कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेलिगेसन नहुने ‘ए’ डिभिजन

‘नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेका हौं ।’
सुबास हुमागाईं

काठमाडौँ — ‘नेपाली फुटबलमा तुरुन्तै, १–२ महिनाभित्र नै लिग सञ्चालन गर्ने क्षमता हामीसँग छ ।’२०७४ माघ २७, एन्फाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा कार्यक्रममा कर्माछिरिङ शेर्पाले यस्तो अभिव्यक्ति दिएका थिए । २०७५ वैशाख २२ गते एन्फा निर्वाचनबाट शेर्पाको प्यानल नै अत्यधिक मत प्राप्त गर्दै निर्वाचित भयो ।

रेलिगेसन नहुने ‘ए’ डिभिजन

चुनावपछि लिग सञ्चालनका लागि विज्ञानराज शर्माको संयोजकत्वमा समिति गठन पनि भयो । क्लबहरूसँग विभिन्न चरणका बैठकपछि लिग सुरु हुने मिति तय भयो असोज १३ लाई । तर समस्या, लिग रेलिगेसनबिनाको हुने भन्ने निष्कर्ष आयो । यो विषयलाई लिएर मत विभाजन भयो ।

अन्तत: लिगमा रेलिगेसन नहुने नै पक्का भयो । प्रारम्भिक चरण बैठकमै केही क्लबहरूले रेलिगेसनबिनाको लिग गर्ने प्रस्ताव अगाडि बढाए पनि संयोजकलगायत केही क्लबले त्यसलाई नकारेका थिए । तर फिफा प्रतिनिधिसहितको अर्को बैठकमा केही क्लबहरूले लिग नै नखेल्ने ढिपी कसेपछि फिफाले एकपटक रेलिगेसनबिनाको लिग गर्न अनुमति दिएको थियो ।

अखिल नेपाल फुटबल संघले बुधबार राजधानीमा ए, बी र सी डिभिजनका क्लबहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा लिगबारे पनि चर्चा भयो । सहभागी क्लबका प्रतिनिधिलगायतले आ–आफ्नो विचार राखे । अध्यक्ष शेर्पाले कार्यक्रमपछि बोल्दै नियमित रेलिगेसनसहित लिग सञ्चालन गर्न एक वर्ष समय लाग्ने हुनाले यसपालि फुटबलको माहोल ल्याउन रेलिगेसनबिनाको लिग गर्न लागेको बताए । ‘साँच्चै लिग गर्ने हो भने एक वर्षअघि क्लबहरूलाई खबर गर्नुपर्छ । तर यसपल्ट नेपाली फुटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको लिग गर्न लागेका हौं । एक–दुई महिनाअघि खबर गरेर कुनै पनि क्लब रेलिगेसनसहितको लिग खेल्दैन । खेलाडीको कमी, समय अभाव र क्लबहरू मानसिक रूपमा तयार नभएका कारण यस्तो निर्णय लिन बाध्य भएका हौं,’ शेर्पाले प्रस्टयाए ।

संक्रमणकालीन स्थितिमा रहेको नेपाली फुटबललाई नयाँ निकास दिन यो कदम अपरिहार्य भएको शेर्पाको बुझाइ छ । ‘म आफैंले पनि सी डिभिजनको बाटो हुँदै ए डिभिजनसम्म क्लबलाई ल्याएको छु । लिग फुटबलको मर्म मैले आफैं भोगेको छु । तर अहिलेको स्थितिमा रेलिगेसन गर्दा लिगमा ९ क्लबले सहभागिता नजनाउने स्थिति आयो । अहिले पूर्वाधार, खेलाडी र क्लबहरूको आर्थिक स्थिति कमजोर भएको अवस्थामा हामीले रेलिगेसनबिनाको लिग गर्नुको विकल्प भएन,’ अध्यक्ष शेर्पाले थपे ।

क्लबहरू पछाडि हटे
राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबलगायत अन्य क्लबले रेलिगेसनबिनाको फुटबल नखेल्ने अडान लिए पनि फुटबल नै नहुने स्थितिमा पुग्न लागेपछि पछाडि हट्नुपरेको क्लबका महासचिव सन्जिव सिल्पकारले बताए । ‘पछिल्लोपल्ट एएफसी कपको विवादका कारण हामी फुटबलमा सरिक भएनौं । हामीले हदसम्म लचकता अपनाएर घरेलु फुटबल सुचारु गर्ने वातावरण सिर्जना गर्‍यौं । अहिले पनि हामीले लिगको मर्यादा कायम राख्न रेलिगेसन हुनुपर्ने अडान लिएका थियौं । तर एन्फा पदाधिकारी र फिफा प्रतिनिधिकै आग्रहमा विकल्प नहुँदा हामीले फुटबल गतिविधि अगाडि बढाउन सहमत भएका हौं,’ उनले भने ।

