कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महत्त्वपूर्ण खुड्किलोको पथमा

वान–डे अन्तर्राष्ट्रिय
विनोद पाण्डे

काठमाडौँ — नेदरल्यान्ड्ससँग अर्को साता दुई खेलको शृंखला खेलेर नेपाल वान–डे अन्तर्राष्ट्रिय क्रिकेट क्लबमा प्रवेश गर्दै छ । फेब्रुअरीमा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा आठौं भएसँगै नेपाल वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो ।

महत्त्वपूर्ण खुड्किलोको पथमा

त्यसपछि नेपालले पहिलोपल्ट आधिकारिक वान–डे खेल्न लागेको हो । नेपालको यो यात्रा सन् १९९६ को एसीसी ट्रफीबाट सुरु भएको हो । उत्तम कर्माचार्यको कप्तानीमा नेपालले मलेसियामा पहिलोपल्ट खेलेको थियो । उनै उत्तमसहित १९९६ मा नेपालबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलेका पवन अग्रवाल र मनीषराज पाण्डे वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको स्थिति, यसको प्रभाव र उपयोगिताका बारेमा यसो भन्छन्–

-उत्तम कर्माचार्य, पूर्वकप्तान
नेपालको क्रिकेट विकासका लागि यो सकारात्मक पक्ष हो । वान–डे अन्तर्राष्ट्रिय खेल्न लागिरहँदा भएका खेलाडीलाई पनि जोश नै भयो आउँदो पुस्ताका खेलाडीलाई पनि उत्साह भयो । नेपाली क्रिकेटले फड्को मार्छ भन्ने लागेको छ । त्यसलाई वान–डे अन्तर्राष्ट्रियले ठूलो मदत गर्छ । हाम्रो पालामा सौखले खेलिएको थियो, वान–डे अन्तर्राष्ट्रिय खेल्छ भन्ने सोच राखेका थिएनौं । पछि नेपाल क्रिकेट संघमा पदाधिकारी भएर आएपछि पक्कै नेपाली क्रिकेटले वान–डे अन्तर्राष्ट्रिय खेल्छ र अगाडि बढ्छ भन्ने थियो । राष्ट्रिय खेलकुद परिषद् र संघले यसलाई जसरी विकास गर्नुपर्ने हो त्यो नगर्दा नेपाल यो स्थितिमा आउन यति धेरै समय लागेको हो । नेपालको क्रिकेटलाई कसरी अगाडि बढाउने, कुन नीतिसँग अगाडि बढाउने भन्ने नयाँ सोच नै आएन । पुरानै ढर्रामै चलिरहयो, यसले गर्दा पनि नेपालमा क्रिकेट पछाडि परेको हो । पछिल्लो ६–७ वर्ष विवादले घेरिएको हुनाले पनि नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल्न यति लामो समय कुर्नुपरेको हो । हामीसँगैं खेलेको बंगलादेश, हामी पछि आएको अफगानिस्तान वान–डे अन्तर्राष्ट्रिय हुँदै टेस्ट मान्यता पाएर स्थापित भइसके । हामी भने पुरानै सोच र ढर्रामा चलिरहेकाले बल्ल खेल्ने मौका पायौं ।


वान–डे अन्तर्राष्ट्रियले नेपालको क्रिकेटमा राम्रो असर पार्छ । मौकाहरू हुने हुनाले खेलाडीलाई जाँगर दिन्छ । उनीहरूको पनि महत्त्वाकांक्षा बढ्छ । क्रिकेटमा पनि विकासको राम्रो फड्को मार्छ । यसको उपयोग गर्न घरेलु क्रिकेट संरचना पनि फेरबदल गर्नुपर्छ । जहिल्यै पनि क्षेत्रीय स्तर भनेर अब चल्दैन । एउटै प्रतियोगितामा हामी रुमल्लिरहेका छौं । २–४ वटा नयाँ खाले प्रतियोगिता ल्याउनुपर्छ । यो ४ वर्षमा वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएका देशहरूसँग बढीभन्दा बढी खेलेर आफूलाई स्थापित गर्ने प्रयासमा रहनुपर्छ ।

