कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जोकोभिच सेमिफाइनलमा

एएफपी

न्युयोर्क — दुईपल्टका विजेता नोभाक जोकोभिचले अस्ट्रेलियन जोन मिल्म्यानलाई पराजित गर्दै यूएस ओपन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन् ।

जोकोभिच सेमिफाइनलमा

५५ औं वरीयताका अस्ट्रेलियन मिल्म्यानको जादुमयी यात्रा टुंग्याएका जोकोभिचले अब जापानी केई निसिकोरीको सामना गर्नेछन् ।

विम्बल्डनको उपाधि जितेर ५४ साता लामो उपाधिको खडेरी तोडेका जोकोभिचले अस्ट्रेलियन मिल्म्यानलाई ६–३, ६–४, ६–४ ले पराजित गरे । पछिल्लो ११ सहभागितामा जोकोभिच ११ औं पटक सेमिफाइनल पुगेका हुन् । उनले सन् २०११ र २०१५ मा उपाधि नै जितेका थिए । मिल्म्यानले चौथो चरणको खेलमा रोजर फेडेररलाई पराजित गरेका थिए ।

जोकोभिचविरुद्ध पनि कडा परिश्रम गरेका उनले खेललाई २ घण्टा ४९ मिनेटसम्म लम्ब्याएका थिए । ‘निकै कडा परिश्रम गर्नुपर्‍यो,’ खेलपछि जोकोभिचले भने, ‘मिल्म्यानले निकै थकाएर खेल्छन् र हरेक अंक जिताउन कसरत गराउँछन् । उनले आफैं पनि धेरै बल छुटाउँदैनन् र दायाँबायाँ कुदिरहन सक्छन् ।’

यस्तै २१ औं वरीयताका निसिकोरीले मारिन सिलिचलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । सन् २०१४ को फाइनलमा सिलिचसँग पराजित भएका निसिकोरीले २–६, ६–४, ७–६ (७/५), ६–४ को सेटमा जित दर्ता गरेका हुन् ।

नाओमी ओसाका

अघिल्लो वर्ष हत्केलाको चोटका कारण प्रतियोगिता गुमाएका निसिकोरीले यसपालि राम्रो प्रदर्शन गरेका छन् । उनीसँगै महिलातर्फ जापानकी नाओमी ओसाकाले पनि सेमिफाइनलमा स्थान बनाएकी छन् ।

ग्रान्डस्लामको एकै संस्करणमा दुई जापानी खेलाडी सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । सन् २०१४ मा निसिकोरी तत्कालीन नम्बर एक जोकोभिचलाई पराजित गर्दै ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो एसियाली खेलाडी बनेका थिए । त्यसयता भने उनले फाइनल यात्रा तय गरेका छैनन् । सन् २०१६ मा पनि उनी यूएस ओपनको सेमिफाइनलमा रोकिएका थिए । त्यतिबेला सिलिचसँगको खेल ४ घण्टा ८ मिनेट चलेको थियो ।

‘मलाई थाहा छैन तर सिलिचसँगको खेल सधैं चुनौतीपूर्ण हुने गर्दछ,’ क्रोएसियाली खेलाडीविरुद्ध आफ्नो रेकर्ड ९ जित र ६ हार बनाएका जापानी निसिकोरीले भने । ‘म हरेक अंकका लागि संघर्ष गर्छु । विशेषगरी अन्त्यतिर मैले हरेक अंकका लागि ध्यान दिएको हुन्छु । आशा छ अर्कोपल्ट खेल पाँचाैं सेटसम्म पुग्ने छैन,’ उनले थपे ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?