कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानले नेपाललाई हरायो

साफ यू–१५ गल्र्स च्याम्पियनसिप

काठमाडौँ — आयोजक भुटानले साफ यू–१५ गल्र्स च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाललाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरमा निर्धारण गरिएको थियो ।

भुटानले नेपाललाई हरायो

थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा अधिकांश समय नेपालले दबाबमा राखेको भुटानले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । खेलको तेस्रो मिनेटमा डेकी याङदोनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन् ।

डिफेन्सले क्लियर गर्न नसकेको बलमा पेनाल्टी क्षेत्रभित्र अन्मार्क रहेकी डेकीले गोल गरेकी थिइन् । खेलको १५ औं मिनेटमा रजनी थोकरले गोलरक्षक र डिफेन्स सबै बिट भएको अवस्थामा ६ यार्ड बक्स बाहिरबाट खाली पोस्टमा गरेको भली प्रहार अप्रत्याशित रूपमा बाहिरिएको थियो । नेपालले त्यसपछि खेलमा धेरै अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै नेपाल खेलमा फर्कियो । कप्तान प्रीति राईले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासलाई चन्द्रा भण्डारीले गोलरक्षक लडिसकेको अवस्थामा पोस्टको दिशा दिइन् । त्यसको ७ मिनेटपछि चन्द्राले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई अग्रता दिलाइन् । डिफेन्सको खुट्टाबाट बल खोसेर उनले दोस्रो टचमा गोल गरेकी थिइन् । नेपालकी गोलरक्षक करिना धिमालले पेनाल्टी क्षेत्रभित्र सहज बल फुस्काएपछि येशी विदाले खाली पोस्टमा गोल गर्दै भुटानलाई खेलमा फर्काइन् ।

निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको नतिजा टाइब्रेकरमा धकेलियो । नेपालका लागि पहिलो पेनाल्टी लिएकी सविता रानामगरको प्रहार गोलरक्षक किन्जाङ डेमाले बचाइन् । भुटानका लागि सोनाम ल्हामो, छिरिङ याङचेन, येशी विदा र छिरिङ ल्हादोनले गोल गर्दा शेरव पेल्मोको चुकेकी थिइन् ।

नेपालबाट कप्तान प्रीतिसँगै सलोनी रानामगर र सरस्वती हमालले गोल गरे । दुई गोल गरेकी चन्द्रा भण्डारीको फितलो प्रहार गोलरक्षकले बचाउँदा नेपाल चौथो स्थानमा सीमित भएको थियो । शनिबारै भएको फाइनलमा भारतले बंगलादेशलाई १–० ले पराजित गर्‍यो । भारतका लागि सुनिता मुन्डाले ६६ औं मिनेटमा गोल गरेकी थिइन् ।

प्रकाशित : भाद्र ३, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?