कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रशिक्षकको जुधाइमा जुडो

प्रशिक्षकबीचको असझदारीले जित्र्नेपर्ने खेलहरू गुमाउनुपरेको जुडोकै एक पदाधिकारीले बताए । उनका अनुसार खेलाडीले प्रशिक्षकका लागि गुटबन्दी गरे ।
ध्रुव तुलाधर

जकार्ता — पदक आस गरिएको जुडोका खेलाडीले १८ औं एसियाली खेलकुदमा एउटै खेल जित्न सकेनन् । पछिल्लो तीन दिन प्रतिस्पर्धामा रहेका नेपालका आठ जुडो खेलाडी जितविहीन भए ।

प्रशिक्षकको जुधाइमा जुडो

व्यक्तिगततर्फ उनीहरूले एउटै बाउट जितेनन् । मिक्स टिमतर्फ शनिबार खेल्दै छन् । पदकको रटान दिइए पनि नेपाली खेलाडीहरू त्यसको छेउछाउसम्म पुग्न सकेनन् ।

जकार्ता कन्भेन्सन सेन्टरको हल ‘बी’ मा शुक्रबार खेलेका श्रीराम मकाजु, रविन श्रेष्ठ र पुनम श्रेष्ठ तीनैजना पराजित भए । पुरुष ९० केजीमुनि तौल समूहमा श्रीराम २ मिनेट पनि टिक्न नसकी ताजकिस्तानका क्रोम्रोनसोकसँग इप्पोनमा हारे ।

पुरुष १०० केजीमा रविनको हार पनि त्यस्तै रह्यो । उनी पनि उज्वेकिस्तानका प्रतिद्वन्द्वी जुराइभ सेरालीसँग हारे । पुनमले दुई खेल खेलिन् । दुवैमा हार बेहोरिन् । महिला ७८ केजीमुनि क्वाटरफाइनलमा पुनम दक्षिण कोरियाकी युजिन पार्कसँग इप्पोनमै हारिन् । पार्क फाइनल पुगेकीले पुनमले रिपिचेजमा खेल्ने अवसर पाइन् । त्यसमा पनि उनी जुडोकै भाषामा तीन सिदो खाँदै काजकिस्तानकी जरिना राइफोभासँग पराजित भएकी हुन् ।

अघिल्लो दुई दिन ओलम्पियन फुपूल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान, सञ्जित डंगोल, इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भइसकेका थिए । शुक्रबार बाँकी तीन खेलाडीको लज्जास्पद हारले पदक आस टुंगिएको हो ।

तेक्वान्दो, कराँते, उसु खेलमा जसरी जुडोबाट पनि पदकको अपेक्षा गरिएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा गरेको प्रदर्शन र प्राप्त सफलताका कारण जारी एसियाडबाट कुनै न कुनै पदक जित्ने जुडोको दाबी थियो ।

झन्डै एक वर्षदेखि विदेशी प्रशिक्षकको नेतृत्वमा प्रशिक्षणरत रहेकाले पनि जुडोको अपेक्षा बढ्तै थियो । नेपाली खेलाडी आईजेएफ (अन्तर्राष्ट्रिय जुडो महासंघ) बाट पठाइएको रोमानियाका प्रशिक्षक डान टेलेरकाबाट प्रशिक्षित थिए । उनी जुडोका छैटौं डान हुन् ।

खेलस्थलबाट बाहिरिने बित्तिकै सपिङ मलमा जुडो खेलाडी ।

फुपूल्हामु १२ औं सागकी स्वर्ण विजेता खेलाडी हुन् । आईओसी र आईजेएफको छात्रवृत्तिमा उनी दुई महिनायता जुडोकै जन्मभूमि जापानमा प्रशिक्षणरत छिन् । अन्य खेलाडीले पनि हंगेरीको बुढापेस्टमा प्रशिक्षण गरेर आएका थिए । बैंंककमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलताले पनि पदक आशालाई बलियो बनाएको थियो ।

प्रशिक्षकको इगो छताछुल्ल
एसियाली खेलकुद दौरान जुडोको प्रशिक्षक ‘इगो’ विवाद सतहमै छताछुल्ल भएको छ । एसियाडको खेलाडी भिलेजदेखि खेलस्थलको म्याटसम्म पुग्दा विवाद जारी थियो । जुडोबाट तीन प्रशिक्षक जकार्ता आइपुगेका छन् ।

विदेशी टेलेरकासहित चन्द्रकुमार डंगोल र देवु थापा एसियाड टोलीमा छन् । चन्द्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) र देवु नेपाल पुलिस क्लबकी प्रशिक्षक हुन् । उनीहरू र विदेशी प्रशिक्षकबीच तीव्र असमझदारी देखिएको छ । स्वदेशमै हुँदा रहेको असमझदारी यहाँ थप प्रस्ट भएको छ ।

