कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ औं एसियाली खेलकुद : ब्याडमिन्टनमा जित, तेक्वान्दो र उसु आसमै

ध्रुव तुलाधर

जकार्ता, इन्डोनेसियाडौँ — १८ औं एसियाली खेलकुदको पहिलो स्वर्णपदक चीनका उसु खेलाडी पेइयुयान सनले जितेका छन् । उनले पुरुष छ्वान छ्वानबाट आइतबार स्वर्ण जितेका हुन् । सनले ९ दशमलव ७५ अंक बटुल्दै इन्डोनेसिया एसियाडको पहिलो स्वर्ण आफ्नो देशमा भित्र्याएका हुन् ।

१८ औं एसियाली खेलकुद : ब्याडमिन्टनमा जित, तेक्वान्दो र उसु आसमै

पछिल्ला ९ संस्करणको पदक तालिकामा शीर्षस्थान ओगेटको चीनका लागि सनले स्वर्ण जितेर जकार्तामा सफल सुरुआत गराएका छन् ।

आयोजक राष्ट्र इन्डोनेसियाका इडगर जाभियर मार्भेलोले ९ दशमलव ७२ अंक र चाइनिज ताइपेईका सेमिन तिसाईले ९ दशमलव ७० अंक बटुल्दै रजत र कांस्यपदक हात पारे ।

यसै इभेन्टमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडी विजय सिञ्जाली १४ औं स्थानमा रहे । १७ खेलाडीले प्रतिस्पर्धा गर्दा विजयले ८ दशमलव २५ अंक बटुलेर उक्त स्थान हासिल गरे । उनीभन्दा पछाडि अफगानिस्तान, यमन र पाकिस्तानका खेलाडी रहे । १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्दा विजयले ८ दशमलव ८० अंंकको प्रदर्शन गरेका थिए । त्यतिखेर श्रीलंकन खेलाडीले ८ दशमलव ८६ अंक ल्याएर स्वर्ण जितेका थिए ।

सागकी स्वर्ण विजेता निमा घर्तीमगर ११ औं स्थानमा रहिन् । महिला नान छ्वानमा उनी पुछारबाट दोस्रोमा रहेकी हुन् । उनले ८.७० अंक बटुलेकी थिइन् । उनको अलराउन्डको प्रतिस्पर्धा बाँकी नै छ । उक्त इभेन्ट सोमबार हुनेछ । दुवैको प्रदर्शनपछि मात्र उक्त इभेन्टको नतिजा आउनेछ । १२ औं साग खेलकुदमा उनले कुल १६ दशमलव ९१ अंकबाट स्वर्ण जितेकी थिइन् । उनले नान छ्वानमा ८.४३ र अलराउन्डमा ८.४६ अंक ल्याएकी थिइन् । भारतमा सम्पन्न सागमा नेपालका लागि निमाले नै पहिलो स्वर्ण जितेकी हुन् । उनले नान छ्वानमा सागको प्रदर्शन सुधार गरेकी छन् । सागमा ८.४३ अंक बटुल्दा यहाँ ८.७० अंक ल्याएकी हुन् । उनको इभेन्टमा चीनकी लु ताङ ९.७५ अंक बटुलेर अगाडि छिन् ।

तेक्वान्दो
नेपालले पदक आस गरेको खेल तेक्वान्दोले पहिलो दिन सुखद नतिजा दिन सकेन । जेसीसी पेलेनरी हलमा तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा हुँदा नेपालले तीन इभेन्टमा प्रतिस्पर्धा गरेको थियो । नेपालले खेलको सबै इभेन्टको प्रतिस्पर्धीमा चाइनिज ताइपेईका खेलाडी थिए । पुरुष व्यक्तिगततर्फ नेपालका कमल श्रेष्ठ ताइपेईका चीन चेङसँग पराजित भए । अन्तिम १६ को प्रतिस्पर्धामा उनले ७.५४० अंक प्राप्त गर्दा चेनले ८.०८० अंक बटुल्दै जित प्राप्त गरे । महिलातर्फ पार्वती गुरुङले ७.५४० अंक बटुल्दा ताइपेईकी लियाओ वेनसुआनले ८.१०० अंक ल्याइन् ।

