कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतसँग कमजोरी सुधार्ने मौका

विनोद पाण्डे

काठमाडौँ — भारत यू–१९ ‘बी’ सँग कमजोर देखिएको नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले अर्को खेलमा आफ्नो टोलीबाट सुधारिएको प्रर्दशनको अपेक्षा राखेका छन् । चार टिमसम्मिलित यू–१९ क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार भारत यू–१९ ‘ए’ सँग खेल्दै छ ।

भारतसँग कमजोरी सुधार्ने मौका

पहिलो दिनको खेलमा नेपाली यू–१९ ले १ सय ६२ रनको लक्ष्य पछ्याउन नसक्दा भारत यू–१९ ‘बी’ सँग ४० रनले पराजित भयो । भारत यू–१९ ‘बी’ लाई ४९ ओभरमा १ सय ६१ रनमा अलआउट गरेपछि जवाफी ब्याटिङमा आएको नेपाली यू–१९ को इनिङ्स ४२ औं ओभरमा १ सय २१ रनमै खुम्चिएको थियो ।


‘भारत यू–१९ ‘बी’ सँग भन्दा हाम्रो सुधारिएको प्रदर्शन हुनेछ । ब्याटिङमा अझ सकारात्मक हुनलाई हामी सक्दो उत्कृष्ट दिन खोज्नेछौं,’ प्रशिक्षक दासले लखनउबाट कान्तिपुरसँग भने । प्रतियोगिताको अर्को टोलीमा अफगानिस्तान यू–१९ छ । पहिलो खेलमै पराजित भएकाले फाइनलमा पुग्ने आशा जीवित राख्न नेपालले भारत यू–१९ ‘ए’ सँगको खेल जित्नैपर्ने स्थितिमा हुनेछ ।


यथार्थमा भने ‘बी’ को तुलनामा ‘ए’ बलियो टोली रहेकाले नेपाली यू–१९ को ध्यान कसरी सकारात्मक खेल्ने भन्नेमा देखिन्छ । पुगनपुग तीन साताको तयारीले भारत यू–१९ को ‘बी’ टोलीलाई नेपालले चुनौती दिन सकेको थिएन । ‘नेपाली टोलीमा धेरै युवा खेलाडी छन् र उनीहरूले यसअघि यो स्तरमा खेलेका छैनन् । त्यसैले अलिकति गाह्रो हुनु सामान्य नै हो । सेट हुन उनीहरूलाई अलि समय लाग्छ,’ दासले भने, ‘यस्तो स्तरीय प्रतिद्वन्द्वी उनीहरूले पहिला सामना गरेका पनि थिएनन् ।’


दासका अनुसार पवन सर्राफ, आशिफ शेख, कमलसिंह ऐरी, भीम सार्की र सन्दीप जोराले यसअघि यो स्तरमा खेलिसकेकाले उनीहरूको प्रदर्शन पनि त्यहीअनुरुप देखिएको थियो । त्यसैले नयाँ खेलाडीलाई पनि टिक्न केही समय लाग्ने र त्यसपछि राम्रो हुनेमा दास आशावादी छन् । बलिङमा कमलले ३ र पवनले २ विकेट लिएका थिए । ब्याटिङमा भीमले ३०, कमलले २२, कप्तान आशिफले १७ र पवनले १२ रन जोडेका थिए । सन्दीप ४ रनमै आउट भएका थिए ।


नेपालको टिमलाई हेर्ने हो भने स्वभाविक नै छ नतिजाभन्दा प्रदर्शन सुधार्नेमा टोलीको जोड रहेको छ । ‘ब्याटिङमा सुधार अत्यन्त महत्त्वपूर्ण छ । हामी केही आक्रामक शैलीमा आउनुपर्छ, स्कोर हेर्दै स्ट्राइक रोटेट गर्न सक्नुपर्छ । त्यसो भएमा हामीमा सकारात्मकपन आउँछ र जे जति अवसर बन्छ त्यसको सदुपयोग गर्नुपर्छ,’ दासले भने ।


नेपालले गत वर्ष मलेसियामा एसीसी यू–१९ एसिया कपमा भारत यू–१९ माथि १९ रनको विजय हात पारेको थियो । त्यो विगत भइसक्यो । त्यसमा रहेका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार शाह, रोहितकुमार पौडेल राष्ट्रिय टोलीमा छन् । भारत गएको यू–१९ नेपाली टोलीमा धेरै नयाँ अनुहार छन् । विगतको नतिजाले कुनै अर्थ नराख्ने तर्क राख्दै दास भन्छन्, ‘हामी सबैलाई थाहा छ भारतीय टिमलाई चुनौती दिन हामीले आफ्नो उत्कृष्ट खेल्नुपर्छ । पछिल्लो नतिजाले अहिले अर्थ राख्दैन । केही विशेष गर्न हामीले कसरी हुन्छ राम्रो दिने प्रयास गर्नुपर्छ ।’


मलेसियामा नेपालले ऐतिहासिक विजय हात पार्दा भारत यू–१९ का प्रशिक्षक भारतका पूर्व ब्याटिङ हस्ती राहुल द्रविड थिए । दासले त्यही द्रविडसमक्ष नेपाललाई पनि अवसरका लागि आफूले कुरा राखेको जनाउँछन् । त्यहीबाट यो प्रस्ताव नेपालका लागि विगतमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिनिधि रहँदै आएका बैंकटपति राजुसमक्ष पुर्‍याएपछि उनले द्रविडसम्म पुन: पुर्‍याएका थिए । त्यही भारतीय क्रिकेट बोर्डले नेपाललाई यो प्रतियोगिता खेल्ने अवसर दिएको थियो ।


पहिलो खेलमै भारत यू–१९ ‘बी’ सँग पराजित भएकाले नेपालले लखनउमा बाँकी दुई खेलमा खासै ठूलो अपेक्षा नगरेको हुनसक्छ । तर यसले सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा हुने एसीसी यू–१९ एसिया कपमा नेपालको तयारीलाई आधार बनाउने स्पष्ट देखिन्छ । संयोगले यू–१९ एसिया कपमा नेपालले भारत, अफगानिस्तानसहित यूएईसँग खेल्दै छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?