कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लयमा चितवन राइनोज

विनोद पाण्डे

पोखरा — हरिशंकर साहको अर्धशतकप्रेरित चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेटमा बिहीबार हुलास काठमाडौं रोयल्समाथि १३ रनको जित हात पारेको छ  । लगातार दोस्रो जितपछि चितवन शीर्ष तीनतर्फ अग्रसर भएको छ  ।

लयमा चितवन राइनोज

ओपनर हरिशंकरले ६० रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४९ रन बनायो । पोखरा रंगशालाको क्रिकेट मैदानमा जवाफी ब्याटिङमा काठमाडौंले ९ विकेट गुमाई १ सय ३६ रनमात्र बनाउन सक्यो । पहिलो दुई खेल जितेको काठमाडौंको यो पहिलो हार हो ।


दाबेदार मानिएको चितवनले पहिलो दुई खेल हारे पनि त्यसपछि लगातार दुई खेल जित्दै राउन्ड रोबिनबाट माथि उठ्ने सम्भावना देखाएको हो । चितवनले समूह चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सको सामना गर्नेछ ।


‘हामीले २५ रन जति कम बनायौं जस्तो लाग्छ । तर हामीले राम्रो खेल्दै त्यो स्कोर जोगाउन सक्यौं । महत्त्वपूर्ण क्षणमा हामीले विकेट लिन सक्यौं,’ चितवनका कप्तान पारस खड्काले भने, ‘जसरी भए पनि जित चाहेका थियौं त्यो हामीले पायौं । पहिलो दुई खेल हारेपछि हामीलाई प्रत्येक खेल फाइनलजस्तै छ ।’


काठमाडौंसँगको जितले अर्को चरणमा पुग्ने चितवनको सम्भावना आफ्नो हातमा आएको कप्तान पारस आंशिक रूपमा मात्र स्विकार्छन् । ‘तर हामीले अझ राम्रो क्रिकेट खेल्नैपर्छ । नतिजाहरूले पनि सबै राम्रो टिम उत्तिकै राम्रो रहेको देखाएको छ । कन्डिसन हेर्ने हो भने पनि निश्चित दिनमा त्यो टिमले कन्डिसनमा भिज्न सकेको छ त्यही टिमले जितेको छ,’ उनले भने ।


चितवन खेलको सुरुमै भाग्यमानी रहयो । हरिशंकर १५ रनमा रहँदा नन्दन यादवको बलमा अमरसिंह राउटेलाले मिडअफमा क्याच छाड्न पुगे । देव्रेहाते ब्याट्सम्यान हरिशंकरले त्यसको पूरा फाइदा उठाउँदै ४९ बलमा ६० रन बनाए । उनको यो लगातार दोस्रो अर्धशतक हो । उनले ५ चौका र ३ छक्का प्रहार गरे । हरिशंकर र अनिलकुमार साहले अर्को खेलमा उत्कृष्ट सुरुआत दिलाउने क्रममा ५४ रन जोडे । आठौं ओभरमा अनिल २७ बलमा २७ रन बनाई वसन्त रेग्मीको बलमा एलबीडब्लू आउट भएपछि यो साझेदारी टुटेको थियो ।


म्यान अफ द म्याच चुनिएका हरिशंकरले आफूले पहिलो खेल खेलमा जस्तै ब्याटिङ गरिरहेको र अतिरिक्त केही नगरेको बताउँछन् । ‘मलाई नयाँ बलसँग खेल्न एकदमै मनपर्छ । नयाँ बल मजाले ब्याटमा आउँछ । बीचमा ब्याटिङ गर्दा त्यस्तो फ्लो हुँदैन जुन ओपनिङमा गर्दा हुन्छ,’ हरिशंकरले टिमले दिएको नम्बरमै ब्याटिङ गरेको बताउँछन् ।


पारस १४ बलमा १४ रन बनाई नन्दनको बलमा बोल्ड भए । स्मृत पटेलले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ३१ र सन्नी पटेलले ७ बलमा १३ रन बनाई चितवनलाई चुनौतीपूर्ण स्कोरमा उभ्याए । काठमाडौंका वसन्तले २ तथा पवन सर्राफ र नन्दनले १–१ विकेट लिए ।


