तेक्वान्दोमा वीरबहादुरले लिए सागको बदला

ध्रुव तुलाधर

जकार्ता — सागका रजत विजेता तेक्वान्दो खेलाडी वीरबहादुर महराले ६३ केजीमुनिको तौल समूहमा अफगानिस्तानका अमहद बाखसीलाई पराजित गरेर प्रिक्वाटर फाइनल चरणमा पुगेका छन् ।


१८ औं एसियाली खेलकुद अन्तर्गत जीसीसी हलमा तेक्वान्दोको उक्त तौल समूहमा वीरबहादुरले अफगानी प्रतिद्वन्द्वीलाई २४–१३ अंक अन्तरले हराउँदै अन्तिम् १६ को स्थान सुरक्षित गरेका हुन्। १२ औं दक्षिण एसियाली खेलकुदमा उनी अहमदसँग पराजित हुँदै वीरबहादुरले स्वर्ण गुमाएका थिए। सागको बदला लिने क्रममा आक्रामक सुरुआत गरेका वीरबहादुरले पहिलो राउन्डमै १३–४ को अग्रता बनाएका थिए। त्यसमा तीन हेड किकको ९ अंक सामेल थियो। अन्तिम राउन्डमा दुवैले ८–८ अंक बटुलेका थिए। दुवैले २–२ हेड किक प्रहार गरे।

वीरबहादुरले अब काजकिस्तानका काजिबेव बख्तयारुलीसँग खेल्ने छन्। काजकिस्तानका खेलाडी बाइ पाएर अन्तिम १६ मा पुगेका हुन्। खेल आजै हुनेछ।

पौडीतर्फ ओलम्पियन गौरिका सिंह र शुभम श्रेष्ठ राष्ट्रिय कीर्तिमान बनाउन असफल भए। महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी गौरिकाले २ मिनेट १२ दशमबल ५३ सेकेन्डमा दूरी पार गरे। उनले आफ्नो नामको कीर्तिमान सुधार्न सकिनन्।

जीबीके एक्वाटिक पौडी सेन्टरमा बुधबार बिहान गौरिकाले हिट १ मा प्रतिस्पर्धा गरेका थिए। यस इभेन्टमा उनकै नाममा २ मिनेट ११.९४ सेकेन्डको र्कीर्तिमान छ।

२४ प्रतिस्पर्धी रहेको यस इभेन्टमा गौरिकाले १९ औं हाँसिल गरिन्। उनले मकाउ, पाकिस्तान, मंगोलिया र टिमोर लिस्टेका खेलाडीलाई पछाडि छाडेका थिए।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा शुभम् श्रेष्ठले एसियाडमा १ मिनेट ११.३५ सेकेन्डमा दूरी पार गरेका थिए। उनले आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्न थोरैले चुके। हंगेरीको बुढापेस्टमा सन् २०१७ को वल्र्ड फिना च्याम्पियनसिपमा १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान राखेका थिए।

प्रकाशित : भाद्र ६, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

किसानका उत्पादन पैंचोमा

घनश्याम गौतम

हुँगा (गुल्मी) — छत्रकोट ४ तिलडाँडाका डिल्लीराज कँडेलले झन्डै ५० वर्षसम्म बारीको कान्लामा फलेका ‘भुटुक’ त्यसै खेर फाले । रूखको डाले घाँस प्रयोग भए पनि बर्सेनि फल्ने ती फल उपयोगबिनै कुहेर गए । तर, चार वर्षयता अवस्था फेरिएको छ ।

यस वर्ष मात्र उनले ७० किलो भुटुक प्रतिकिलो २० रुपैयाँका दरमा बिक्री गरे । त्यही रकमले उनको ६ महिनाको चियामसला चल्यो ।


भुटुकसँगै ४० रुपैयाँ किलोमा एक क्विन्टल गिठाभ्याकुर, ३० रुपैयाँ किलोमा एक क्विन्टल अमला, १८ रुपैयाँ किलोमा पाँच क्विन्टल भक्कु अमिलो र ५० रुपैयाँ किलोमा ३० किलो भकिम्लो पनि उनले बिक्री गरे । यी खाद्यवस्तु वर्षौंदेखि जंगलमा त्यसै खेर गएका थिए । तर, गाउँमा वस्तु साटासाट गर्ने पैंचो पसल पुगेपछि घरमा उत्पादन हुनेबाहेक जंगलमा पाइने खाद्यवस्तु टिपेर बिक्री गर्दै गाउँले किसान वर्षभरिको खर्च जोहो गर्दै छन् ।


‘मैले यी सबै सामान लगेर पैंचो पसललाई दिन्छु,’ कँडेलले भने, ‘पैसा लिन्न, वर्षभरि जे चाहिन्छ, त्यही पसलबाटै ल्याउँछु ।’ यसबाहेक उनले घरमा उत्पादन हुने घिउदेखि जंगलमा पलाएका बाँसका तामासम्म पैंचो पसलमै बिक्री गर्छन् ।


घर, खेतबारी र जंगलमा उत्पादन हुने र आफैं फल्ने अनि खानयोग्य सामग्री किसानबाट संकलन गर्न स्थानीयकै पहलमा गाउँमा पैंचो पसल खुलेपछि किसानले आम्दानी बढाउन थालेका छन् । परम्परागत खेती गर्ने किसानलाई पैंचो पसलले उत्पादनमुखी र व्यावसायिक बन्न सिकाएको छ । घरबारीमा फलेका फलफूलदेखि उत्पादित वस्तु एकापसमा बाँडेर खाने छिमेकी पनि अहिले हरेक वस्तु बिक्री गर्न र आम्दानी लिन पल्केका छन् । आम्दानी बढेसँगै किसानको आकर्षण उपभोक्ताभन्दा पैंचो पसलमा बढ्दो छ ।


किसानका सामग्री खरिद गर्ने र त्यसबापत किसानलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउने गरी चार वर्षअघि रुरु ४ बलेटक्सारमा पैंचो पसल खुलेको हो । यसले जंगलमा फल्ने भुटुक, तामा र सिस्नोसम्म किसानबाट खरिद गर्छ । त्यसबापत किसानलाई खाद्यवस्तुका साथै नगद पनि उपलब्ध गराउँछ ।


‘मैले घरमा त्यसै खेर जाने गरेका तरकारीजन्य सामग्री बिक्री गरेर गत वर्ष झन्डै ८५ हजार रुपैयाँ आम्दानी गरें,’ रुरु ५ बम्घाका हिमलाल ज्ञवालीले भने, ‘बारीमै कुहिएर जाने फर्सी बिक्रीबाट मात्र यस वर्ष २६ हजार आम्दानी भयो ।’ फर्सीसँगै कुभिन्डो, गिठा, भ्याकुर पनि पैंचोले खरिद गर्न थालेपछि आम्दानी बढेको उनले सुनाए ।


कृषिजन्य वस्तु साटासाट गर्ने गरी खुलेको पैंचोले घर र बारीमै पुगेर किसानका सबै उत्पादन खरिद गर्छ । किसानको सहयोगका लागि कृषि प्राविधिक गाउँमै खटाउँछ । उनीहरूले किसानलाई नि:शुल्क सेवा दिन्छन् । त्यसले किसानलाई उत्पादन बढाउन सहयोग पुगेको छ । कुन गाउँमा कति किसानले कति जग्गामा के के खेती लगाएका छन्, त्यसको विवरण पैंचोले राख्छ ।


प्रकाशित : भाद्र ६, २०७५ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्