कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगीनाको चुँडिएको त्यो पदक

ध्रुव तुलाधर

जाकार्ता, इन्डोनेसिया — संगीना वैद्य, नेपाली तेक्वान्दो क्वीन । एसियाली खेलकुद चलिरहँदा उनको मनमा एउटा बेग्लै छटपटीले डेरा जमाएको छ । मनमा हुटहुटी छ । उनलाई लाग्छ, मेरो नाममा पनि एसियाडको पदक हुनेछ ।

संगीनाको चुँडिएको त्यो पदक

नेपाली तेक्वान्दोकी सफल महिला खेलाडी संगीनासँग एसियाडको पदक छैन । थुप्रै अन्तर्राष्टिय पदक त जितेकी छन् तर एसियाडको कुनै पदक नभएको सम्झँदा उनको मन बेचैन हुन्छ । एकछिन घोरिन्छिन्, ‘मैले खेलेर त जित्न सक्दिनँ, मेरा चेलाहरूले जितिदियून् त्यो नै मेरा लागि एसियाडको पदक हुनेछ ।’


एसियाडको १८ औं संस्करण जकार्तामा चलिरहँदा संगीना नेपाली तेक्वान्दो टोलीकी प्रशिक्षक हुन् । अर्का कीर्तिमानी खेलाडी दीपक विष्ट र संगीनाको प्रशिक्षकत्वमा फाइटतर्फका खेलाडी यो एसियाड खेलिरहेका छन् ।


आफ्नो गलामा एसियाडको पदक नझुन्डिनुमा संगीनासँग एउटा नमीठो घटना जोडिएको छ । ‘सायद त्यो नै कारण हो कि ?’ उनी विगततिर फर्किन्छिन् ।


‘एसियाडका लागि क्लोज क्याम्पमा बस्ने दिन थियो त्यो । त्यसकै लागि आफ्नो सामान लिन त्रिपुरेश्वर, रंगशालाबाट बालाजुतर्फ जाँदै थिएँ । रंगशालाबाट के मोडिन मात्र लागेथें कीर्तिपुरको बसले ट्याक्सीलाई ओभरटेक गर्न खोज्दा झ्याम्मै हान्यो । मोटरसाइकल कच्याककुचुक भयो । लेग गार्डले पनि बचाउन सकेन । मेरो दायाँ खुट्टा ठनक्कै भाँचियो । यदि खेलाडी थिइनँ भने त सायद ज्यान बच्दैनथ्यो । किनकि म उफ्रेर अर्काेतिर ढल्न पुगेको थिएँ ।


मलाई अफिस जान लाग्नु भएको एकजना दाजुले वीर अस्पताल पुर्‍याइदिनुभयो । त्यहाँ उपचार हुन नसक्ने भएपछि बी एन्ड बी रेफर गरियो । कठिन अप्रेसन भयो । घुँडामा स्टिल राख्नुपर्‍यो । तीन महिना त हस्पिटलकै बेडमा बसेँ ।’ सन् १९९८ को बंंैकक एसियाडलाई छनोट भइसकेकी संगीना एक महिनाअघि डाकिएको क्लोज क्याम्प बस्ने दिनको घटना सुनाउँदै थिइन् । त्यो आततायी घटनाले उनको एसियाड पदक लुटिएको थियो, खोसिएको थियो । किनकि उनी उच्च फर्म थिइन् । फ्लाइवेट समूहमा उनलाई चुनौती दिने सायदै थिए ।


त्यसको केही समयअघि मात्र अस्ट्रेलियाबाट एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेर फर्केकी थिइन् । एसियन च्याम्पियनसिपमा स्वर्ण जित्ने उनी एक्लो नेपाली खेलाडी हुन् । त्यसले गर्दा बैंकक एसियाडमा उनीबाट पदक आउने पूर्ण भरोसामा थियो नेपाली तेक्वान्दो ।


भन्छिन्, ‘यदि त्यो समयमा मैले खेल्न पाएको भए कुनै न पदक जित्थें । म उच्च फर्ममा थिएँ । मेरो तौलमा कसैले आँक्न सक्दैनथे । एसियन च्याम्पियनसिपमा पदक जितेको थिएँ । त्यो भने एकदमै प्रतिस्पर्धा हुने प्रतियोगिता हो । त्यसले गर्दा सबैजना मैले पदक जित्नेमा ढुक्कजस्तै थिए ।’


नेपालले एसियाली खेलकुदमा इतिहास रचेको नै बैंकक एसियाड हो । जहाँ नेपालले रजत पदक जितेको थियो, त्यो पनि तेक्वान्दोबाट ।


त्यो क्षण एउटा शिखरमा रहेकी खेलाडीको खेल्न नपाउँदाको पीडा कस्तो होला ? संगीना भन्छिन्, ‘हररात पीडा हुन्थ्यो । लाग्थ्यो अब खेल्न सक्दिनँ । मेरो तेक्वान्दो करिअर सकियो अनि बेडमै कहिलेकाहीँ भक्कानो छुट्थ्यो । सम्हालिन सक्दिनथें । डाक्टरहरूले सम्झाउथें । भन्थे, तिमी फेरि खेल्न सक्छौ ।’


उता बैंककमा समकालीनहरू सविता राजभण्डारीले रजत पदक जितेर एसियाडकै इतिहास बनाइदिइन् भने सपना मल्ल र किशोर श्रेष्ठले पनि कांस्य जितेका थिए । सविताले जितेको त्यो रजत नै नेपालले अहिलेसम्म प्राप्त गरेको एसियाडकै ठूलो पदक हो ।


