कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले क्यूपीआरसँग खेल्ने

लन्डन / काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टोलीले इंग्लिस फुटबल टोली क्विन्स पार्क रेन्जर्स (क्यूपीआर) सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सबै प्रक्रिया सहज रूपमा अगाडि बढेमा नेपालले इंग्लिस प्रिमियर लिगको पूर्व टोलीसँग २०१९ को मेमा खेल्नेछ । खेल क्यूपीआरकै मैदानमा हुनेछ ।

नेपालले क्यूपीआरसँग खेल्ने

फिफा वेस्ट वर्ष फुटबलरका लागि अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा तथा उपाध्यक्षद्वय कृष्ण थापा र उपेन्द्रमान सिंह इंग्ल्यान्ड आएको समयमा नेपाल टिमको इंग्ल्यान्ड भ्रमणले मूर्त रुप लिन लागेको हो । राष्ट्रिय फुटबल टोलीले पहिलोपल्ट इंग्ल्यान्ड भ्रमण गएर खेल्न लागेको हो ।


नेपाली फुटबल पदाधिकारीले बुधबार लफ्टस रोडस्थित क्यूपीआर रंगशालामा गएर इंग्लिस टोलीसँग सम्भावित मैत्रीपूर्ण खेल र अन्य पक्षबारे छलफल गरेका थिए । क्यूपीआरबाट प्रमुख कार्यकारी अधिकृत ली हुस, कमर्सियल निर्देशक इयान इङलिस र ट्रस्टका प्रमुख कार्यकारी अधिकृत एन्डी इभान्सले छलफलमा सहभागिता जनाएका थिए ।


इंग्लिस फुटबलको जारी सिजन सकिएलगत्तै नेपालसामु म्याच खेल्न क्युपीआर टोलीले मिति अगाडि सारेको बेलायतका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष रहेका सिद्धार्थविक्रम क्षेत्रीले जनाए । छलफलमा सहभागी उनले भने, ‘पहिलो बैठक निकै सकारात्मक थियो । मार्केटिङ, कमर्सियल पाटोबारे अझै विस्तृत छलफल हुन बाँकी छ ।’


क्षेत्रीसहित प्रशान्त कुँवरले एक वर्षअगाडिदेखि नेपाली टोलीलाई लन्डनमा बोलाएर खेलाउने विषयमा क्यूपीआरसँग छलफल गरिरहेका थिए । अप्रिलमा उनीहरूको यसअघि क्यूपीआरमा बैठक बस्दै प्रक्रिया अगाडि बढेको थियो । त्यसलाई एन्फा पदाधिकारीहरूले छलफल गरी अगाडि बढाएका हुन् । एन्फा अध्यक्ष शेर्पाले अहिले हतारमा क्यूपीआर टोलीसँग भेटेको र अझै विस्तृत छलफल हुन बाँकी रहेको जनाउँदै सबै पक्ष खुलाउन चाहेनन् ।

नेपालको जर्सी प्रदान गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा ।


सन् २०१३ सम्म प्रिमियर लिगमा रहेको क्यूपीआर अहिले २४ टोली सहभागी इंग्लिस फुटबल लिगको दोस्रो डिभिजन मानिएको च्याम्पिनसिपमा १६ औं स्थानमा छ । मेमा जारी सिजन सकिने र त्यसपछि मैदान बनाउन दुई महिना लाग्ने भएकाले क्यूपीआरले मे महिनाको प्रस्ताव राखेको क्षेत्रीले जनाए । नेपाल र क्यूपीआरको खेलस्तर एकैनासको नभएकाले क्यूपीआरले केही भेट्रान खेलाडीलाई पनि उतार्न सक्ने उनले जनाए । त्यस हिसाबमा इंग्लिस टोली नेपालसँग खेल्दा क्यूपीआर ११ को नामबाट उत्रन सक्नेछ ।


एन्फा प्रतिनिधिमण्डलले स्वदेश फर्केपछि नेपाली फुटबलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिका हेरेर क्यूपीआरले तोकेको मितिमा छलफल गर्नेछ । अध्यक्ष शेर्पाले अर्को स्थानीय इंग्लिस टोली अल्डरसट फुटबल क्लबका पदाधिकारीसँग पनि छलफल भएको जनाए । क्यूपीआरसँग खेल्न बेलायत भ्रमणमा जाँदा नेपालले अल्डरसटसँग पनि खेल्ने तालिका बन्ने सम्भावना छ । अल्डरसट इंग्लिस फुटबलको पाँचौं श्रेणीको टिम हो ।


एन्फा शेर्पा, उपाध्यक्षद्वय थापा र सिंह तथा सहारा यूके एवं अल्डरसट एफसी पदाधिकारीबीच मंगलबार अल्डरसट टाउन फुटबल क्लबमा बैठक भएको थियो । सहारा यूकेको पहलमा भएको बैठकमा अल्डरसट एफसीले नेपाली खेलाडीलाई आफ्नो मैदानमा ल्याएर इंग्ल्यान्डको टिमसँग मैत्रीपूर्ण खेल खेलाउने ‘ग्रिन सिग्नल’ दिएको सहारा यूके अध्यक्ष मीनबहादुर (साइँला) गुरुङले बताए ।


छलफलमा अल्डरसट टाउन एफसीका अध्यक्ष साहिद अजिमले अन्य समयमा आफ्ना खेलाडी लिग खेल्न व्यस्त हुने भएकाले आउँदो जुलाईमा खेल्न प्रस्ताव गरेपछि सोहीबमोजिम एन्फाले नेपालबाट खेलाडी पठाउन आवश्यक प्रक्रिया थाल्ने र सहारा यूकेले संयोजन गर्नेबारे सहमति भएको अध्यक्ष गुरुङले जनाए ।


बैठकपछि एन्फा, सहारा यूके र अल्डरसट एफसी पदाधिकारीले अल्डरसट एफसी र मेडस्टोन एफसीबीचको खेलसमेत अवलोकन गरेका थिए । सहारा यूकेले अम्पायरमा एन्फाका तीन पदाधिकारीसँग अन्तरक्रियासहित नेपालको खेल विकास र बेलायतमै रहेका खेलाडीलाई अवसरको सम्भावनाबारे छलफल गरेको थियो ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?