महिला टिमतर्फ भने उज्वेकिस्तान अनुपस्थित भएपछि नेपाल क्वाटरफाइनल पुगेको थियो । तर त्यसममा पनि ताइपेईसँग पराजित भयो । पार्वतीसहित निता गुरुङ, सिना मादेन लिम्बूले नेपालबाट प्रतिस्पर्धा गरेका थिए । नेपाली टिमले ७.४२० अंक बटुल्दा ताइपेईका खेलाडीले ८.१९० अंक बटुलेका थिए ।

नेपालले पुम्सेमा पहिलोपल्ट एसियाडमा प्रतिस्पर्धा गरेको हो ।

टोलीका पुम्से प्रशिक्षक नोर्बु लामाले विश्वको उत्कृष्ट वरीयतामा रहेका खेलाडीसामु आफ्ना खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको बताए । उनले भने, ‘एसियाडमा हाम्रो पहिलो सहभागिता हो । पुम्सेमा खारिएका देशका खेलाडी छन् । अझ ताइपेई त विश्वकै तेस्रो, चौथो वरीयतामा पर्ने देश हो । हामी नयाँ छौं । त्यसले गर्दा गाह्रो त भइहाल्छ ।’

दक्षिण कोरियाको प्रशिक्षणले सुधार आएको बताउँदै उनले थपे, ‘पुम्सेलाई राम्रो बनाउनका लागि आएका हौं । नतिजाबाट सन्तुष्ट छु । किनकि नेपालमा पुम्सेको राष्ट्रिय प्रतियोगिता हुन थालेको त धेरै भएको छैन अनि कसरी अन्तर्राष्ट्रियमा राम्रो नतिजा दिन सक्छौं ।’

पुम्सेमा तेक्वान्दो खेलाडीको कला प्रदर्शनमा मुख्यत: एक्युरेसी र शैलीलाई हेरिन्छ । त्यसै आधारमा अंक दिइन्छ । यदि सेमिफाइनल चरण पुगेको भए खेलाडीले पनि जिम्न्यास्टिक प्रदर्शन गर्नुपर्ने हुन्थ्यो । प्रशिक्षक लामाका अनुसार सानैदेखि जिम्न्यास्टिकमा अभ्यस्त भए पुम्से खेलाडीले अझै राम्रो गर्न सक्छन् ।

ब्याडमिन्टन
एसियाडको ब्याडमिन्टनमा आइतबार नेपाली खेलाडीले मिश्रित नतिजा निकालेका छन् । पुरुष टिम इभेन्टमा नेपालले सफलता पाएको छ भने महिला टिम इभेन्टको खेल गुमायो । क्वाटरफाइनल पुगेको पुरुष टोलीले अब अन्तिम चारमा स्थान बनाउन सोमबार चाइनिज ताइपेईको सामना गर्नेछ । अन्तिम १६ मा नेपालले पाकिस्तानलाई ३–१ ले हराएको हो ।

नेपालका रत्नजित तामाङ मोहम्मद इरफान सइद भाटीलाई २१–१२, २१–११ ले, दीपेश धामीले अजिम सरवारलाई २१–१६, २१–१० ले हराएर अग्रता लिँदा नवीन श्रेष्ठ भने रिजवान अजमसँग कडा प्रतिस्पर्धामा २१–१३, १८–२१, १५–२१ ले पराजित भए । त्यसपछि डबल्समा रत्नजित र दीपेशको जोडीले रिजवान र कसिफ अली सुलेरीको जोडीलाई २१–१७, १७–२१, २१–५ ले हराएर खेल आफ्नो पक्षमा पार्‍यो ।