चिकित्सकहरूले तिमी फेरि खेल्न सक्छौ भनेको कुरा संगीनालाई विश्वास थिएन । लाग्थ्यो, ‘मलाई सान्त्वना दिन उहाँहरूले त्यसो भनिरहनुभएको छ । अन्तत: १/२ महिनापछि खुट्टाले टेक्न सक्ने स्थितिमा पुगें ।’ डा. अशोक बाँस्कोटा, बाबुकाजी श्रेष्ठसहित चिकित्सक टोलीको एकदमै सहयोग थियो उनलाई । ‘उहाँहरूले ‘एसियाड खेल्न पाएनौ, साफ खेल्न सक्ने हुन्छौ’ भनेर हौस्याउनुहुथ्यो । तर आफ्नो सुकेर गएका खुट्टा देख्दा के खेल्न सक्छु र भन्ने लागिरहन्थ्यो ।’


एसियाडको ९–१० महिनापछि नेपालमै आठौं साफ खेलकुद आयोजना हँुदै थियो ।


अस्पतालबाट निस्केको केही महिनापछि बैसाखीको सहारामै उनले जिम गएर लेगको पावर बढाउन थालिन् । कहिलेकाहीँ दायाँ खुट्टाको पीडासँगै बायाँ खुट्टाले पनि काम नगर्ला भन्नेमा पनि उनी त्यत्तिकै चिन्तित थिइन् । तर बिस्तारै खुुट्टाले भर दिन थाल्यो । दिन प्रतिदिन सुधार हुन थाल्यो । फेरि उनको मनमा आशाको बीजारोपण भयो, ‘डाक्टरहरूले भनेजस्तो मैले फेरि खेल्न सक्छु कि ?’


जाकार्तास्थित जेसीसी प्लेनरी हलमा विगत कोट्याउँदा संगीनाले सुनाइन्, ‘त्यो घटनापछि फेरि खेलाडीका रूपमा मैले पुनर्जन्म लिएँ । तेक्वान्दोमा रमाएँ अनि सफलता चुमें ।’
एउटा डरलाग्दो दुर्घटनाबाट फर्केकी उनले त्यसपछि झन् छु्ट्टै इतिहास रचिन् । सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं र २००४ को नवौं साफ खेलकुद पाकिस्तानमा स्वर्ण जित्न सफल भइन् । एसियन च्याम्पियनसिपमा फेरि रजत हत्याइन् । २००२ को बुसान एसियाड खेल्दै ओलम्पिकसम्म पुगिन् । उनले २००४ को एथेन्स ओलम्पिक खेलेकी हुन् । छनोट भएर ओलम्पिक खेल्ने पहिलो महिला पनि बनिन् । ओलम्पिक खेल्दासम्म उनको घुँडाबाट पूर्ण रूपमा स्टिल हटिसकेको थिएन । तर उनले आफ्नो साहसिक यात्रा अगाडि बढाइरहिन् । अहिले प्रशिक्षणमार्फत यो यात्रामा आइपुगिन् ।

०००


थुप्रै अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेकी संगीना अहिले र पहिलेको तेक्वान्दोमा धेरै फरक देख्दिनन् । भन्छिन्, ‘पहिला पावर गेम खेल्नुपथ्र्यो अहिले टेक्निकल खेल्नुपर्छ । टेक्निक उही हो । मात्र अहिले प्रविधिसँग खेल्नुुपर्छ । सेन्सरसँग अभ्यस्त हुनुपर्छ । जमाना स्मार्ट छ । खेललाई पनि स्मार्ट बनाइएको छ । दिमाग लगाएर खेल्न सकियो भने झन् सजिलो हुन्छ ।’
के हाम्रा खेलाडी दिमाग लगाएर खेल्दैनन् या स्तर खस्किएको हो त ? संगीना भन्छिन्, ‘त्यो होइन, हामी प्रविधिसँग अभ्यस्त भइसकेका छैनौं । प्रविधिको खेलसँग हामी बामे सर्ने स्थितिमा छौं भने अरू धेरै अगाडि बढिसकेका छन्, लगानी त्यहीअनुसार गरेका छन् । प्रविधि त्यहीअनुसार भित्र्याएका छन्, तब न सफलता पाउँछन् । हामीलाई त्यो अवस्थामा पुग्न धेरै समय लाग्छ ।’


एसियाडको पछिल्ला दुुई संस्करणमा तेक्वान्दोमा नेपाल पदकविहीन बनेको थियो । ग्वाङझाउ र इन्चोनमा कुनै पदक नजितेको तेक्वान्दो नेपालको एसियाड इतिहासमा भने सफल खेलमा पर्छ । सन् १९८६ को सोलदेखि तेक्वान्दोले एसियाडमा प्रवेश पाएको थियो । नेपालले डेब्युु संस्करणमै चार कांस्य पदक जितेको हो । १९९० को हिरोसिमा एसियाडमा तेक्वान्दो समावेश नै भएन । नेपालले एसियाडमा १ रजतसहित १४ पदक जितेको छ ।


संगीनाले भारतमा सम्पन्न १२ औं साग खेलकुददेखि राष्ट्रिय टोली हेर्न थालेकी हुन् । उनकै प्रशिक्षणमा रहेकी निशाले रियो ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।

प्रकाशित : भाद्र ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?