कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओझेलमा अमोद

विमल खतिवडा

खोटाङ — गाउँमा राम्रो खेल मैदान छैन । जहाँ खेल मैदान छ, त्यहाँ दिल खोलेर खेल्न पाइँदैन  ।

ओझेलमा अमोद

कारण राम्रोसँग खेल्दा बल वनतिर पुग्छ । बल खोज्नकै लागि एकजना तयारी भएर बस्नुपर्छ ।

यी समस्या झेल्दै भलिबल खेलमा भविष्य खोजिरहेका खोटाङ रावाबेसी गाउँपालिका–३, तिर्पाका अमोद रिजाल कत्ति पनि निराश छैनन् । जहाँ प्रतियोगिता आयोजना हुन्छ, त्यहाँ जाने टिमको नेतृत्व उनैले गर्छन् ।

१६ वर्षे यिनले सहभागिता जनाउने टिम प्रतियोगिताबाट रित्तो हात फर्किनुपरेको छैन । कुनै न कुनै स्थान दिलाउन उनको भूमिका प्रमुख बन्छ । लामिडाँडाको विश्वज्योति माविको कक्षा ११ मा अध्ययनरत उनको भलिबलसँग प्रेम बस्न थालेको ४ वर्ष बढी भयो । ‘सुरुमा भलिबल हेर्न जहाँ खेल हुन्थ्यो, त्यहाँ पुग्थे,’ उनले सुनाए, ‘पछि विस्तारै आफैंले खेल्न थालें, अहिले राम्रोसँग खेल्नसक्ने भएँ ।’ उनको घरबाट मैदान पुग्न झण्डै आधा घण्टा लाग्छ ।

छुट्टीको दिन गाउँकै युवाको टोली बनाएर खेल्ने गर्छन् । तर समस्या बल जुटाउनकै छ । ‘बल नै टिक्दैन,’ उनले भने, ‘कहिले साथीहरू मिलेर पैसा जम्मा गरेर त कहिले सहयोगमार्फत आएको बल खेल्ने गरेका छौं । बल महँगो पर्छ । घरबाट बल किनेर खेल्छु भन्दा पैसा पाइँदैन ।’ उनी आफैंले गाउँका युवा बटुलेर खेल सिकाउँदै आएका छन् । ‘प्राय: रेज खेल्ने गर्छु,’ उनले भने, ‘प्रतियोगितामा आवश्यक पर्दा सबै खेल्न पछि हटदन ।’ घरबाट विद्यालय पुग्न २ घण्टा पैदल हिंड्नुपर्छ । नजिकमा माध्यमिक विद्यालय छैन ।

‘पढेर यही बन्छु भन्ने छैन,’ उनले भने, ‘पढाइसँगै राम्रो भलिबल खेलाडी बन्ने सपना छ ।’ उनले आधा दर्जन बढी पदक र प्रमाणपत्र हात पारिसकेका छन् । ५ फिट ९ इन्च उचाइका अमोदको सपना विभागीय टिममा आबद्ध भएर खेल खेल्ने छ । ‘राम्रो खेले पनि यो विकट गाउँमा कसैले देख्दैन,’ उनले भने, ‘अवसर पाएँ गाउँ र राष्ट्रको नाममा खेल्न सक्ने थिएँ ।’

उनको खेलप्रतिको लगाव देखेर गाउँलेसमेत दंग छन् । ‘अमोद राम्रो सम्भावना बोकेका खेलाडी हुन्,’ भलिबल खेल्न सिकाएका गाउँकै मानकुमार खत्रीले भने, ‘अवसर पाए यिनी राष्ट्रिय खेलाडी बन्ने थिए ।’

प्रतियोगिताहरूमा उनले लामिडाँडा युवा क्लबबाट सहभागिता जनाउने गरेका छन् । ‘खेल भनेपछि हुरुक्क हुन्छ,’ बुवा चूडामणि रिजालले भने, ‘गाउँमा कुनै अवसर छैन, अवसर पाए छोरो राम्रो खेलाडी बन्छ होला भन्ने आस थियो ।’

उनले असारमा राजधानी गएर जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा १५ दिने तालिम लिए । ‘सहरमा अवसर नपाउँदा गाउँमै बस्न बाध्य छु,’ उनले भने, ‘कुनै क्लबले सहयोग गरे सहर बसेर खेल्ने थिएँ ।’

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?