नेपालका प्रशिक्षक जयन्तकुमार श्रेष्ठले पाकिस्तानलाई डबल्समा हराउनु ठूलो उपलब्धि रहेको बताए । उनले भने, ‘हामीभन्दा पाकिस्तान धेरै बलियो टोली हो । उसलाई डबल्समा हराउन सकेका थिएनौं । यसपालि हरायौं, त्यो पनि एसियाडमा । त्यसैले यो हाम्रा लागि राम्रो नतिजा हो । हाम्रा खेलाडीले पाकिस्तानका नम्बर एक खेलाडीलाई सोझो सेटमा हराएका छन् । यसलाई एकदमै सकारात्मक रूपमा लिएको छु ।’

महिला टिमतर्फ भने अन्तिम १६ मा नेपालले माल्दिभ्ससँगको खेल ३–२ ले गुमाएको हो । सिंगलका तीन खेलमध्ये नेपालकी शीर्ष वरीयताकी नङसल तामाङले एफएन अब्दुल रज्जाकलाई २१–१७, २१–१५ ले र जेसिका गुरुङले एएन अब्दुल रज्जाकलाई २१–१५, २३–२५, २१–१७ ले पराजित गरेका थिए । रसिला महर्जन भने निला अहमद नजिबसँग २४–२२, २१–१५, २१–१६ ले पराजित हुन पुगिन् । डबल्सका दुई खेलमा नङसल र जेसिकाको जोडी नजिब र एएन रज्जाकको जोडीसँग २१–१९, १९–२१, २१–१७ ले र अमिता र रसिलाको जोडी एफएन रज्जाक र मुसाको जोडीसँग २१–१३, २१–११ ले पराजित भए । नङसलले १२ औं सागमा सिंगल र महिला टिम इभेन्टमा कांस्यपदक जितेकी थिइन् ।

सुटिङ
सुमात्रा टापुको दोस्रो ठूलो सहर पालेम्बाङमा नेपालले सुटिङको मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्‍यो । सुस्मिता नेपाल र सुसे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरे । मिक्समा नेपालले पहिलोपल्ट भाग लिएको हो । छनोट चरणको प्रतिस्पर्धामा ८०० पूर्णांकका लागि दुवै खेलाडीले ४० र ४० शट प्रहार गरेका थिए । त्यसमा सुम्मिता र सुसे दुवैको गरी कुल ७७६.४ अंक भएको थियो । तर उनीहरू पुछारमै रहे । सुस्मिताले पहिलो सिरिजमा ९९.२, दोस्रो १०३.०, तेस्रो १०१.२ र चौथोमा १००.१ अंक जोडिन् । सुसेले पहिलो सिरिजमा ८६.८, दोस्रो ९४.३, तेस्रो ९८.६ र चौथोमा ९३.२ अंक जोडेका थिए ।

यस इभेन्टमा फाइनल चरणलाई छनोट भएका ५ राष्ट्रमध्ये चाइनिज ताइपेईले एसियन गेम्सको रेकर्ड बनाउँदै स्वर्ण जितेको थियो । थप ४८ शट हान्दा ४९४.१ स्कोर थपेको थियो । चीनले रजत जित्दा भारतीय खेलाडीले कांस्य जिते । रवि कुमार र अपुर्भी चन्देलाले भारतलाई जकार्ता एसियाडमा पहिलो पदक दिलाएका थिए । नेपालले अब १० मिटर एयर राइफलमा व्यक्तिगततर्फ सहभागिता जनाउनेछ ।

कुस्ती
कुस्तीतर्फ भाग लिएका तीन खेलाडीले पहिलो चरणमै पराजय भोगेका छन् । नेपालका भगवती साह तेली ५७ केजीको फ्रिस्टाइलमा इरानका रेजासँग टेक्निकल अंकका आधारमा पराजित भएका छन् । सुरेश चुनाराले फ्रिस्टाइल ७४ केजीमा जापानका युही फुजिनामीसँगको खेल टेक्निकल आधारमै गुमाएका छन् । अर्का खेलाडी सरोज यादव फ्रिस्टाइल ६५ केजीमा मंगोलियाका वातमगनाई बात्चुलुनसँग पराजित भए । टेक्निकलका आधारमा पराजित भएका सरोज १२ औं सागका कांस्य विजेता खेलाडी हुन् । उनी १ मिनेट १३ सेकेन्ड मात्र रिङमा टिक्न सके ।

