साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश, बंगलादेश २-० गोल अन्तरले पराजित
बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' अन्तर्गतको लिगको अन्तिम खेलमा बंगलादेशलाई २-० गोल अन्तरले हराएर समुह विजेता हुँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको छ ।
नेपालका लागि विमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए । बिमलले ३३ मिनेटमा र नवयुगले ८९ औं मिनेटमा गोल गरेर नेपाली टोलीलाई जित दिलाएका थिए ।
नेपालले सेमिफाइनल यात्राको लागि नेपाललाई जित्नै पर्ने आवश्यकता थियो । पाकिस्तानले आजै भएको खेलमा भुटानलाई ३-० ले हराएपछि नेपाललाई जित्नै पर्ने दबाब परेको थियो ।
नेपालसँगै पाकिस्तानले पनि सेमिफाइनलको यात्रा तय गरेको छ भने आयोजक राष्ट्र बंगलादेश र भुटान बाहिरिएका छन् ।
नेपालको लाइन अप : किरण लिम्बू, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ, सुनिल बल, निराजन खड्का, रोहित चन्द, भरत खवास, विमल घर्तिमगर ।