कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगर र चितवनको पहिलो जित

‘किशोरको त्यो अन्तिम ओभर हेर्दा निकै आनन्द आयो । जसरी उसले ३ खेलमा योगदान दिइरहेको छ ।’
विनोद पाण्डे

पोखरा — विराटनगर र दाबेदार मानिएको चितवन राइनोजले बुधबार नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा पहिलो जित हात पारेका छन् । पहिलो दुई खेल हारेको चितवनले एक्सपर्ट धनगढी ब्लुजलाई १ सय २६ रनले हरायो ।

विराटनगर र चितवनको पहिलो जित

चौथो खेलमा आएर पहिलो जित हात पार्नेक्रममा विराटनगरले शीर्षस्थानको बुटवल ब्लास्टर्समाथि १२ रनको सफलता पायो । बुटवलको जितले अंकतालिका समीकरणमा खासै परिवर्तन नल्याए पनि राउन्ड रोबिनको खेलपििछ यसले तल–माथि बनाउने सम्भावना बलियो छ ।

बुटवल र पोखरा पल्टन पहिलो ३ खेलमा अंकका ४ अंकसाथ तालिकाको पहिलो दुई स्थानमा छन् । पहिलो दुवै खेल जितको हुलास काठमाडौं रोयल्सको ४ अंक नै भए पनि टोली रनरेटका आधारमा तेस्रो स्थानमा छ । ३ खेलमा १–१ जित पाएका चितवन, धनगढी तथा ४ खेलमा एक जित पाएको बुटवल क्रमश: चौथोदेखि छैटौं स्थानमा छन् ।

किशोरद्वारा अन्तिम ओभर मेडन
प्रतियोगितामा पहिलो पटक लक्ष्य पछयाइरहेको बुटवललाई अन्तिम ओभरमा १२ रन आवश्यक थियो । किशोर महतोको बल सामना गर्न शम्साद शेख र सिद्धान्त लोहनी थिए । शम्सादले अफ स्टम्पबाहिरको पहिलो बलमा रन लिन सकेनन् । दोस्रो बलमा छुन नसकेपछि सिद्धान्त स्ट्राइक राख्ने प्रयासमा विकेटकिपर इन्डतर्फ बढ्दा रनआउट हुनपुग्यो । त्यसपछिको ४ बलमा किशोरले नयाँ ब्याट्सम्यान विपिन खत्रीलाई कुनै रन बनाउन नदिई मेडन ओभर फाले ।

१ सय ४० रनको लक्ष्य पछयाउनेक्रममा बुटवलले ८ विकेट गुमाई १ सय २८ रनमात्र बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले पाकिस्तानी खेलाडी मोहम्मद जायेदको ७२ रनमा १४०/७ को स्कोर बनाएको थियो ।

किशोरले ४ ओभरमा १ मेडन राख्दै १२ रनमात्र खर्चेर २ विकेट लिँदै लोभलाग्दो बलिङ गरे । उनले अन्तिम ओभर बलिङ गर्नु अगाडि आफू दबाबमा रहेको बताए । विराटनगरको पहिलो खेलमा नखेलाइएका उनले त्यसयता कसिलो बलिङ गर्दै ३ खेलमा ४ विकेट लिएका छन् । आफूलाई टिमले राम्रो साथ दिएका कारण यो प्रदर्शन दिन सम्भव भएको किशोर बताउँछन् ।

खेल अन्तिम ओभरमा आइपुग्दा बुटवलको निरन्तर जितको आस सिद्धान्तमा थियो । उनले १८ औं ओभरमा शाहब आलम र १९ औं ओभरमा कप्तान सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरी बुटवललाई जित नजिक पुर्‍याउने प्रयास गरेका थिए । बुटवलका कप्तान सोमपाल कामी सिद्धान्तले स्ट्राइक कम पाउँदा हार्नुपरेको बताउँछन् ।

पीपीएल हेर्दै समर्थक

हारमा खुसी सोमपाल
विराटनगरले ब्याटिङका क्रममा सुरुमै क्याच छाड्दा लय गुमाउन पुगेको बताउँदै सोमपाल भन्छन्, ‘विराटनगरले जुन स्कोर बनायो त्यो हामीले सोचेका थिएनौं । १ सय ४० रन यो विकेटमा राम्रो लक्ष्य हो, विकेट स्लो पनि थियो । उनीहरूका स्पिनर सन्दीप, सुनील र शाहबले राम्रो बलिङ गरे । त्यो अनुसार विराटनगर जितको हकदार थियो । सिद्धान्तले स्ट्राइक अलिक पाएको भए म आज विजयी कप्तानको रूपमा तपाईहरूको अगाडि हुन्थे ।’

सोमपाल आफ्नो टोलीको हारमा खुसी देखिन्थे । ‘हामीले हार्न निकै जरुरी भएको थियो । निरन्तर जित्दा बढी आत्मविश्वासी होइन्छ र टिमको सन्तुलन मिल्दैन,’ सोमपालले भने, ‘अब पुनरागमन गर्दा रमाइलो हुन्छ ।’

रन लिँदै विराटनगरका मोहमद जायेद र प्रदीप ऐरी ।

भीमको अर्धशतक
रनरेटमा अंकुश लगाइरहे पनि १५ औं ओभरमा सन्दीपले शंकर राना र प्रकाश केसीलाई ३ बलको अन्तरमा आउट गरेपछि विजयतर्फ धकेलिएको थियो । १८ औं ओभरको पहिलो बलमा अर्धशतक बनाइसकेका भीम सार्की रनआउट भए भने शाहबले सोमपाललाई आउट गरी विराटनगरलाई खेलमा हाबी गराए ।