एसियाडमा झन्डै २० वर्षपछि कुस्तीमा नेपालले सहभागिता जनाएको थियो । पछिल्लोपल्ट १९९८ को बैंकक एसियाडमा नेपालले खेलेको हो । धनगढीको महेन्द्रनगर हुँदै भारत उत्तरप्रदेशस्थित नन्दानी नगर स्पोर्ट्स कम्प्लेक्समा प्रशिक्षण लिएर कुस्ती खेलाडी एसियाड खेल्न आएका हुन् ।

टेनिस
पालेम्बाङमा भएको टेनिसको सिंगलतर्फ सबै खेलाडीले हार बेहोरेका छन् । यद्यपि मेन्स सिंगल्सतर्फ अभिषेक बाँस्तोलाले भियतनामका लिन्ह जियाङसँग पहिलो सेट ६–१ ले जितेर राम्रो सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन् । उनले दोस्रो सेटमा कडा चुनौती पेस गरे । तर ६–३ ले सेट गुमाए । निर्णायक सेटमा पनि आफ्नो बलियो उपस्थिति देखाएका अभिषेकले ६–३ ले सेट गुमाउँदै विपक्षीलाई खेल सुम्पिएका थिए । त्यस्तै अर्का मेन्स सिंगल्सको खेलमा संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियाका एम रफिक फिद्रिकीसँग ६–२, ६–२ को सोझो सेटमा पराजित भए ।

माहिका राणा भियतनामकी सेसिल्ला फोडोरसँग हारिन् । उनले ६–०, ६–१ को सेटमा खेल गुमाएकी हुन् । मायांका राणा पनि हङकङकी इडुवाइस वोङ चोङसँग ६–०, ६–१ को सोझो सेटमा पराजित भइन् । मिक्स डबल्समा माहिका र प्रनव खनालले हङकङका लिङ झाङ र पाक लङ युङसँग ६–०, ६–१ को सोझो सेटमा हार्दा अर्काे नेपाली जोडी एनी माथेमा र संरक्षकभूषण भने हङकङका इदुसी वोङ चोङ र चुन हुन वोङको जोडीसँग ६–१, ६–० को सेटमा पराजित भयो । अब वुमेन्स डबल्समा राणा दिदीबहिनी मायंका र माहिका तथा मेन्स डबल्समा संरक्षकभूषण र अभिषेकको जोडीको खेल बाँकी छ ।

फेन्सिङ
फेन्सिङतर्फ महिला व्यक्तिगत साबरेमा नेपालकी कमला श्रेष्ठ र रविना थापाले प्रतिस्पर्धा गरे । समूह ‘सी’ को प्रारम्भिक चरणमा कमलाले पाँच प्रतिस्पर्धीसँग खेलिन् । उनले मंगोलियाकी खेलाडीलाई कुनै अंक बटुल्न दिइनन् र आफ्नो पक्षमा ५ अंक पारिन् । उनले भियतनामसँग एक अंक बटुल्न सकेकी भए अर्को चरणको सम्भावना थियो । तर ५–४ ले खेल सुम्पिइन् । उनले चीन, जापान र हङकङका प्रतिद्वन्द्वीलाई पन्छाउन सकिनन् ।

समूह ‘डी’ मा रहेकी रविना थापाले इन्डोनेसिया, जापान, दक्षिण कोरिया, इरानका खेलाडीबाट कुनै अंक लिन सकिनन् भने कम्बोडियाकी लिन्लीसँग १–५ ले खेल टुंग्याइन् ।

