नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा 

विनोद पाण्डे

काठमाडौँ — कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ ।

रमन सिवाकोटीको फेसबुकबाट साभार तस्बिर

उनले ‘हेड अथवा टेल’ भन्नेछन्। पारसले त्यसमा एउटा छान्ने छन्। त्यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रमा प्रवेश गर्नेछ।

Yamaha

नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ।

हाल एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका १६ राष्ट्र मात्र छन्। त्यसभित्र टेस्ट खेल्ने १२ राष्ट्र पर्छन्। नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड र यूएई भने एकदिवसीय अन्तर्राष्ट्रिय मात्र खेल्नेछन्। टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्सले माथिल्लो वरीयतामा प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बाँकी अन्यले भने अर्को वरीयतामा खेल्नेछन्।

‘वर्षौंदेखि नेपाली क्रिकेटसँग सम्बन्धित व्यक्तिहरूले गरेको मिहिनेत, इमानदारिता र कामको फल उब्जेको दिन हो आज,’ पारसले नेदरल्यान्ड्सबाट कान्तिपुरसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको दिनलाई व्याख्या गरे।

उनकै कप्तानीमा नेपालले २०१४ मा टवान्टी–२० विश्वकप खेलेको थियो। अहिले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि एक कदम पाइला बढाएको हो।

नेदरल्यान्ड्ससँगको खेलबाट नेपाल ऐतिहासिक रूपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्लबमा प्रवेश गरे पनि वरीयतामा आउन कम्तीमा चार एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नुपर्नेछ। नेदरल्यान्ड्ससँग नेपालले दुई खेल खेल्नेछ।

हाल युरोप भ्रमणमा रहेको नेपालले स्कटल्यान्डसँग पनि दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम बनेको थियो। खर्च अभावमा स्कटल्यान्डले पछि खेल्न मानेन। त्यसैले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयतामा आउन केही समय कुर्नुपर्ने भएको छ।

‘हामी कहाँ थियौं र अहिले कहाँ आइपुग्यौं भनेर सोच्दा नै अचम्म लाग्छ,’ कप्तान पारसले आईसीसीसँग भनेका छन्। आठ वर्षअघि मात्र नेपाल विश्व क्रिकेट लिगको डिभिजन ५ मा थियो। डिभिजन क्रिकेटमा यो सबैभन्दा पुछारको लिग थियो त्यतिखेर।

यसका लागि नेपालले लामो यात्रा तय गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको २२ वर्षपछि नेपाल यो स्थितिमा आइपुगेको हो। विश्व क्रिकेट लिगको मुख्य संरचनामा त नेपाल १० वर्षअगाडि मात्र आएको हो। विश्व क्रिकेट लिगको संरचनामा नआई कुनै राष्ट्र माथिल्लो श्रेणीमा पुग्न सक्दैन।

सन् २०१२ मा डिभिजन ४ र २०१३ मा डिभिजन ३ जितेको नेपाल २०१४ को विश्वकप छनोटबाट रेलिगेसन भएपछि डिभिजन ३ मा झरेको थियो। अर्को वर्ष पुन: डिभिजन ३ जितेको नेपालले डिभिजन २ मा अडिएर विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो।

च्याम्पियनसिपमा ८ टोलीमा सातौं भएको नेपालले फेब्रुअरीमा पुन: डिभिजन २ खेलेको थियो। फाइनल पुगेर विश्वकप छनोटमा पुगेको नेपालले त्यही आठौं स्थान हात पारेपछि ऐतिहासिक छलाङ मार्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।

‘आशा छ हामीले यो प्रदर्शनलाई निरन्तरता दिनेछौँ किनभने हाम्रो आगामी लक्ष्य टेस्ट खेल्ने राष्ट्र बन्नु हो,’ पारसले भने, ‘हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन धेरै मिहिनेत गर्‍यौं। नेदरल्यान्ड्ससँगको खेल हामीलाई प्रस्फुटन हुने मौका पनि हो। यहाँको अनुभवको आनन्द लिँदै राम्रो प्रदर्शन गर्ने आशा लिएका छौँ।’

प्रकाशित : श्रावण १६, २०७५ ०६:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वादी/प्रतिवादीका बीचमा टीकाटालो  

कृष्ण ज्ञवाली

काठमाडौँ — गत असारको अन्तिम साता कामु प्रधानन्यायाधीश दीपकराज जोशीको छोरीको टीकाटालो भयो । राजधानीको एक होटलमा आयोजित इन्गेजमेन्ट (टीकाटालो) कार्यक्रममा केही सय निम्तालु पुगेका थिए । त्यहाँ उपस्थित केही पात्र भने आगन्तुकका लागि आश्चर्यको विषय बने । ती पात्रका कारण केही न्यायाधीशहरूले कामु प्रधानन्यायाधीश जोशीलाई मुखमात्रै देखाएर फर्किए । 

प्रस्तावित प्रधानन्यायाधीशको छोरीको टीकाटालोको लागि होटल अन्नपूर्णमा पुगेका सर्वोच्च अदालतका न्यायाधीशहरु टंकबहादुर मोक्तान र बमकुमार श्रेष्ठका बीचमा नारायण दाहाल ।

इन्गेजमेन्ट कार्यक्रममा भ्रष्टाचारको आरोप लागेका चूडामणि शर्मा, विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा सफाइ पाई सर्वोच्च अदालतमा मुद्दा बोकिरहेका पूर्वसांसद ल्हारक्याल लामा, क्यासिनो रोयलका सञ्चालक सुरेश सिंहलगायत सहभागी थिए । एक प्रत्यक्षदर्शीका अनुसार कामु प्रधानन्यायाधीश जोशीले आफ्ना नजिकका मित्र भन्ने गरेका नारायण दाहालले आगन्तुकलाई स्वागत गरिरहेका थिए । कान्तिपुरसँगको कुराकानीमा केही न्यायाधीश र न्याय प्रशासनका उच्च अधिकारीहरूले ती व्यक्ति पार्टीमा सहभागी भएको पुष्टि गरे ।

