कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशलाई शृंखला

एएफपी

लाउडरहिल, अमेरिका — एन्ड्रे रसेलको विष्फोटक इनिङ्स पन्छाउँदै बंगलादेशले सोमबार बिहान वर्षाले प्रभावित दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा वेस्ट इन्डिजमाथि १९ रनको विजय हात पारेको छ । नतिजासँगै बंगलादेशले अमेरिकामा भएको शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ ।

बंगलादेशलाई शृंखला

रसेलले २१ बलमा ४७ रन बनाउने क्रममा ६ विशाल छक्का र १ चौका प्रहार गरेका थिए । यसले फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रंगशालामा बंगलादेशले बनाएको १८४–५ को चुनौतीपूर्ण स्कोरलाई क्यारेबियन टोलीले पन्छाउने संकेत देखाएको थियो ।

रसेलले १८ औं ओभरको पहिलो बलमा देब्रेहाते सिमर मुस्ताफिजुर रहमानको बलमा आउट भए । खेलमा उनले लिएको यो तेस्रो विकेट थियो । यो सँगै वेस्ट इन्डिजको आशा पनि समाप्त भइसकेको थियो । १७.१ ओभरको खेलको उक्त समयमा वेस्ट इन्डिज १३५–७ को स्थितिमा थियो । त्यही समयमा भारी वर्षा भएपछि थप खेल हुन सकेन र पूरा २० ओभर खेल हुन पाएन । डकवर्थ लुइस पद्दतिमा बंगलादेश अगाडि रहयो ।

वेस्ट इन्डिजले बंगलादेशलाई दुवै टेस्टमा पराजित गरेको थियो । तर एसियाली टोलीले वान–डे र ट्वान्टी–२० अन्तर्राष्ट्रिय दुवै शृंखला २–१ ले जित्यो । लिटोन दासले आफ्नो खेलजीवनकै उच्च प्रदर्शन गरेपछि बंगलादेशले बलियो स्कोर बनाएको थियो । उनले ३२ बलमा ६१ रन बनाउनेक्रममा ६ चौका र ३ छक्का प्रहार गरे ।

बंगलादेशका खेलाडीले २१ बलमा सबैभन्दा छिटो बनाएको अर्धशतकभन्दा उनी थोरैले मात्र पछाडि रहे । उनले अनुभवी ओपनिङ जोडी तमिम इकवालको अगाडि अझ परिपक्व खेल प्रदर्शन गरे । यी दुईले ४.४ ओभरमा ६१ रन जोडेका थिए । तमिम २१ रनमा आउट भए । किमो पाउलले लगातार दोस्रो खेलमा सौम्य सरकारलाई सस्तैमा आउट गर्नेक्रममा ५ रनमै पेभेलियन पठाएर वेस्ट इन्डिजलाई पुनरागमन गराए ।

कार्लोस ब्राथवेटले मुस्फिकर रहिमलाई १२ रनमा र केसरिक विलियम्सले लिटोनलाई आउट गरेपछि बंगलादेशको इनिङ्स धर्मराउन पुग्यो । तर महदुमुल्लाहले नटआउट ३२ रन बनाउँदै आरिफुल हकसँग ३८ रनको साझेदारी गरेपछि बंगलादेशको स्कोर बलियो भएको हो । त्यसअघि कप्तान शकिब अल हसन २४ रनमा आउट भएका थिए ।

प्रकाशित : श्रावण २२, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?