एसियाडमा फेन्सिङको दोस्रो सहभागिता हो । नेपालले यसअघि इन्चोनमा भाग लिएको थियो । टोलीका प्रशिक्षक अभिषेक कार्कीले कमलाको प्रदर्शन राम्रो रहेको उल्लेख गर्दै अन्तिम १६ मा पुग्ने अवसर कम अनुभवका कारण गुमाउनुपरेको बताए । दक्षिण कोरियामा २० दिनको वैदेशिक प्रशिक्षणले खेलाडीको प्रदर्शनमा सुधार आएको उनको भनाइ थियो । प्रशिक्षक कार्कीले आफ्ना खेलाडीले फोएलमा राम्रो प्रदर्शन गर्ने विश्वास दिलाए ।

निमाको सर्वाधिक स्कोर
सागकी स्वर्ण विजेता निमा घर्तीमगरले आफ्नो पहिलो दिनको खेलमा उत्साहजनक प्रदर्शन गरेकी छन् । महिला थाउलोको नान छ्वानमा उनी पुछारबाट दोस्रोमा रहेपछि उनले साग खेलकुदमा रहेको आफ्नो प्रदर्शनलाई पछाडि पारेकी छन् । उनले ८.७० अंक बटुलेकी थिइन् । उनको नान तावको प्रतिस्पर्धा बाँकी नै छ । उक्त इभेन्ट सोमबार हुनेछ ।

दुवैको प्रदर्शनपछि मात्र अलराउन्डबाट यस इभेन्टको नतिजा आउनेछ । १२ औं साग खेलकुदमा उनले कुल १६ दशमलव ९१ अंकसाथ स्वर्ण जितेकी थिइन् । उनले नान छ्वानमा ८.४३ र अलराउन्डमा ८.४६ अंक ल्याएकी थिइन् । भारतमा सम्पन्न सागमा नेपालका लागि निमाले नै पहिलो स्वर्ण जितेकी हुन् । उनले नान छ्वानमा सागको प्रदर्शन सुधार गरेकी हुन् । सागमा ८.४३ अंक बटुल्दा यहाँ ८.७० अंक ल्याएकी छन् । उनको इभेन्टमा चीनकी लु ताङ ९.७५ अंक बटुलेर अगाडि छिन् ।

महिला ६० केजीमुनि लुमन्ती श्रेष्ठ बाई पाएर क्वाटरफाइनल पुगेकी छन् । उनको मंगलबार हुने खेलमा थाई खेलाडीसँग प्रतिस्पर्धा हुनेछ । यो खेल जितेमा लुमन्तीको पदक पक्का हुनेछ । सान्सौं ५२ केजीमुनि राउन्ड अफ १६ मा नेपाली खेलाडी जुनी राई भियतनामकी थि थु थुय गुएनसँग २–० अंकले पराजित भइन् । सागकी रजत पदकधारी जुनीले सुरुआतमै अंक गुमाउँदा हार बेहोर्नुपरेको थियो ।

रिङमा प्रवेश गरेसँगै उनले २ अंक गुमाएकी थिइन् । जुनीले माउथ गार्डका रूपमा गम्सिल लगाउनुपर्नेमा नलगाएका कारण अंक काटिएको थियो । यद्यपि २–२ मिनेटको दुई राउन्डको खेलमा जुनीले भियतनामकी खेलाडीलाई कडा चुनौती दिएकी थिइन् ।

एसियाडमा लगातार तेस्रोपल्ट खेल्दै गरेका मंगलप्रसाद थारूले सान्सौं पुरुष ६० केजीमुनि राउन्ड अफ ३२ मा इन्डोनेसियाका अब्दुल हारिस सोफयानसँग कमजोर प्रदर्शनका कारण सुरुआतमै फराकिलो अंक गुमाउँदा पहिलो एक मिनेटमै विपक्षीलाई खेल सुम्पिए । मंगलले ग्वाङझाउ र इन्चोन एसियाडमा पनि सहभागिता जनाएका थिए । ७० केजीमुनि राउन्ड अफ १६ मा चित्रसिंह ठकुरी दक्षिण कोरियाका ग्वान्सिक हमसँग पराजित भए ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?