न्यायाधीशहरूको आचारसंहिता २०६५ को बुँदा ३.२ मा ‘न्यायाधीशले आफ्नो सामाजिक सम्बन्ध सतर्कतापूर्वक कायम गर्नुपर्छ । सामाजिक सम्बन्धका कारणले न्याय सम्पादनमा पर्न सक्ने प्रभाव र विशेष गरेर आफूले निरूपण गर्नुपर्ने विवादका पक्षबाट पर्न सक्ने प्रभावबाट स्वतन्त्र रहनुपर्छ’ भनी उल्लेख छ । त्यस्तै ४.२ मा ‘कुनै पनि व्यक्तिसँग अनावश्यक रूपमा सम्बन्ध वा सम्पर्क बढाएको कारणबाट विवादको सुनुवाइ वा निरूपण गर्न अयोग्य हुने स्थिति सिर्जना नहोस् भन्ने हेतुले न्यायाधीशले त्यस्ता सम्भावनाबाट टाढै रहनुपर्छ’ भनिएको छ । जोशीले भने आफ्नो पारिवारिक कार्यक्रममा मुद्दाका पक्षलाई नै घरमा निम्त्याएका हुन् ।

टीकाटालो कार्यक्रममा निम्त्याइएका चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दुइटा भ्रष्टाचार मुद्दा विचाराधीन छन् । कामु प्रधानन्यायाधीश जोशी नेतृत्वको ५ सदस्यीय इजलासले कर फस्र्योटका क्रममा ११ अर्ब रुपैयाँको अनियमिततामा मुछिएर भ्रष्टाचार मुद्दा चलाइएका आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्मालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो । जोशी नेतृत्वको ५ सदस्यीय पूर्ण इजलासले प्रमाण लोप गर्ने अवस्था नभएको, सरकारले उठाउन नसकेको धरौटीलाई नै बिगो कायम गरिएको भन्दै शर्माको थुनालाई गैरकानुनी ठहर गरेको थियो । मुद्दा हेर्ने सुरुको अदालतमा विवाद प्रवेश गरिसकेको अवस्थामा बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायको मान्य सिद्धान्त र नजिरविपरीत रिट जारी गरेको भनी चर्को टीकाटिप्पणीसमेत भएको थियो ।

विशेष अदालतबाट सफाइ पाए पनि त्यसविरुद्धको पुनरावेदन मुद्दामा पूर्वसांसद ल्हारक्याल लामा प्रतिवादी छन् । उनीसमेत जोशीको पार्टीमा निम्त्याइएका थिए । अख्तियारले ९ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा लामाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लामाविरुद्धको मुद्दा विशेष अदालतबाट करिब ६ महिनामै टुंगिएको थियो । सर्वोच्चकै दबाबका कारण विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराईले छिटो मुद्दा टुंग्याइदिएको आरोपसमेत लागेको थियो ।

पार्टीमै सहभागी भएका अर्का व्यक्ति सुरेन्द्र सिंह रोयल क्यासिनोको सञ्चालक हुन् । उनको गिल्ड इन्भेस्टमेन्ट प्रालिका तर्फबाट मनोज सुवेदीले दायर गरेको रिट निवेदनमा तत्कालीन न्यायाधीश दीपकराज जोशीकै एकल इजलासले २०७१ असोज २ मा अन्तरिम आदेश दिएको थियो । सुविधा र सन्तुलनका आधारमा दिइएको अन्तरिम आदेशमा भनिएको छ, ‘संस्कृति मन्त्रालयको निर्णयमा कार्यगत त्रुटि देखिँदा रोजगारीको हकमा आघात पुग्ने र सम्पत्तिको हकमा अपूरणीय क्षति हुने हुँदा रिटको टुंगो नलागेसम्म अन्तरिम आदेश जारी गरिएको छ ।’

कुनै मुद्दामा प्रत्यक्ष नजोडिए पनि सबैजसो मुद्दामा चासो र रुचि राख्ने नारायण दाहाल पार्टीमा प्रमुख व्यवस्थापककै रूपमा खटिएको स्रोतले जनायो । २०७४ साउनको अन्तिम साता चूडामणि शर्मा थुनामा हुँदा उनले निकै सक्रियता देखाएका थिए र विवादमा समेत मुछिए । विभिन्न मुद्दामा दाहाल जोडिएपछि जोशीका केही शुभचिन्तकले दाहालसँगको उठबस वा प्रधानन्यायाधीशको आकांक्षामा दुईमध्ये एक रोज्न सुझाव दिएका थिए ।

‘मुखले दाहालको संगत छाडिसकें भने पनि जोशी सधैं शंकास्पद व्यक्तिहरूको घेरामै रहने गरेको सूचना आएको छ,’ संसदीय सुनुवाइ समितिका एक सदस्यले भने, ‘यसबारे हाम्रो प्रश्नको समेत चित्तबुझो जवाफ आएन ।’ समितिमै समेत नारायण दाहालको नाम संकेत गरेर सांसदहरूले बिचौलियाको घेरामा रहेको बारे प्रश्न गरेका थिए । जवाफमा जोशीले ‘अदालतले दोषी ठहर नगरेसम्म कसैलाई आरोप लगाउन नहुने’ जवाफ दिए । उनले गत साता सुनुवाइमा भनेका थिए, ‘परेछ भने ठहर भएपछि भनौंला ।’

प्रकाशित : श्रावण १५, २०७५ २१:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT