कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुल लगातार विजयी

वाटफर्ड पनि अपराजित

लिभरपुल (एएफपी) — इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार ब्राइटनलाई १–० ले पराजित गर्दै लिभरपुलले तेस्रो खेलसम्म शतप्रतिशत जितको नतिजा कायम राखेको छ ।

लिभरपुल लगातार विजयी

यस जितसँगै लिभरपुल सन् २०१६ नोभेम्बरयता पहिलोपटक शीर्षस्थानमा पुग्न सफल रह्यो ।

मोहम्मद सलाहले घरेलु मैदानमा गोलको क्रमलाई निरन्तरता दिँदा लिभरपुलले जित दर्ता गरेको हो । पछिल्लो सिजन इटालियन क्लब एएस रोमाबाट लिभरपुल आएका सलाहले घरेलु मैदानमा खेलेका २९ खेलमा २९ गोल गरेका छन् । शनिबार पनि पहिलो हाफको २३ औं मिनेटमा ब्राजिलियन रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गर्दै उनले विजयी गोल गरे । फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको पासमा सलाहले विपक्षी गोलरक्षक म्याट रायनलाई रोक्ने कुनै अवसर दिएनन् ।

आक्रामक रूपमा लयमा रहँदै आएको लिभरपुलले यस सिजन रक्षात्मक रूपमा पनि उच्च प्रदर्शन गरेको छ । लगातार तेस्रो खेलमा क्लिन सिट राख्ने क्रममा यसै सिजन क्लबमा आएका गोलरक्षक एलिसन बेकरले राम्रो प्रदर्शन गरे । उनले अन्तिम समयमा पास्कल ग्रसको प्रहारलाई विफल पार्दै लिभरपुलको तीन अंक पक्का गरेका थिए ।

लिगअन्तर्गत आइतबार भएको खेलमा वाटफर्डले पनि सिजनको उत्कृष्ट सुरुआतलाई निरन्तरता दिने क्रममा तेस्रो जित दर्ता गर्‍यो । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गर्दा सबै गोल दोस्रो हाफमा सम्भव भए । वाटफर्डलाई रोबर्टो परेराले ५३ औं मिनेटमा अग्रता दिलाएका थिए ।

जोसे होलेबासले ७१ औं मिनेटमा लामो दूरीबाट गोल गर्दै २–० को अग्रता दिलाए । विल्फ्रिड जाहाले १२ मिनेट बाँकी छँदा गोल गरे पनि वाटफर्डको जितमा प्यालेस बाधक बन्न सकेन । लिगअन्तर्गत सोमबार म्यानचेस्टर युनाइटेड र टोटेनहम हट्सपर भिड्नेछन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?