कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइटेड विजयी, टोटेनहमको हार

एएफपी

लन्डन — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार बर्नलीको घरेलु मैदानमा २–० को सहज जित दर्ता गरेको छ ।

युनाइटेड विजयी, टोटेनहमको हार

बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गरेपछि टोलीले महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो । अघिल्लो साता टोटेनहम हट्सपरले घरेलु मैदानमा ३–० ले हराएपछि दबाबमा परेका प्रशिक्षक जोसे मोउरिन्होलाई यस जितले उत्साह दिलाएको छ ।

खेलको २७ औं मिनेटमा एलेक्सिस स्यान्चेजको पासमा लुकाकुले गोलको खाता खोलेका थिए । उनले नै पहिलो हाफ सकिनुअघि गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । खेलको अन्तिम २० मिनेट भने युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । वैकल्पिक खेलाडी मार्कस रासफर्डले विपक्षी खेलाडीलाई टाउकाले हानेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

अर्को खेलमा टोटेनहम अपराजित रहेको वाटफर्डसँग २–१ ले पराजित भयो । घरेलु मैदानमा वाटफर्डका अब्दुलाए डुकुरेले ५३ औं मिनेटमा आत्मघाती गोल गरेपछि स्पर्स अगाडि बढेको थियो । तर ७ मिनेटको अन्तरमा २ गोल गरेपछि घरेलु टोली खेलमा फर्कियो ।

वाटफर्डका लागि ट्रोए डिनी र क्रेग काथकार्टले गोल गरे । वाटफर्ड यस जितपछि चार खेलमा १२ अंकसहित तालिकाको तेस्रो स्थानमा शत प्रतिशत नतिजा लिएर बसेको छ । स्पर्स ९ अंक जोड्दै पाँचौ र युनाइटेड ६ अंकसाथ १० औं स्थानमा छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?