भीम र शंकरले चौथो विकेटमा ३१ बलमा ५१ रन जोडे । भीमले ४२ बल खेली ४ चौका र १ छक्का प्रहार गरी ५० रन बनाए । सन्दीपको बलमा बोल्ड भएका शंकरले १६ बलमा २३ रन जोडे । किशोरले आफ्नो पहिलो दुई ओभरमा यूएईका जोडेर चिराग सुरीलाई शून्य र रोहन मुस्ताफालाई १ रनमा आउट गरी राम्रो सुरुआत दिलाए । ओपनर सागर पुनले ३३ बलमा २९ रन बनाई सुनीलको बलमा प्वाइन्टमा राजेश पुलामीले उत्कृष्ट क्याच लिए ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा विराटनगरको पनि सुरुआत राम्रो थिएन । सुनील शून्य र जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भए । जायेद र प्रदीप ऐरीले ६४ रनको साझेदारी गरी विराटनगरको इनिङ्स अगाडि बढाए । मोहमद जायेदले ४५ बलमा ७२ रन बनाउँदा ६ चौका र ५ छक्का प्रहार गरे । प्रदीपले ४३ बलमा ४१ रन बनाए । उनले ३ चौका प्रहार गरे । राजेश १, राजु रिजाल ८, सन्दीप १ रनमा आउट भए । ललितसिंह भण्डारीले १६ रन खर्चेर २ विकेट लिए । तर अन्तिम ओभरमा आफ्नै बलिङमा फिल्डङ गर्नेक्रममा उनी लड्न पुगेका थिए । सोमपालका अनुसार उनको खुट्टा सुन्निएकाले उनले खेल्ने सम्भावना कम हुन पनि सक्छ । ललित घाइते भएपछि सोमपालले नै अन्तिम ३ बल बलिङ गरेका थिए । विपिन, शम्साद र सागरले १–१ विकेट लिए ।

‘एउटा बलर कम लिएर खेल पनि सानो स्कोरमा हामीले उत्कृष्ट प्रदर्शन गर्न सक्यौं, सुरुदेखि नै हामीले यो खोजिरहेको थियौं । सबैको उत्तिकै भूमिका छ, जति हामीलाई चाहिएको छ,’ विराटनगरका कप्तान सन्दीपले भने, ‘किशोरको त्यो अन्तिम ओभर हेर्दा निकै आनन्द आएको थियो । जसरी उसले ३ खेलमा योगदान दिइरहेको छ, त्यसैमा उनले आफूलाई प्रमाणित गरिरहेका छन् ।’

विकेट लिएपछि चितवन राइनोजका खेलाडी

चितवनको आस
चितवनले जितको खाता खोल्दा प्रतियोगिताकै दोस्रो उच्च स्कोर बनायो । टस हारेर ब्याटिङ रोजेको चितवनले ६ विकेट गुमाई १ सय ९३ रन बनाएको हो । स्थानीय टोली पोखरा पल्टनले पहिलो दिनको खेलमा विराटनगर टाइटन्ससँग १ सय ९७ रन बनाएको थियो । जवाफमा आएको धनगढी १६.२ ओभरमा ६७ रनमा अलआउट भयो । सन्नी पटेलले ३.२ ओभरमा ८ रनमात्र खर्चेर ४ विकेट लिए । समित पटेल र भुवन कार्कीले २–२ तथा करण केसी र शक्ति गौचनले १–१ विकेट लिए ।

धनगढीबाट पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । धनगढीका ओपनरद्वय दिलीप नाथ र डानियल लावरेन्स खाता नखोली आउट भएका थिए । त्यसपछि पनि धनगढीको विकेट पतन रोकिएन । सन्दीप सुनार र कप्तान दीपेन्द्रसिंह ऐरी १–१ तथा सन्दीप जोरा र सौरभ खनाल ८–८ रनमा आउट भए ।

यसअघि चितवनबाट हरिशंकर साहले ३३ बलमा ५३ रन बनाएका थिए । पोखरा रंगशालाको क्रिकेट मैदानमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । चितवनका कप्तान पारस खड्काले अघिल्लो खेलमा पावर प्लेमा ब्याटिङ गर्न नसक्नु आफ्नो टोलीको कमजोरी रहेको बताएका थिए । चितवनले बुधबार पावर प्लेमा ५८ रन जोड्दै उत्कृष्ट सुरुआत गर्‍यो । हरि शंकरले अनिलकुमार साहसँग पहिलो विकेटमा ११.३ ओभरमा १ सय १० रन जोडे । अनिलले ३४ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३७ रन बनाए ।

कप्तान पारस खड्का ९ बलमा १९ र समिट पटेल १७ बलमा २४ रन बनाई आउट भए । आरिफ शेख फेरि पनि खाता खोल्न चुके । सन्नी पटेल १६ बलमा २६ र करण केसी ६ बलमा ११ रन बनाई नटआउट रहे । धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीसहित पिटर ट्रेगो डानियल लावरेन्स, योगेन्द्र कार्कीले १–१ विकेट लिए ।

प्रकाशित : कार्तिक १५, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?