शीर्ष श्रेणीको लिगमा रेलिगेसन नहुनाले तल्लो श्रेणीका क्लबहरूलाई भने महत्त्व नदिइएको गुनासो झम्सिखेल युवा क्लबका प्रशिक्षक पुरुषोत्तम थापामगरको छ । ‘ग्रासरुट र खेल विकासलाई प्राथमिकतामा राखिने भनिए पनि शीर्ष श्रेणीको लिगलाई मात्र अगाडि सारिएको छ । तल्लो श्रेणीको फुटबल माथिल्लो श्रेणीको जग भएकाले यसलाई बेवास्ता गर्नु हुँदैन,’ ललितपुर जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका उनले थपे, ‘चुनावी प्रतिशोधका कारण पनि बी डिभिजनका क्लबहरूलाई सिध्याउने प्रयास भइरहेको छ । संस्थामा चुनाव हुने लोकतान्त्रिक पद्दति हो । पदमा आएपछि प्रतिशोधको भावनाभन्दा पनि एकीकृत भएर कसरी फुटबल विकासमा सँगै बढ्ने भन्ने सोच्नुपर्छ ।’ यता अध्यक्ष शेर्पाले भने त्यसको खण्डन गर्दै आफूले सबैलाई समेटेर लाग्ने प्रयास भइरहेको बताए ।

क्लब इमान्दार हुनुपर्छ : मिश्र
एन्फाले साउन १ बाट लिग आयोजनाका लागि सन्जिव मिश्रलाई लिग निर्देशकमा नियुक्त गरेको छ । पछिल्लो कार्यसमितिमा विकास निर्देशकको भूमिकामा रहेका मिश्रले यसपल्ट रेलिगेसन नभए पनि लिगलाई सही किसिमले अगाडि बढाउन सक्दो प्रयास गर्ने बताए । ‘क्लबहरूसँगको छलफलपछि कार्यसमितिले नै रेलिगेसनबिनाको लिग गर्ने निर्णय पारित गरिसकेको जानकारी पाएको छु । नेपाली फुटबलको वर्तमान परिस्थिति ध्यानमा राखेर यो निर्णय लिइएको हो । अब रेलिगेसन नभए पनि यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नियमावलीमा विभिन्न प्रावधान राखेर लिगको मर्यादा कायम गरेर आकर्षक बनाउन सकिन्छ,’ उनले भने ।

मिश्रका अनुसार पछिल्लोपल्ट बी र सी डिभिजनको मात्र लिग भएको र यसपालि ए डिभिजन लिग गरेपछि अर्को वर्षबाट तीनवर्षे प्रणालीमा तीनै श्रेणीको लिग सन्तुलित बनाउन सकिनेछ । उनले रेलिगेसन नहुने लिगमा क्लबहरूको इमान्दारिता महत्त्वपूर्ण हुने बताए । ‘एन्फाले चार वर्षपछि लिग आयोजना गर्न लागेको हो । फुटबल विकासमा एन्फासँगै क्लबहरूको पनि उत्तिकै भूमिका हुन्छ । क्लबले इमान्दारीसाथ लिगमा प्रतिस्पर्धा गरेमात्र अगाडि बढ्न सकिन्छ,’ उनले भने ।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपाने रेलिगेसन नहुने लिगले प्रतियोगिता नै औचित्यहीन हुने बताउँछन् । ‘खेलमा हार–जित हुन्छ । तर अब रेलिगेसन नै नहुने लिग आयोजना हुन्छ भने क्लबहरूबीच प्रतिस्पर्धाको भावनामै प्रश्न उठ्छ । यसै खेलाडीको कमी भइरहेको अवस्थामा मध्यम स्तरको क्लबले पनि आर्थिक रूपमा खर्च नगरेर औसत टोली निर्माण गर्ने सम्भावना रहन्छ । यसले लिगमा प्रतिस्पर्धा त कम हुन्छ नै, योग्य खेलाडी क्लबविहीन बन्नुपर्ने अवस्था सिर्जना हुनसक्छ,’ उनले समस्याप्रति इंगित गरे ।

ठूला टोली उपाधिका लागि भिड्ने र अन्य टोली प्रतिस्पर्धामा नउत्रने सम्भावनाले लिगलाई विकासको उँधोगतितर्फ धकेल्ने उनको बुझाइ छ । ‘शीर्ष श्रेणीको लिग भने देशको फुटबलको प्रतिबिम्ब हो । यसले नै राष्ट्रिय टोलीको छनोटदेखि भविष्यका प्रतिभालाई पनि बाधा पुग्नसक्छ । एक हिसाबले लिग सुचारु हुनुले खेलाडी मर्कामा पर्दैनन्, तर लिगको औचित्य नै नहुने हो कि भन्ने डर भने रहन्छ,’ न्यौपानेको तर्क थियो ।

पछिल्लोपल्ट २०७० सालमा आयोजित ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लबले उपाधि जित्दा रानीपोखरी कर्नर टिम (आरसीटी) र ब्वाइज युनियन क्लब रेलिगेसनमा परेका थिए । आर्थिक अवस्था कमजोर भएको कारण देखाउँदै न्युरोड टिम (एनआरटी) ले उक्त लिगमा सहभागिता जनाएन र तल्लो श्रेणीमा घटुवा भयो । यी तीनै क्लबले गत वर्ष बी डिभिजन लिगमा प्रतिस्पर्धा गरिसके । उक्त लिगबाट एनआरटी र च्यासल युथ क्लब माथिल्लो श्रेणीमा बढुवा भए । अब हुने ए डिभिजन लिगमा दुवै क्लब शीर्ष श्रेणीमा प्रतिस्पर्धा गर्ने तरखरमा छन् ।

प्रकाशित : श्रावण १०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?