कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

रासस

काठमाडौँ — नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ । 

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले उपाधि जितेको हो । खेल जारी रहेकै बेला रातपरेपछि खेल बीचमै रोकेर पेनाल्टीमार्फत विजेता घोषित गरिएको थियो ।


विजेता टोली प्रिन्टका लागि पून्यवती ढकाल र भाषा शर्माले गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले मात्र गोल गर्न सकिन्, अन्य खेलाडीले हानेको पेनाल्टीले गोलपोष्टको दिशा लिन सकेन ।


प्रतियोगितामा रेडियो र टेलिभिजनले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे । निर्धारित २० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि दुवै टोलीलाई तेस्रो भएको घोषणा गरिएको थियो ।


विजेता टोली रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।


विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरे ।


यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले खेलकुद क्षेत्रका समस्याबारे पत्रकारहरुले आ–आफ्नो मिडियाबाट खबरदारी गर्न आग्रह गरे ।


खेलकुदको क्षेत्रबाट मुलुकको समृद्धि गर्न सकिने बताउँदै उनले नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल मैदान निर्माण थालिने बताए । मन्त्री विश्वकर्माले विजेता टोलीले प्राप्त गर्ने गरी प्रोत्साहनस्वरुप रु १० हजार महासंघका कोषाध्यक्ष राजेश मिश्रलाई हस्तान्तरण गरे ।

प्रकाशित : श्रावण १२, २०७५ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?