कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लर्डसको प्रदर्शन सुधार्नुपर्ने’

एएफपी

लन्डन — इंग्ल्यान्डसँग लर्डसको दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ५९ रनको पराजय भोगेपछि विराट कोहलीले आइतबार भारतले अझै त्योभन्दा राम्रो खेल्नुपर्ने बताएका छन् ।

‘लर्डसको प्रदर्शन सुधार्नुपर्ने’

कोहलीले भारतीय कप्तानका रूपमा सबैभन्दा ठूलो पराजय चौथो दिनको खेलको चियापछि पाए । उनको टोली ५ टेस्टको शृंखलामा २–० ले पनि पछाडि परेको छ । जबकि टेस्ट वर्षाले पूरै प्रभावित छ । पहिलो दिनको खेल हुनै सकेको थिएन । भारत पूरा दुई दिनको खेल भएको अवस्थामै इंग्ल्यान्डसँग धराशायी भएको हो ।

जो रुटको टोलीको बलिङ आक्रामणविरुद्ध भारतीय ब्याट्सम्यान आशाहीन जस्तै थियो । जेम्स एन्डरसनको नेतृत्वमा रहेको इंग्ल्यान्डको बलिङ आक्रामणले परम्परागत इंग्लिस स्वीङमैत्री कन्डिसनको भरपूर फाइदा उठाउँदै भारतलाई पहिलो इनिङ्समा १ सय ७ र दोस्रोमा १ सय ३० रनमा अलआउट गरेको थियो । भारतको दुई इनिङ्स केवल ८२.२ ओभरमै सकिएको थियो । इंग्ल्यान्डले भने ८८.१ ओभर खेलेर ३९६–७ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।

भारत टेस्ट वरीयतामा नम्बर एक टोली हो । तर घरमा राम्रो, बाहिर फितलो प्रदर्शन गर्दै आएको आरोप भारतले खेप्दै आएको छ । पछिल्ला ५ वर्षमा भारतले एसियाबाहिर खेलेका ६ टेस्ट शृंखलामा एउटामा मात्र जित हात पारेको छ । त्यो पनि हालका दिनमा संघर्षरत वेस्ट इन्डिजसँग । इंग्ल्यान्डमा खेलिएका ५९ टेस्टमा भारतले केवल ६ वटामात्र जित्न सकेको छ ।

खेलतालिकालाई लिएर पछिल्लो समयमा भ्रमण टोली असन्तुष्ट रहँदै आएको पाइन्छ । भारतीय क्रिकेट बोर्डले स्विकृति जनाए पनि कोहलीको टोलीले ६ साताभित्र ५ टेस्ट खेल्नुअघि एसेक्ससँग एउटा मात्र रातो बलमा अभ्यास खेल खेल्न पाएको थियो । एसेक्ससँगको खेलअघि चार दिने खेल्ने पूर्व सहमतिलाई भारतको अुनरोधमा तीन दिनमा झारिएको थियो ।

खेलतालिकाको विषयमा चिन्ता भए पनि कोहलीले लर्डसको भन्दा भारतले ब्याटिङमा निकै सुधार गर्नुपर्ने बताए । मुख्य गरी अफ स्पिनर रहेका रविचन्द्रन अश्विनले आठौं नम्बरमा ब्याटिङ गर्दै भारतबाट दुवै इनिङ्समा उच्च स्कोर बनाउने क्रममा क्रमश: २९ र अविजित ३३ रन जोडे ।

‘राष्ट्रका लागि खेल्नु हाम्रो कर्तव्य र दायित्व हो । हामीले योभन्दा राम्रो क्रिकेट खेल्न जरुरी छ,’ टेस्ट र वान–डे अन्तर्राष्ट्रियका नम्बर एक ब्याट्सम्यान कोहलीले भने, ‘जबसम्म यो स्वीकार्नु हुन्न तपाई माथि जाने ठाउँ रहन्न । हामीले के गल्ती गर्‍यौं त्यो स्वीकार्नुपर्छ । गल्ती भएका छन् अब त्यो दोहोर्‍याउनु हुन्न ।’ उनले जितको श्रेय इंग्ल्यान्डलाई दिए । ‘इंग्ल्यान्ड जितको हकदार थियो, हामी हारको । किनभने उनीहरूले ब्याट, बल र फिल्डमा निकै राम्रो प्रदर्शन गरे,’ कोहलीले भने ।

कोहलीलाई आइतबार स्पष्ट रूपमा पिठँयूमा समस्या देखिएको थियो । जसका कारण उनी तल झरेर पाँचौं नम्बरमा ब्याटिङ गरेका थिए । उनी नियमित रूपमा चौथो नम्बरमा ब्याटिङ गर्छन् । स्टुवार्ट ब्रोडको बलमा १७ रन बनाई आउट हुनुपूर्व उनले मैदानमै उपचार पनि गरेका थिए ।

‘शनिबारसम्म मेरो स्थिति ठीक थिएन,’ एजबास्टेनको पहिलो टेस्टमा भारत ३१ रनले पराजित हँुदा कुल २ सय रन बनाएका कोहलीले भने । त्यसमा पहिलो इनिङ्समा उनले १ सय ४९ रन जोडेका थिए । इंग्ल्यान्डमा त्यो उनको पहिलो शतक थियो । नोटिङघममा शनिबार सुरु हुने तेस्रो टेस्टमा फिट हुनेमा उनी आशावादी छन् । ‘ढाडको चोट भएकाले केही समस्या दिनसक्छ । तर राम्रो पक्ष के हो भने अर्को टेस्टअघि मसँग ५ दिन छ,’ कोहलीले भने, ‘म तयार हुन्छ भन्ने सबै आशावादी छन् ।’

प्रकाशित : श्रावण २९, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?