कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेट विवाद निकासतर्फ

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघको विवाद निकासतर्फ अगाडि बढेको संकेत देखिएको छ  । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले झन्डै साढे दुई वर्ष निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले सर्वोच्च अदालतको विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रियामा जाने जनाएपछि नेपाली क्रिकेट नयाँ कदमतर्फ अगाडि बढ्न लागेको हो  ।

क्रिकेट विवाद निकासतर्फ

निर्वाचित क्यानका उपाध्यक्ष दिवाकार घलेले शनिबार क्यानको तर्फबाट जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘हामीले यसअघि सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सम्बन्धमा पनि केही चासो व्यक्त भएका छन् । आईसीसीबाट समेत यस सम्बन्धमा चासो व्यक्त भएको हुँदा हामीले यसअघि आईसीसी र अन्य सरोकारवाला व्यक्ति र निकायसँगको छलफलमा गरेको प्रतिवद्धताअनुसार सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई फिर्ता लिने प्रकृया अघि बढाएका छौं ।’

कानुनी र व्यावहारिक प्रकृयाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न निर्वाचित क्यानले कात्तिक १० मा निर्वाचित समितिको बोर्ड बैठक बोलाएको छ । यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवाको प्रक्रिया अझ सहज हुने विश्वास क्यानको छ ।

स्रोतका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार पठाएको इमेलपछि क्यानको नयाँ कदम अगाडि बढेको बताइएको छ । विश्व क्रिकेटको सर्वोच्च निकायले शुक्रबार नेपाली क्रिकेटका सरोकारबालालाई ‘पुराना थाँती रहेको विषय टुंगो नलागेसम्म नेपाली क्रिकेटको अरु प्रक्रिया अगाडि बढ्दैन’ भनी इमेल पठाएको स्रोतको दाबी छ ।

क्यानले सर्वोच्चमा हालेको मुद्दा फिर्ता लिन आनाकानी गरेपछि आईसीसीले जवाफमा शुक्रबार उक्त इमेल पठाएको थियो । चार वर्षअघि चतुरबहादुर चन्दलाई अध्यक्षमा चुन्दै काठमाडौंमा क्यानको साधारणसभा सम्पन्न भएको थियो । तर त्यसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्विकृति दिएको थिएन । जवाफमा राखेपले रमेश सिलवालको अध्यक्षतामा समान्तर क्यानको तदर्थसमिति बनाएको थियो । त्यसविरुद्धमा निर्वाचित क्यानले सर्वोच्च हालेको मुद्दा अहिले विचाराधीन छ ।

वैशाख ६ गते क्यानको निर्वाचित समितिले सल्लाहकार समितिबाट बनाइएको विधान हुबहु पारित गरेको थियो । त्यसपछि नेपाली क्रिकेटको निकास हुने आस लिए पनि मोनिटरिङ कमिटी बन्न समय लगाइएको र त्यसपछि मुद्दा फिर्ता नलिँदा विवाद जस्ताको तस्तै रहन पुग्यो । आईसीसीका तीन, राखेपबाट एलबी क्षेत्री र निर्वाचित क्यानबाट ठाकुरप्रताप थापालाई समेट्दै मोनिटरिङ कमिटी बनाइएको थियो ।

अगस्ट १३ मा मोनिटरिङ कमिटीसहित काठमाडौंमा बसेको आईसीसीको स्वतन्त्र समिति बैठकले राखेपलाई क्यान तदर्थ समितिको अस्तित्व समाप्त पार्न र निर्वाचित क्यानलाई अदालतको मुद्दा फिर्ता लिँदै प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

त्यसमा कुनै प्रतिक्रिया नआएपछि आईसीसीले नेपालमा क्रिकेट विवादका लागि जिम्मा दिएको सिन्हा बर्मा कानुनी परामर्शदातामार्फत सेप्टेम्बर १७ मा दुवै पक्षलाई पुन मुद्दा फिर्ता लिन अर्को पत्र पठाएको थियो । आईसीसीको यसै महिना हुने वार्षिक बैठकमा नेपाली क्रिकेटका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

प्रकाशित : आश्विन २८, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?