्लबले भित्र्याएको छ । यसबीचमा युभेन्ट्सका सबै फरवार्डहरूको गोल जोड्ने हो भने रोनाल्डोको संख्याभन्दा ४ गोल कम छ । युभेन्ट्सको जर्सी लगाउनुअघि नै रोनाल्डो चर्चाको शिखरमा पुगिसके । यहाँसम्म कि पछिल्लो शताब्दीमै इटालियन फुटबललाई लिएर यस्तो चर्चा भएको थिएन । रोनाल्डो क्लबमा आएको घोषणा भएको २४ घण्टामा क्लबले उनको नाम अंकित ५ लाख २० हजार प्रति जर्सी बेचिसकेको छ । क्लबले टीटरमा १० लाख फलोअर्स पनि थप्न भ्याइसक्यो ।


टुरिन शान्त सहर हो, जहाँ तडक–भडक निकै कम हुने गर्छ । यसका बाबजुद सहरको प्रतिष्ठित क्षेत्र मोल अन्टोनेलियानामा रोनाल्डो अंकित लोगो राख्ने भन्नेबारे बहस नै चल्यो । उक्त योजना सफल हुन त सकेन । क्लबले रोनाल्डोलाई समारोह गरेर मैदानमा समर्थकमाझ सार्वजनिक गर्ने कार्यक्रम पनि आयोजना गरेन । यसबारे औपचारिक धारणा पनि सार्वजनिक गरेन । हल्लाअनुसार भने क्लबभन्दा खेलाडी ठूलो हुने अवस्था नहोस् भनेर यस्तो कदम चालिएको थियो ।


रोनाल्डो टुरिनमा आएपछिका २४ घण्टा लुकाछिपीजस्तै रहे । तोकिएको समयभन्दा निकै अगाडि आएका उनी सहरको उत्तरी क्षेत्रमा पर्ने ला मान्ड्री पार्कमा क्लबका निर्देशक र पदाधिकारीसँग रात्रिभोजमा सरिक भए । उक्त पार्कमा जारी एक विवाह भोजमा रहेका झन्डै ३ सय समर्थकलाई भेट्नुबाहेक उनी सार्वजनिक स्थलमा देखिएनन् ।


पत्रकार सम्मेलनका क्रममा उनले पोर्चुगिज भाषामा नै जवाफ दिए । गार्डियनले सोधेको एक प्रश्नमा उनले अंग्रेजी प्रयोग गरे । व्यक्तिगत रूपमा कस्तो महसुस भइरहेको छ भन्ने प्रश्नमा उनले नयाँ चुनौती स्विकार्न यहाँ आएको बताए । ‘म निकै राम्रो लयमा छु र नयाँ चुनौतीको खोजमा थिएँ । मलाई थाहा छ यो कठिन हुनेछ । म यसका लागि तयार छु र युभेन्ट्स पनि तयार छ,’ उनले भने ।


रोनाल्डो करिअरका क्रममा थुप्रै पत्रकार सम्मेलनमा सहभागी भएका छन् । उनले चाहेको जवाफ दिन सक्छन् । यसका बाबजुद उनको शब्दमा शालीनता हुन्छ । एक उत्सुक खेलाडी जसले आफूलाई सिद्ध पार्ने अवसर पाएजसरी रोनाल्डोले बोले । उनले कुनै तोकिएको उपाधि जित्न आफूलाई कुनै दबाब नरहेको र व्यक्तिगत रूपमा प्रतिस्पर्धा पनि नभएको प्रस्ट पारे ।


पाँचपल्ट बालोन डी’ओर को उपाधि जितेका रोनाल्डोसँग कुनै समय पनि आत्मविश्वासको कमी देखिएन । उनीजस्ता विश्वस्तरिय खेलाडीलाई पनि यो उमेरमा यस्तो अवसर बिरलै आउँछ । ‘म २३ वर्ष होइन ३३ वर्ष भइसकें,’ रोनाल्डो आफैंले भने । केही महिनाअघि उनले एक अन्तर्वार्तामा आफ्नो मिहिनेत र खानपिनका कारण प्राकृतिक उमेर २३ जस्तो भएको बताएका थिए । सोमबार पनि रोनाल्डोले आफू युवा नै रहेको बताए । हालका लागि टुरिनका समर्थक आफ्नो सहरमा रोनाल्डो साँच्चै आएको खबरले खुसी छन् । – द गार्डियन

प्रकाशित : श्रावण २, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?