कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार र पुलिसको यात्रा सुरु

फ्रेन्ड्स १–२ थ्रीस्टार, जावलाखेल ०–१ पुलिस
कान्तिपुर संवाददाता

काठमाडौँ — उपाधिका दाबेदारहरू थ्रीस्टार र पुलिसले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार तीन अंक जोड्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यात्रा सुरु गरेका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार र पुलिसको यात्रा सुरु

थ्रीस्टारले ललितपुर डर्बीमा फ्रेन्ड्समाथि २–१ को जित रच्यो भने अजित भण्डारीको गोलको सहयोगमा पुलिसले जावलाखेल युवा क्लबलाई १–० ले पराजित गर्‍यो । फ्रि–किकमा बनेको मुभमा तेज तामाङको क्रसमा अजतलले ३१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै थ्रीस्टार र पुलिसले संकटा समान ३ अंक बनाएका छन् । चौध टिम सहभागी लिगमा हिमालयन शेर्पाविरुद्ध एपीएफ र ब्रिगेड ब्वाइजविरुद्ध मनाङ मर्स्याङ्दीको खेलपछि ‘दसैं ब्रेक’ हुनेछ ।


स्टार खेलाडीले भरिएको थ्रीस्टारले आक्रमक खेल पस्कियो । यस क्रममा रन्जन विष्टले पहिलो हाफ र बुद्ध चेम्जोङले दोस्रो हाफमा गोल गरे । युवा र अनुभवी खेलाडीलाई समेटै मैदानमा उत्रिएको फ्रेन्ड्सको लागि सब्स्टिच्युट विकास लामाले अन्तिम समयमा गोल गरे ।


थ्रीस्टारका अफ्रिकी मूलका खेलाडी पिटर सेगुनले चौथो मिनेटमा फ्रेन्ड्सका बंगलादेशी गोलकिपर मोहमद करिमसँग वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो । अर्को मिनेटमै सुनील बलको फ्रि–किकमा रन्जित धिमालको हेडर पनि बाहिरिएको थियो ।


रन्जनको एकल प्रयासमा थ्रीस्टाले १७ औं मिनेटमा अग्रता लिएको थियो । उनले एक्लै अघि बढाउँदै बललाई सिक्स यार्ड बक्सबाट पोष्टको दिशा दिएका थिए । फ्रेन्ड्सले पहिलो आक्रमण २५ औं मिनेटमा गरेको थियो तर त्यसमा कप्तान धिरज श्रेष्ठको हेडर सटिक रहेन । लगत्तै थ्रीस्टारले रन्जितले प्रहार गरेको फ्रि–किकमा बल पोष्टनजिकबाट बाहिरिएको थियो । सरोज योन्जनको फ्रि–किकमा गोलकिपर एलन नउपाने ‘बिट’ भइसकेको अवस्थामा डिफेन्डर विष्णु सुनुवारले बल क्लियर गर्दै थ्रीस्टारको संकट टारेका थिए ।


सुनीलको क्रसमा बुद्धले ६९ औं मिनेटमा गरेको हेडरमा पनि गोल निस्किएन । निरन्तर मिहिनेत गरिरहेका उनी ८३ औं मिनेटमा भने सफल भए । यस अवसरमा उनले पेनाल्टी क्षेत्रनजिकबाट बललाई लोभलाग्दो गोलमा परिणत गर्दै थ्रीस्टारको अग्रता दोब्बर बनाएका थिए ।


प्रिजेन तामाङको स्थानमा ८४ औं मिनेटमा मैदानमा प्रवेश गरेका विकास लामाले १० मिनेटको इन्ज्युरी समयको पहिाले मिनेटमा गोल गरेर अन्तर छोट्याएका थिए । उनले घम्साघम्सीवीचि किरन बोहराको प्रहारमा पाएको बललाई गोल लाइन पार गराएका थिए । तर, अन्त्यतिर दबाब दिएपनि फ्रेन्ड्सलाई खेलमा फर्कन ढिला भइसकेको थियो ।


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले एकपछि अर्को गर्दै निरन्तर अवसर सिर्जना गर्नुलाई सकारात्मक पक्षको रुपमा लिएको बताए । ‘हामीले थुप्रै अवसर सिर्जना गर्‍यौं र त्यो टिमको उज्वल पक्ष हो,’ उनले भने । उनका समकक्षी रमेश महर्जनले प्रतिस्पर्धात्मक खेल भएरपनि अनुभवी खेलाडीको अभावमा पराजित हुनुपरेको बताए । ‘सबै खेलाडी ए डिभिजन लिगमा पहिलोपल्ट सहभागि भएका हुन् । र, सबै खेलाडी २० बर्षमुनिका छन् । उनीहरूले पहिलो खेलमा आत्मविश्वास गुमाउन पुगे,’ उनले भने । दसैं ब्रेकपछि टिममा बिदेशी खेलाडी थप्ने पनि उनले बताए ।


शुक्रबारका खेल

हिमालयन शेर्पाविरुद्ध एपीएफ- ११ बजे

ब्रिगेड ब्वाइजविरुद्ध मनाङ- १५ बजे

प्रकाशित : आश्विन २५, २०७५ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?