कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फाको १७ औं विशेष साधारणसभा: मताधिकार वृद्धि

चितवन — संशोधित विधान पारित गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार चितवनमा १७ औं विशेष साधारणसभा सम्पन्न गरेको छ ।

एन्फाको १७ औं विशेष साधारणसभा: मताधिकार वृद्धि

सभाले विधान संशोधन, प्रदेश समिति गठन, आर्थिक र कर्मचारी नियमावली कार्यान्वयन तथा स्थायी समिति गठनलगायतका विषयमा छलफल गर्नुका साथै निर्णय गरेको छ । साधारणसभाले लिग सञ्चालनसम्बन्धी विषयमा यसपालि रेलिगेसनबिनाको लिग गर्नुका साथै ‘बी’ र ‘सी’ डिभिजनमा पनि क्लब संख्या थप्ने निर्णय गरेको छ ।

विधानमा यसअघि एन्फा निर्वाचनमा ७७ मत रहँदै आएकोमा त्यसलाई बढाएर ९२ मत पुर्‍याइएको छ । ‘बी’ र ‘सी’ डिभिजनका क्लब, जिल्ला र प्रदेशका क्लबलाई पनि मताधिकार प्रदान गरिएको छ । ‘बी’ डिभिजनको मताधिकार क्लबसंख्या ९ बाट ११ तथा ‘सी’ डिभिजनमा ५ बाट ९ पुर्‍याइएको छ । अब ‘बी’ डिभिजनमा १६ तथा ‘सी’ डिभिजनमा १८ क्लब रहनेछन् । यसका लागि सी डिभिजनमा क्लब थप्नुपर्ने हुँदा सी डिभिजन नकआउट छनोट प्रतियोगिताबाट क्लबसंख्या थपिनेछ ।

प्रदेश संरचनामा प्रवेश गर्ने एन्फाको निर्णयसँगै सबै प्रदेशमा जिल्ला संख्या सन्तुलित पार्न ५ जिल्ला संख्या पनि थपिएको छ । गण्डकी प्रदेशमा १, कर्णाली प्रदेशमा २ तथा प्रदेश ७ मा २ जिल्ला थपेर कुल जिल्ला संघसंख्या ५० पुर्‍याइने भएको छ । कुन जिल्ला थप्ने भन्ने विषयमा भने अहिल्यै निर्णय गरिएको छैन । यसबाहेक अहिले रहिआएका जिल्लामा पनि संघका कार्यक्रमबारे अध्ययन गरेर नियमावलीअनुसार जिल्ला लिग सञ्चालन भए–नभएको हेरिनेछ ।

जिल्ला र प्रदेश हुँदै राष्ट्रिय लिगमा छनोट हुने ४ क्लबहरूले पनि मताधिकार प्राप्त गर्नेछन् । हरेक जिल्लामा जिल्ला लिग र जिल्ला नकआउट कप आयोजना गर्ने प्रावधान एन्फाले अगाडि सारेको छ । जिल्ला लिगमा कम्तीमा ६ टोली सहभागी हुनुपर्ने र लिग विजेताले प्रदेश लिगमा सहभागी जनाउने पाउनेछ । सिजनअनुसार हुने जिल्ला लिगमा छनोट हुन भने जिल्ला नकआउट कपमा नयाँ टोलीले खेल्न पाउने छन् ।

जिल्ला लिगको विजेताहरू खेल्ने प्रदेश लिग विजेताले एन्फा प्रेसिडेन्ट लिग खेल्ने छन् । ७ टोलीको सहभागिता रहने प्रेसिडेन्ट लिगका उत्कृष्ट ४ टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । राष्ट्रिय लिगमा छनोट हुने ४ टोलीले त्यस वर्षका लागि मताधिकार प्राप्त गर्ने विधान उल्लेख छ ।

