कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली खेलाडी वान–डे वरीयतामा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले वान–डे अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेसँगै नेपाली खेलाडी पनि वरीयतामा छिरेका छन् । नेपालले अगस्ट १ र ३ मा नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला खेल्दै वान–डे अन्तर्राष्ट्रियमा प्रवेश गरेको थियो । नेदरल्यान्ड्सले पनि २०१४ पछि वान–डे अन्तर्राष्ट्रियमा पुनरागमन गरेको हो ।

नेपाली खेलाडी वान–डे वरीयतामा

दोस्रो खेलमा ३ विकेट लिँदै नेपाललाई १ रनको महत्त्वपूर्ण जित दिलाउन भूमिका खेलेका लेग स्पिनर सन्दीप लामिछाने बलरको वरीयतामा २ सय १७ औं स्थानमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जनाएको छ । उनले शृंखलामा कुल ४ विकेट लिएका थिए ।

तीव्र गतिका बलर सोमपाल कामी २ सय १८ औं स्थानमा छन् । नेपालको ‘डेब्यु’ खेलमा ४ विकेट लिएका कप्तान पारस खड्का २ सय ३८ औं स्थानमा छन् । अलराउन्डरको सूचीमा सोमपाल १ सय ९९ र पारस २ सय २१ औं स्थानमा छन् । सोमपालले दोस्रो खेलमा ६१ र पारसले ५१ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो खेलमा ५१ रन बनाएका थिए । वान–डे अन्तर्राष्ट्रिय ब्याटिङको वरीयतामा सोमपाल २ सय २९, ज्ञानेन्द्र २ सय ३६ र पारस २ सय ४८ औं स्थानमा छन् ।

नेपाल र नेदरल्यान्ड्स अझै वान–डे अन्तर्राष्ट्रिय वरीयतामा आउन सकेका छैनन । वरीयतामा आउन एउटा राष्ट्रले कम्तीमा चार वान–डे अन्तर्राष्ट्रिय खेल खेलेको हुनुपर्छ ।

प्रकाशित : श्रावण २९, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?