यसअघि काठमाडौंले अन्तिम ६ ओभरमा विजयनिम्ति ४८ रन बनाउनुपर्ने चुनौती पूरा गर्न सकेन । टोलीले उल्टो ६ विकेट गुमाउन पुग्यो । १५ औं ओभरको पहिलो बलमा पारसले गौरव तोमारलाई आउट गरी चितवनलाई खेलमा फर्काएका थिए । अघिल्लो दुवै खेलमा अर्धशतक बनाएका तोमारले काठमाडौंबाट सर्वाधिक ३९ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे ।


उनीभन्दा अघि अमित श्रेष्ठ १, जयकृष्णन कोल्शाबाला १८ र पवन सर्राफ २८ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २२ बलमा ३० रन बनाएपछि काठमाडौं विजय नजिक देखिएको थियो । ज्ञानेन्द्रले ३ चौका र १ छक्का प्रहार गरे । तर नरेश बुढाएर २, पृथु बाँस्कोटा ४, नन्दन र अमर ७ रनमा आउट भए । वसन्त रेग्मी ३ रनमा अविजित रहे ।


चितवनका करण केसीले ४ ओभरमा ३४ रन खर्चेर ३ र पारसले २३ रन खर्चेर २ विकेट लिए । सन्नी, स्मृत र भुवनले १–१ विकेट लिए । ‘खेल हाम्रै हातमा थियो, तर हामीले दुई महत्त्वपूर्ण विकेट गुमाउन पुग्यौं र फिनिसिङ पनि राम्रो गर्न सकेनौं,’ बुटवलका कप्तान ज्ञानेन्द्रले तोमार र आफ्नो विकेट गुमाउनुको पीडा पोख्दै भने, ‘तोमार र म जमिसकेको अवस्थामा आउट भयौं । हामी खेल जित्नेक्रममै थियौं तर विकेटहरू गुमाउन पुग्यौं । फिल्डिङमा पनि हामीले निकै गल्ती गर्‍यौं ।’


बुटवलको लगातार हार
एक्सपर्ट धनगढी ब्लुजले बिहीबार दिनको दोस्रो खेलमा बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । बुटवल अघिल्लो दिन विराटनगर टाइटन्ससँग १२ रनले हारेको थियो ।


टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ४ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरी र डानियल लरेन्सले अर्धशतक बनाए । कप्तान दीपेन्द्रले ३९ बल खेल्दै अविजित ५६ रन बनाए । लरेन्सले पनि ३९ बलमै ५२ रन जोडेका थिए । लरेन्सले ७ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्रले चार चौका र २ छक्का प्रहार गरेका थिए । सौरभ खनालले ४ बलमा नटआउट १३ रन बनाए । ओपनरद्वय दिलीप नाथ र सुवेन्दु पाण्डेले समान १० रन बनाएका थिए । पिटर ट्रेगोले ८ बलमा १४ बनाए । बुटवलबाट विपिन खत्रीले २, रोहन मुस्ताफा र अविनाश बोहराले १–१ विकेट लिए ।


प्रत्युत्तरमा बुटवल ब्लास्टर्सले ६ विकेट गुमाई १ सय ४१ रनमात्र बनाउन सक्यो । यूएईका चिराग सुरीले ५४ बलमा ७९ रन बनाए पनि बुटवललाई जित पाउन त्यो पर्याप्त भएन । आक्रामक ब्याटिङ गरेका उनले १२ चौका र एक छक्का हाने । यूएईकै रोहन मुस्ताफाले २० रन बनाए ।


सागर पुन १, भीम सार्की ५, शंकर राना शून्यमै आउट भएको अवस्थामा सिद्धान्त लोहनी र कप्तान सोमपाल कामीले समान १२ रन बनाएका थिए । धनगढीका सागर ढकालले ४ ओभरमा २३ रन खर्चेर २, डानियल लरेन्स र कमलसिंह ऐरीले १–१ विकेट लिए । बिहीबारको नतिजापछि सहभागी ६ टोलीमध्ये ५ को समान ४ अंक भएको छ । विराटनगर भने २ अंकका साथ पुछारमा छ ।

प्रकाशित : कार्तिक १६, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?