पुनरागमनमा हफिजको शतक

एएफपी

दुबई — ओपनर मोहम्मद हफिजले टेस्ट टोलीमा पुनरागमन गर्दै उत्कृष्ट शतक प्रहार गरेपछि अस्ट्रेलियाविरुद्ध पहिलो टेस्टको पहिलो दिन पाकिस्तानले बलियो सुरुआत लिएको छ । दुबईमा आइतबार खेल सकिँदा पाकिस्तान २५५–३ को स्थितिमा छ । हरिश सोहेल १५ रनमा खेलिरहेका छन् । नाइटवाचम्यान मोहम्मद अब्बास १ रनमा छन् ।

पुनरागमनमा हफिजको शतक

खेल हुनु केही दिनअघि घरेलु क्रिकेटमा दोहोरो शतक बनाएपछि राष्ट्रिय टोलीमा फर्किएका हफिजले १० औं टेस्ट शतक पूरा गरे । उनले झन्डै ५ घण्टा ब्याटिङ गर्ने क्रममा १ सय २६ रन जोडेका थिए । उनले अर्का ओपनर इमाम–उल हकसँग पहिलो विकेटमा २ सय ५ रनको साझेदारी गरेका थिए । इमामले करिअरकै सर्वाधिक ७६ रन जोडे ।


पाकिस्तानी कप्तान सरफराज अहमदको टस जितेर ब्याटिङ गर्ने निर्णयलाई ओपनरद्वयले सहिसाबित गरेका थिए । हफिज र इमामले अस्ट्रेलियाको तीव्र गति र स्पिन बलिङ दुवैको आक्रमण निस्तेज पार्दै लगातार रन जोडिरहे । अस्ट्रेलियन बलरले चिया सत्रअघि पाकिस्तानको विकेट झार्न सकेका थिएनन् ।


पाकिस्तानका लागि ५० टेस्ट खेलेका हफिजले पछिल्लोपल्ट दुई वर्षअघि इंग्ल्यान्डमा टेस्ट खेलेका थिए । उनले स्पिनर जोन हल्यान्डको बलमा दुई रन जोड्दै शतक पूरा गरेका थिए । त्यसअघिको ओभरमा उनले मिचेल स्टार्कलाई लगातार चौका प्रहार गरेका थिए । हफिजले ७४ रनमा छँदा जीवनदान पाएका थिए । हल्यान्डको बलमा मिचेल मार्सले २० यार्ड कुदेर बल नजिक पुगे पनि क्याच समाउन सकेनन् ।


इनिङ्समा १५ चौका प्रहार गरेका हफिज पिटर सिडलको बलमा एलबीडब्लु आउट भए । अगाडि डिफेन्स गर्न चाहेको बलमा उनी झुक्किएका थिए । अर्को महिना ३८ वर्ष पुग्न लागेका हफिजले टोलीमा फर्केर सहयोग गर्न पाउँदा निकै खुसी रहेको अभिव्यक्ति दिए । ‘टोलीका लागि शतक बनाएर मदत गर्न पाउँदा निकै खुसी छु । अब यो स्कोरमा २ सय ५० रन थपेर अस्ट्रेलियालाई दबाबमा राख्ने योजना छ,’ हफिजले भने ।


खेलमा अस्ट्रेलियाले चिया सत्रपछि मात्र विकेट लिन सकेको थियो । नाथन लायनले इमामलाई कट बिहाइन्ड गराउँदै पहिलो सफलता दिलाएका थिए । इमामले ७ चौका र २ छक्का प्रहार गरे । अजहर अली १८ रन जोड्दै क्याचआउट भए । अस्ट्रेलियाले आरोन फिन्च, ट्राभिस हेड र मार्नस लाबुसकाग्नलाई टेस्ट डेब्यु दिएको थियो । पाकिस्तानले पनि ३३ वर्षे विलाल आसिफलाई डेब्यु दिएको छ ।

प्रकाशित : आश्विन २२, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?