प्रशिक्षकबीचको असझदारीले जित्र्नेपर्ने खेलहरू गुमाउनुपरेको जुडोकै एक पदाधिकारीले बताए । उनका अनुसार खेलाडीले प्रशिक्षकका लागि गुटबन्दी गरे । खेलाडी अनुशासनमा रहेनन् । त्यसले गर्दा प्रदर्शनमा राम्रो नतिजा निस्केन । प्लेयर बक्समा देवु थापा प्रशिक्षक नभए खेलाडीले म्याटमै जान्नसमेत भनेको ती पदाधिकारीले सुनाए ।

पहिलो दिन प्लेयर बक्स प्रशिक्षकमा टेलेरका नै थिए । दोस्रो दिन उनलाई राखिएन । प्लेयर बक्समा थिइन् देवु । सागमा रजतपदक जितिसकेकी मनिता श्रेष्ठले ‘बक्समा देवु दिदी नभए खेल्दिन’ समेत भनिन् रे । यसमा टेलेरकाको तीव्र असन्तुष्टि थियो । टेलेरकाले जुडोका म्यानेजर सुरज डोटेललाई तथानाम भने । ‘तिमीहरूका खेलाडीले देशका लागि खेलेका हुन् वा एउटा टिम पुलिसका लागि,’ म्यानेजर डोटेलले आफूसँग जंगिएर भनेको सुनाए, ‘हंगेरी लगेर प्रशिक्षण गर्ने व्यवस्थासमेत मिलाएँ । मैले कसका लागि गरिहरहेको छु । नेपालका लागि हैन ?’

त्यसअघि नै भिलेजभित्र टेलेरका र चन्द्र डंगोलबीच हात हालाहालको स्थिति बनेको पनि सुनिन आयो । म्यानेजर डोटेलले पनि प्रशिक्षकबीच इगो समस्याले खेलाडीको प्रदर्शनमा असर गरेको स्वीकारे ।

टेलेरका हक्की स्वभावका छन् । छैटौं डानका उनी त्यहीअनुसारको व्यवहार देखाउँछन् । आफूलाई अब्बल ठान्छन् । त्यसलाई नेपाली प्रशिक्षकले स्विकार्न नसक्नुले यहाँ समस्या देखिएन आएको हो ।

बिहीबार जुडो प्रशिक्षकको विवाद निस्किएपछि बेलुका नै भिलेजमा नेपाली टोलीको म्यानेजर मिटिङबाट त्यसलाई समाधान गर्ने प्रयास गरिएको थियो । राष्ट्रिय टिम तयारी समितिका रिम रानाभाटले तत्कालका लागि समस्या समाधान गर्ने प्रयास गरिएको बताए ।

उनले भने, ‘जुडोमा प्रशिक्षकबीच विवाद देखियो भन्ने बाहिर आयो । सबै राखेर छलफल गर्‍यौं । यहाँ देशका लागि खेल्न आएकाले आन्तरिक असझदारी हटाउनुपर्छ भन्ने भयो । शुक्रबार विदेशी प्रशिक्षकलाई नै प्लेयर बक्स जिम्मा दिने सहमतिमा विवाद मत्थर पारिएको थियो ।’

यस विषयमा नेपाली प्रशिक्षक र खेलाडी बोल्न चाहेनन् । खेल सकिएपछि उनीहरू मिक्स्ड जोनमै आएनन् । जबकि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा जो–कसैलाई मिडियाले माग गरिसकेपछि उनीहरू उपलब्ध हुनुपर्ने नियम छ ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले आफ्ना प्रशिक्षकबीच समस्या रहेको स्विकार्दै त्यसलाई मिलाउने प्रयास भइरहेको बताए । उनले एसियाडमा नेपाली जुडोले सोचेभन्दा धेरै नराम्रो प्रदर्शन भएको बताए । उनले भने, ‘हामीले जे सोचेका थियौं, त्यो हुन सकेन । त्यसैले यहाँ हामी निराश छौं । कहाँ असफल भयौं, प्रतिस्पर्धा सकिएपछि त्यसबारे समीक्षा गर्छौं ।’

सन् ११९६ को सोल एसियाडमा जुडोको प्रवेश भएको थियो । त्यही संस्करणदेखि नै नेपालले जुडोमा सहभागिता जनाउँदै आएको हो । तर अहिलेसम्म नेपालले जुडोबाट पदक जित्न सकेको छैन ।

पछिल्लो ग्वाङझाउ २०१० र इन्चोन २०१४ को एसियाडमा जस्तै नेपालले एउटै पदक लिएर जकार्ताबाट फर्कनुपर्ने भएको छ । ग्वाङझाउमा बक्सिङ र इन्चोनमा कराँतेले कांस्यपदक जितेका थिए । यहाँ दुई दिनअघि डेब्यु खेल पाराग्लाइडिङले रजतपदक जितेर इतिहास रचेको थियो ।

अब नेपालले जुडो मिक्स्ड टिम र ट्रायथलनमा प्रतिस्पर्धा गर्न बाँकी छ । दुवै इभेन्ट शनिबार हुनेछन् । ट्रायथलन एसियाड आयोजनाको अर्को सहर पालेम्बाङमा भइरहेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?