यसबाहेक प्रदेश समिति गठन गर्न हाललाई केन्द्रीय समितिले तदर्थ समिति गठन गर्ने भएको छ । उक्त तदर्थ समितिले ६ महिनाभित्र चुनाव गराएर १५ सदस्यीय प्रदेश समिति गठन गर्नेछ । प्रदेश समितिमा अध्यक्षसहित ३ उपाध्यक्ष र ११ सदस्य रहने छन् । सदस्यमा १ महिला अनिवार्य रहनुपर्ने प्रावधान छ । निर्वाचित कार्यसमितिले महासचिव र कोषाध्यक्ष मनोनीत गर्नेछ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साधारणसभामा विधान संशोधनको विषयमा कुनै निर्णय नगर्न एन्फालाई पत्र काटेको थियो । प्रदेश समितिबारे राखेपले कुनै नियम नबनाएको र छिट्टै खेलकुद ऐन बन्ने हुनाले त्यसपछि मात्र समिति गठन गर्न निर्देशन दिएको थियो । तर एन्फाले राखेपको पत्रको आशय अनुशरण तथा निर्देशनलाई सम्मान गर्दै भविष्यमा बन्ने खेलकुद ऐनसँग बाँझिएमा प्रदेश समिति स्वत: खारेज हुने उल्लेख गरेको छ ।

लिग सञ्चालनबारे साधारणसभामा केहीबेर छलफलपछि रेलिगेसनबिनाकै लिग गरिने निष्कर्ष निस्किएको छ । यद्यपि लिग सञ्चालनका लागि आवश्यकताअनुसार विशेष समिति गठन गर्ने निर्णय पनि पारित भएको छ । सभाले पुछारमा रहने तीन टोलीलाई लिग तयारीका लागि प्रदान गरिने अन्तिम किस्ता रकम नदिने र अर्को वर्ष लिगमा केही अंक घटाउने प्रावधान अगाडि सारेको छ । यसअनुसार क्लबहरूले अन्तिम किस्ताको ५ लाख र पुछारका अन्तिम ३ टोलीका क्रमश: १, २ र ३ अंक अर्को लिगमा घटाइने छ । लिगबारे अन्य नियम तथा कार्यविधि बनाउने सम्पूर्ण जिम्मा लिग समितिलाई पनि सुम्पिएको छ ।

यसबाहेक एन्फाको आर्थिक नियमावली, कर्मचारी तथा प्रशासन नियमावली, फुटबल संघ कार्यसञ्चालन विधि कार्यान्वयन तथा अनुशासन समिति, अपिल समिति र लेखा परीक्षण तथा अनुगमन समिति पनि गठन हुने निर्णय भएको छ ।

निर्णयहरू :
-मताधिकार ७७ बाट ९२ मत
-जिल्लासंख्या ४५ बाट ५०
-प्रदेश समिति गठन हुने
-बी डिभिजन र सी डिभिजन क्लब संख्या वृद्धि
-रेलिगेसनाबिनाको ए डिभिजन
-जिल्ला र प्रदेश हुँदै राष्ट्रिय लिग खेल्न एन्फा प्रेसिडेन्ट लिग

स्वाफले साढे ५ करोड सहयोग गर्ने
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल दक्षिण तथा पश्चिम फुटबल महासंघ (स्वाफ) मा प्रवेश गरेसँगै नेपाली फुटबलको विकासमा अझै नयाँ दायरा थपिएको विश्वास व्यक्त गरेका छन् ।

गत साता साउदी अरेबियाको जेद्दाहमा बसेको स्वाफको पहिलो बैठकमा केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित शेर्पाले स्वाफमा प्राप्त आबद्धताले नेपाललाई आर्थिक र प्राविधिक रूपमा सहयोग पुग्ने बताए । उनले स्वाफले नेपालजस्ता कमजोर राष्ट्रलाई साढे ५ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

यसबाहेक पश्चिम एसियाका राष्ट्र नेपालभन्दा राम्रो भएकाले प्राविधिक रूपमा पनि नेपाललाई सघाउ पुग्ने उनले बताए । साधारणसभाको उद्घाटनमा शेर्पा स्वाफको केन्द्रीय सदस्य भएकोमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बधाई दिएका थिए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?