एसिया कप छनोट: नेपाल बाहिरियो
काठमाडौँ — हङकङसँग लज्जास्पद पराजय भोगेपछि नेपाल एसिया कप छनोटबाट बाहिरिएको छ । सन्दीप लामिछानेको ५ विकेट प्रदर्शनलाई पन्छाउँदै हङकङले मंगलबार नेपालमाथि ३ विकेटको विजय हात पार्यो ।
यो विजय हङकङलाई फाइनलमा पुर्याउन पर्याप्त बन्यो ।
फाइनल पुग्ने आशालाई जीवितै राख्न नेपालले हङकङमाथि ठूलो अन्तरको विजय हात पार्नुपथ्र्यो । तर निर्णायक जस्तै मानिएको खेलमा नेपालको ब्याटिङ पुन: फितलो रह्यो । टस जितेपछि ब्याटिङ रोजेको वान–डे अन्तर्राष्ट्रिय मान्यता राष्ट्र नेपाल ३७.५ ओभरमा ९५ रनमै अलआउट भयो । हङकङलाई लक्ष्य पछ्याउन सजिलो रहेन । टोलीले ३३ औं ओभरमा लक्ष्य पूरा गर्यो ।
हङकङको विजयले फाइनल निश्चित जस्तै थियो । र, भयो पनि त्यस्तै । दिनको अर्को खेलमा यूएईले अपराजित रहेको ओमानलाई १३ रनले पराजित गर्यो । पहिला ब्याटिङ गरेको यूएईले ८ विकेट गुमाई २ सय ८ रन बनायो । जवाफमा ओमान ४७.२ ओभरमा १ सय ९५ रनमै खुम्चियो । यूएईको ८ तथा हङकङ र ओमानको ७, ७ अंक भयो । तर हङकङले रन रेटमा ओमानलाई पछाडि पार्यो ।
राउन्ड रोबिनमा ६ टोली प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा खेल्ने प्रावधानअनुरूप बिहीबार हुने फाइनलमा यूएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । एसिया कप छनोटको विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर प्रतिस्पर्धा गर्नेछ । मलेसियामा भइरहेको एसिया कप छनोटमा नेपालको ४ तथा मलेसिया र सिंगापुरको २–२ अंक रह्यो ।
खेलको पहिलो बलमा वाइड फालेका अफजल तान्विरले त्यसपछिको बलमा सुवास खकुरेललाई बोल्ड गरे । कप्तान पारस खड्का १५, अनिलकुमार शाह १४, ज्ञानेन्द्र मल्ल १२, दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शून्यमा आउट भएपछि नेपालको ब्याटिङ धराशायी हुन पुग्यो । आरिफ शेख र वसन्त रेग्मीले नेपालको ५८–७ को स्कोरलाई ९२ रनसम्म पुर्याए ।
त्यही नेपालले ३ रनमा अन्तिम ३ विकेट गुमायो ।
आरिफले नेपालबाट सर्वाधिक १८ र वसन्तले १५ रन बनाए । आरिफसहित सन्दीप र ललित नारायण राजवंशी गरी नेपालको अन्तिम ३ विकेट एहसान खानले लिए । उनले ७.५ ओभर बलिङ गर्दै १ मेडन राखेर १५ रन खर्चेर कुल ४ विकेट लिए । अफजल र एइजाज खानले २–२ तथा एहसान नवाज र नदिम अहमदले १–१ विकेट लिए ।
हङकङको सुरुआत राम्रो थिएन । सन्दीपले तेस्रो ओभरमा जेम्स कार्टरलाई ८ रनमा बोल्ड गरे । बाबर हायतलाई पनि सन्दीपले २ रनमै बोल्ड गरे । निजाकत खान २, किञ्चित शाह ११, एहसान २, एजाज शून्यमा आउट भए पनि ओपनर अंशुमन रथले अर्धशतक बनाउँदै नेपाललाई जिताए । म्यान अफ द म्याच उनले ८२ बलमा ५२ रन बनाउने क्रममा ३ चौका र १ छक्का प्रहार गरे । सन्दीपले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट लिए । वसन्त र सागरले १–१ विकेट लिए ।
प्रकाशित : भाद्र २०, २०७५ ०७:४०