कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ महिला च्याम्पियनसिप विराटनगरमा गर्ने तयारी

विनोद भण्डारी

विराटनगर — पुस पहिलो साता नेपालमा हुने तय भएको दक्षीण एसियाली महिला फुटबल प्रतियोगिता विराटनगरमा सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको छ  ।

साफ महिला च्याम्पियनसिप विराटनगरमा गर्ने तयारी

त्यसका लागि महानगर प्रमुख भीम पराजुलीले बुधबार प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारसहित आवश्यक सबै तयारी गर्ने प्रतिवद्धता पत्र एन्फालाई बुझाएका छन् । त्यो पत्र एन्फामा पुगेपछि स्थानको निक्र्योल हुने एन्फाका सहायक महासचिव वसन्त अर्यालले वताए । महानगरको प्रतिवद्धता पत्रमा प्रतियोगिता सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार दुई महिनाभित्रमा तयार गर्ने उल्लेख छ ।

श्रीलंकाले आयोजना नगर्ने जनाएपछि साफ महिला च्याम्पियनसिपको पाँचौं सस्करण नेपालले गर्ने निश्चित भएको हो । भौतिक पूर्वाधारका आधारमा प्रतियोगिता गर्न अहिले काठमाडौंमा सम्भव छैन । अर्यालले भने, ‘विराटनगरको सहिद मैदान उपयुक्त भएकै कारण प्रतियोगिता यहाँ सञ्चालन गर्न एन्फाले तयारी गरेको हो ।’

‘महानगरपालिकाको प्रतिवद्धता पत्र तत्काल एन्फामा पुग्नेछ,’ अर्यालले भने, ‘एन्फाको प्राविधिक टोली आएर अध्ययन गरेपछि स्थानको टुंगो लाग्ने छ । प्रतियोगिता गर्न विराटनगरको विकल्प छैन । काठमाडौंमा सम्भव नभएपछि आवश्यक पूर्वाधार भएको सहिद मैदानबाहेक अरु स्टेडियम नै छैन ।’

गत वर्ष महानगरपालिकाको ८५ लाख र राष्ट्रिय खेलकुद परिषद्को ६५ लाखसहित १ करोड ५० लाख रुपैयाँको लागतमा मैदानमा टर्फिरेटेड पाइप बिछयाएर माटो फिलिङ गरी वरिपरि ड्रेन निर्माण गरेर मैदानलाई तारजालीले घेरिएको थियो । त्यही बजेटले प्यारापिट मर्मत र एउटा ब्लक पनि निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका प्रमुख देवराज कटुवालले बताए ।

सहिद मैदानको निर्माणलगत्तै गत चैतमा फ्लड लाइटको प्रयोग गरेर दिवारात्रि विराट गोल्डकप फुटबल आयोजना गरिएको थियो । मैदानको दर्शक क्षमता ९ हजार ५ सय छ ।

फुटबलका विज्ञ र प्राविधिक टोलीले मैदानको स्थलगत निरीक्षण गरेपछि पाँचौं साफ महिला च्याम्पियनसिप गर्न थप आवश्यक पूर्वाधार तयार गर्ने प्रतिबद्धता एन्फासँग महानगरपालिका प्रमुख पराजुलीले जनाएका छन् ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग विराटनगरमा यो प्रीतयोगिता आयोजना गर्ने विषयमा मौखिक कुराकानी गरेरै महानगर यो विषयमा अगाडि बढेको हो । पराजुलीले भने, ‘महानगरले खेलकुदको विकासलाई विशेष प्राथामिकतामा राखेको छ । त्यसकै कारण साफ महिला च्याम्पियनसिप यहाँ गर्न आवश्यक पूर्वाधार तयारी गर्ने र प्रतियोगिताका लागि सबैखाले सहयोग गर्न महानगर तयार छ ।’

राष्ट्रिय खेलकुद परिषद्को ५० लाख लागतमा अहिले सहिद मैदानमा खेलाडीका लागि एकतले चेन्जिङ रुमको निर्माण भइरहेको छ । त्यसलाई चाँडो निर्माण सम्पन्न गर्न र दोस्रो तला निर्माणका लागि महानगरपालिकाले थप ५० लाख रुपैयाँ उपलब्ध गरिएको पराजुलीले वताए ।

उनका अनुसार चेन्जिङ रुम जाने सडक निर्माण गर्नुपर्नेछ । उनले भने, ‘विराटनगरमा साफ महिला च्याम्पियनसिप गर्न भौतिक पूर्वाधारलगायत आवश्यक सहयोग महानगरले कुनै कसर बाँकी राख्ने छैन ।’

प्रकाशित : कार्तिक ८, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?