कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोड्रिच उत्कृष्ट

एएफपी

मोनाको — रियल म्याड्रिड र क्रोएसियाका स्टार लुका मोड्रिचले बिहीबार यूईएफए प्लेयर अफ द इयरको उपाधि जितेका छन् ।

मोड्रिच उत्कृष्ट

उनले उपाधि हत्याउने क्रममा रियलकै पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पारे ।

‘म प्रतिष्ठित अवार्डबाट विभूषित हुन पाउँदा एकदम खुसी छु । मैले यसका लागि आफ्नो खेलजीवनकै उत्कृष्ट फुटबल खेलें र यहाँ आउन निकै मिहिनेत गरेको छु,’ मोड्रिचले भने । उनकै उत्कृष्ट प्रदर्शन मदतले रियल म्याड्रिड लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको थियो ।

मोड्रिचको कप्तानीमा क्रोएसियाले रुसमा भएको विश्वकपमा फाइनलको यात्रा तय गरेको थियो । ‘यो वर्ष मेरो करियरकै उत्कृष्ट समय रह्यो । टोली र व्यक्तिगत हिसाबमा मैले धेरै सफलता पाएँ,’ ३२ वर्षीय मिडफिल्डरले थपे । क्रोएसियाको डिनामो जाग्रेबबाट करियर सुरु
गरेका मोड्रिचले ४ सिजन इंग्लिस क्लब टोटेनहम हट्स्परबाट खेलेका थिए । उनी सन् २०१२ मा रियल म्याड्रिड आएका थिए ।

युरोपको उत्कृष्ट खेलाडी घोषित भएसँगै उनलाई बालोन डी’ओर उपाधिको दाबेदारका रूपमा हेरिएको छ । मोड्रिचले विश्वकपको उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल प्राप्त गरेका थिए ।

पछिल्लो एक दशक रोनाल्डो र मेसीले बालोन डी’ओरमा दबदबा जमाउँदै आएका छन् । यूईएफाको उत्कृष्ट खेलाडी उपाधिको शीर्ष तीनमा परेका सलाह उपस्थित भए पनि रोनाल्डो भने कार्यक्रममा थिएनन् । ‘उनी यहाँ नहुनु केही खल्लो पक्कै लागेको छ । उनको केही विशेष कामले यहाँ उपस्थित हुन नसकेका होलान् । उनी आएको भए पक्कै खुसी हुने थिएँ । आशा छ म छिट्टै उनलाई भेट्नेछु,’ पूर्वसहकर्मीबारे मोड्रिचले भने ।

मोड्रिच यस ट्रान्सफर विन्डोमा क्लब छाडेर जाने हल्ला चले पनि उनले त्यसलाई नकारे । ‘मैले म यहाँ खुसी छु भनेर सधैं भन्दै आएको छु । रियल विश्वकै उत्कृष्ट क्लब हो । म यहाँ खुसी मात्र हैन धेरै नै खुसी छु,’ मोड्रिचले प्रस्ट्याए ।

रियलले गत सिजन हासिल गरेको अपार सफलता अवार्ड समारोहको मुख्य पाटो रह्यो । मोड्रिचले गत सिजनको उत्कृष्ट मिडफिल्डरको उपाधि पनि हात पारे । उनीसँगै क्लबका सहकर्मी सर्जियो रामोस उत्कृष्ट डिफेन्डर र केलर नाभास उत्कृष्ट गोलरक्षक घोषित भए । समारोहमा अनुपस्थित रोनाल्डोले उत्कृष्ट फरवार्डको उपाधि हात पारे ।

यस अवार्ड युरोपेली क्षेत्रमा व्यावसायिक फुटबल खेल्ने खेलाडीलाई प्रदान गर्ने गरिन्छ । च्याम्पियन्स लिग र युरोपा लिग खेल्ने क्लबसँगै युरोपका ५५ देशका खेल पत्रकारले यस अवार्डका लागि मतदान गर्ने गर्छन् । यस वर्ष महिलातर्फ भने पर्निल हार्डरले उत्कृष्ट खेलाडीको उपाधि हात पारिन् । उनको क्लब वल्फ्सबर्ग महिला च्याम्पियन्स लिगको फाइनलमा लियोनसँग पराजित भएको थियो ।

समारोहमा पूर्वइंग्ल्यान्ड कप्तान डेविड बेकह्याम यूईएफा प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भए । उनले खेल दौरान हासिल गरेको सफलता र त्यसपश्चात फुटबलमा गरेको क्रियाकलापको सम्मानस्वरूप यो उपाधि प्रदान गरिएको हो ।

बेकह्यामले आफ्नो करियर दौरान म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एसी मिलान, एलए ग्यालेक्सी र पेरिस सेन्ट जर्मेनबाट खेलेका थिए ।

प्रकाशित : भाद्र १६, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?