कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झिनो आशामा नेपाल

काठमाडौँ — नेपाल एसिया कप छनोटबाट बाहिरिसकेको छैन । फाइनल पुग्न पनि नेपाललाई सजिलो छैन । यही समीकरणमा रहेर नेपालले मंगलबार हङकङसँग राउन्ड रोबिनको अन्तिम खेल खेल्दै छ ।

झिनो आशामा नेपाल

स्पष्ट छ, नेपाललाई विजय मात्र पर्याप्त हुने छैन फाइनलमा पुर्‍याउन । नेपालले हङकङमाथि ठूलो अन्तरको विजय हात पार्नुपर्नेछ । त्यत्तिले मात्र पुग्दैन पनि । शीर्ष स्थानमा रहेको ओमानसँग हुने मंगलबारको अर्को खेलमा यूएई पराजित पनि हुनुपर्नेछ । त्यो पनि ठूलो अन्तरमै ।

ओमानको ७, यूएईको ६, हङकङको ५ र नेपालको ४ अंक छ । नेपाल रन रेटमा धेरै पछाडि छ । आयोजक मलेसिया र पुछारमा रहेको सिंगापुर फाइनल दौडबाट बाहिरिसकेका छन् । राउन्ड रोबिनमा ६ टोली प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा खेल्नेछन् र विजेता टोली एसिया कपमा पुग्नेछ । एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ ।

पहिला ब्याटिङ गरेमा नेपालले हङकङमाथि १ सय २५ देखि १ सय ५० रनको फरकमा विजय हात पार्नुपर्नेछ । त्यसपछि ओमानले पनि यूएईलाई लगभग त्यही रन अन्तरमा पराजित गर्न सक्यो भने मात्र नेपालको फाइनल पुग्ने सम्भावना रहन्छ । यूएईले विजय हात पारेमा नेपाल स्वत: बाहिरिनेछ ।

हङकङले पहिला ब्याटिङ गरेमा उनीहरूलाई जतिसक्दो चाँडो अलआउट गर्नु नेपालको हितमा हुनेछ । जस्तो हङकङलाई १ सय ५० रन भित्र अलआउट गरेमा नेपालले २० ओभरभित्र त्यो लक्ष्य पूरा गरेर बस्नु उत्तम हुनेछ । ओमानले पनि यूएईसँग यस्तै अन्तरको विजय हात पार्नुपर्ने हुन्छ ।

नेपालमाथि विजय हात पारेमा तथा यूएईले ओमानलाई पराजित गरेमा हङकङको फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ । त्यसैले नेपालमाथि सबै दाउ लगाएर बस्नेमा हङकङ हुनेछ । हङकङले दाबेदार यूएईलाई १ सय ८२ रनले पराजित गरेर आफ्नो क्षमता देखाइसकेको छ ।

नेपालले मार्चमा विश्वकप छनोटबाट वान–डे अन्तर्राष्ट्रिय मान्यता पाउने क्रममा समूह चरणको अन्तिम खेलमा हङकङलाई नै पन्छाएको थियो । यसले हङकङका चार वर्षदेखिको वान–डे अन्तर्राष्ट्रिय मान्यता खोसिएको थियो । त्यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले नेपालमाथि सानो स्कोरको खेलमा विजय हात पारेको थियो । यी दुई टोली परमपरागत प्रतिद्वन्द्वी जस्तै हुन् ।

एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गर्ने प्रतियोगितामा नेपालले प्राय: हङकङमाथि विजय हात पार्दै आएको छ । गत वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ टिम्स कपमा नेपालले २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा हङकङमाथि ७ विकेटको विजय हात पारेको थियो । मलेसियामा नेपालको मुख्य चिन्ता भनेको त्यो अनुरूपको ब्याटिङ देखिएको छैन ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?