-पवन अग्रवाल, पूर्वकप्तान
नेपालले वान–डे अन्तर्राष्ट्रिय खेल्न पाउनु गौरवको क्षण हो । लामो यात्रामा ढिलै भए पनि हामी यहाँ आइपुगेका छौं । नेपालको क्रिकेटलाई अझ माथि पुर्‍याउन महत्त्वपूर्ण खुड्किलो पार भएको छ । यो निकै जरुरी पनि थियो । वान–डे अन्तर्राष्ट्रिय एकदमै सही समयमा आएको छ । हामी खेलाडी हुँदा पनि नेपालले एकदिन वान–डे अन्तर्राष्ट्रिय खेल्छ भनेर सोचेका थियौं, नसोचेको होइन । तर अलिकति ढिला भयो । हामीले १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट सुरु गर्दाखेरि कम्तीमा १० वर्षमा वान–डे अन्तर्राष्ट्रिय मान्यता पाइन्छ की जस्तो लागेको थियो । व्यवस्थापन हाम्रो जहिले पनि बाधक रहयो । हाम्रो क्रिकेटको कहिल्यै पनि सही व्यवस्थापन भएन । सुरुका दिनमा अलिकति अप्ठयारो आफैमा थिए किनभने क्रिकेट त्यस्तो लोकप्रिय थिएन । पछिका दिनमा हामीले अवसरहरू गुमाएकै हौं । व्यवस्थापन राम्रो भए प्रदर्शन आउने हो, अहिले केही नहुँदा पनि प्रदर्शन आएको छ । लगानी, तयारीअनुरुप प्रदर्शन आउने हो । अहिले पनि तयारी छैन, पहिले पनि तयारी थिएन । तयारी राम्रो भएको भए हाम्रो खेलाडीको प्रदर्शन राम्रो हुन्थ्यो र नतिजा पनि त्यहीअनुसार आउन सक्थ्यो । अहिले तयारी नभए पनि खेलाडीहरू प्रतिभाशाली छन् । विश्व क्रिकेट लिग आएपछि अन्तर्राष्ट्रिय एक्सपोजर पनि बढेको छ । सुरुका दिनमा टिमलाई अन्तर्राष्ट्रिय एक्सपोजर कम थियो ।
वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाल पनि क्रिकेट नक्सामा आयो । क्रिकेटबाहेकको अरु राष्ट्रले पनि थाहा पाउने भए । विभिन्नखाले अवसरहरू सिर्जना पनि गर्छ यसले । द्विपक्षीय शृंखलाको अवसर खोलेको छ । नेपालको क्रिकेटलाई व्यावसायीकरण गर्न बाटो खुलेको छ । यसको धेरै ठूलो महत्त्व छ, हामीले यसको महत्त्व बुझ्न जरुरी छ । यो अवसरलाई ४–५ वर्ष राम्रोसँग सदुपयोग गर्‍यौं भने टेस्टको बाटोमा हिँडिहाल्छौं । क्रिकेटलाई व्यावसायिक गरेर आर्थिक स्रोत बलियो बनाउँदै त्यसलाई घरेलु संरचना र घरेलु क्रिकेट विकासमा पूर्ण प्रयोग गर्नुपर्छ ।


-मनीषराज पाण्डे, पूर्व खेलाडी
हाम्रो क्रिकेटमा जो पनि लागेका हुन्छन् उसको माथिल्लो होस् वा खेल्ने लक्ष्य वान–डे अन्तर्राष्ट्रिय हुन्छ । त्यहाँसम्म पुग्छौं भन्ने सबैको चाहना हुन्छ । हामी अहिले ठ्याक्कै त्यही सपनालाई विपनामा परिणत गर्दै छौं । जे खोजेका थियौं त्यो हासिल गर्नेक्रममा धेरै अगाडि बढेका छौं । हामी खेल्दा वान–डे अन्तर्राष्ट्रिय स्तरमा पुग्छौं त नभनौं नेपाली अगाडि बढ्ला भन्ने थियो । यो स्थितिमा आइपुग्छौं भनेर सोचेका थिएनौं । हामीले १९९६ मा पहिलो अन्तर्राष्ट्रिय खेल्दा पहिलो खेल बंगलादेशसँगै खेलेका थियौं । बंगलादेशले छिटो प्रगति गर्‍यो र टेस्ट मान्यता पाइहाल्यो । बंगलादेशले त यति छिटो पायो अब हामीले पनि पाउला भन्ने लाग्न लाग्थ्यो तर बल्ल हामी त्यो स्थितिमा आइपुग्यौं ।


हामी योजनाबद्ध हिसाबमा कहिल्यै पनि अगाडि बढेनौं । हाम्रो गन्तव्य कहाँ हो ? लक्ष्य के हो ? के गर्ने हो ? केही थिएन । प्राविधिक विषय आएमा त्यसलाई चाहिने के हो भन्ने पनि थाहा थिएन । त्यसलाई कसरी इम्प्रुभ गर्ने भन्ने नै थिएन । सबैभन्दा महत्त्वपूर्ण भौतिक पूर्वाधार पनि हो । घरेलु क्रिकेट पनि त्यो स्तरमा अहिले पनि पुगेकै छैन । जे–जे आइपर्छ हेर्दै जाउँला भनेर काम गरेर नेपाली क्रिकेट यहाँसम्म आइपुगेको हो । छिटो गरेको भनेको खेलाडीको प्रदर्शनमात्र हो । विभिन्न समयमा त्यस्तै किसिमका खेलाडी आएकाले नेपाल आज वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको हो । व्यवस्थापनको पक्ष अहिले पनि देख्न सकिन्छ । खेलाडीलाई कसले हेर्ने, अरु कसले व्यवस्थापन गर्ने हो केही थाहा हुँदैन । यस्तै रहने हो भने ४ वर्षलाई वान–डे अन्तर्राष्ट्रिय मान्यता पायो भनेर रमाउने मेलो मात्र हुन्छ । यसलाई उपयोग गर्ने, संस्थागत गर्ने विषयमा सधैं पछि नै पर्छौ । विगत छाड्ने हो भने नेपाली क्रिकेटलाई राम्रोसँग अगाडि बढाउने बेला अहिले हो । समय पनि प्रशस्त छ ।


अहिले हामी नेदरल्यान्ड्ससँग खेलेर वान–डे अन्तर्राष्ट्रिय यात्रा सुरु गर्दैछौं । नेपालको लक्ष्य टेस्ट क्रिकेट पनि हो । त्यसका लागि केही गरेर देखाउनुपर्ने सही समय अहिले नै हो । टेस्ट क्रिकेटका लागि यो महत्त्वपूर्ण खुड्किलाको रूपमा आएको छ । अहिले जस्तो जेनतेन चलाएर अब हुँदैन । किनभने पूर्वाधारमै हामी धेरै पछाडि छौं ।

प्रकाशित : श्रावण ९, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?